कोशी प्रदेश ट्रफी क्रिकेट प्रतियोगिता
विराटनगर । कप्तान देव खनालको सतकको मद्दतमा लुम्बिनी प्रदेशले विराटनगरको बैजनाथपुर रंगशालामा जारी कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । समुह चरणको शनिबारको खेलमा लुम्बिनीले बागमतीलाई १६ बल बाँकी हुँदै सात विकेटले पराजित गरेको हो ।
लुम्बिनीका लागि कप्तान खनालले । ५१ बलको सामना गर्ने क्रममा ७ छक्का र ७ चौका हानेका थिए । उनले नटआउट १०० रन बनाएका हुन् । खनालको सतक जारी प्रतियोगिताकै पहिलो हो । लुम्बिनीका लागि विशाल विक्रम केसीले पनि नटआउट २७ रन बनाए ।
टस जितेर ब्याटिङ रोजेको वागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १५३ रनको योगफल तयार पारेको थियो । वागमतीका कप्तान रित गौतमले ३३ बलमा १ छक्का र ४ चौका प्रहार गरि सर्वाधिक ४३ रन बनाए । त्यस्तै आशुतोष घिरैयाले २८, उत्तम मगरले २५ र इसान पाण्डेले २१ रनको योगदान गरेका थिए । लुम्बिनीका चाहुल चैहानले ३ विकेट लिंदा कृष्ण कार्कीले २ विकेट खर्चिए ।
१५४ रनको लक्ष्यमा खेलेको लुम्बिनीले १७ दशमलव २ बलमा ३ विकेट गुमाउँदै आफ्नो टोलीका लागि तेस्रो जित दर्ता गराएको हो । प्रतियोगितामा समुह ‘बी’ को शिर्ष बनेर ६ अंक बटुलेको लुम्बिनी अब सेमिफाइनल नजिक पुगेको छ । लुबिनीले यस अघि गण्डकी र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो ।
वागमतीका विपिन आचार्य, गौतम केसी र कृजन गुरुङले १–१ विकेट लिएका थिए ।
शनिबार नै भएको समुह चरणको पहिलो खेलमा भने कर्णाली प्रदेशले विभागिय टोली एपिएफ क्लवलाई ५१ रनले पराजित गरेको थियो । समुह ‘ए’ मा रहेको कर्णालीले आफ्नो ४ खेल खेलिसक्दा २ वटामा जित र २ वटा मा पराजित भएर ४ अंक बटुलेको छ । कर्णाली शनिबारको जितसँग समुहको शिर्ष स्थानमा पुगेको छ ।
टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६५ रनको स्कोर खडा गरेको थियो । कर्णालीका लागि प्लेयर अफ द म्याच घोषित अर्जुन घर्तीले ३४ बलमा २ छक्का र २ चौका प्रहार गरि नटआउट ५५ रन बनाएका थिए ।
विपिन रावलले ३६ बलमा ३ छक्का र २ चौका प्रहार गरी ४२ रन जोडे । त्यस्तै रविन्द्र शाहीले ३५ रनको योगदान दिए ।
एपिएफका रमेश कुर्मी, चन्दन राम, भुवन कार्की, अमर रौटेला र इर्साद अहमदले समान १–१ विकेट लिए ।
पुरै ओभर खेलेको एपीएफले १६६ रनको लक्ष्य भेट्न सकेन । उसले ६ विकेटको क्षतिमा ११४ रन मात्रै बनाएको हो ।
एपिएफका लागि अमर रौटेलाले ३७ बलमा १ छक्का र २ चौका प्रहार गरी सर्वाधिक ३७ रन जोडे । हिमांसु दत्तले २५ र पुरन विकले १८ रनको योगदान दिए । कर्णालीका दिपेन्द्र रावत र रविन्द्र साहले समान २–२ विकेट लिए । प्रकाश जैसीले पनि १ विकेट लिए ।
मोरङ जिल्ला क्रिकेट संघको आयोजनामा सुरु भएको पहिलो ट्रफी जित्ने प्रतिष्पर्धामा आइतबार गण्डकी र नेपाल पुलिस तथा आर्मी र मधेश भिड्ने जनाइएको छ ।
View : 240
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved