विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) कोशी प्रदेश समितिले भदौ २७ देखि ३० गतेसम्म मोरङको कटहरीस्थित कृषि थोक बजारमा हुने कृषि एक्स्पो २०८१ मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो गरेको छ ।
महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर एक्स्पोको उद्घाटनका लागि प्रमुख अतिथिको निम्तो बुझाएका छन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसमेतको उपस्थितिमा राउतले प्रधानमन्त्री ओलीलाई निम्तो गरेका हुन् ।
एक्स्पोलाई सफल पार्न महासंघले कोशी प्रदेशका १४ वटै जिल्लामा प्रचार प्रचारलाई तिब्र पारेको छ । विभिन्न ठाउँमा फ्लेक्स बोर्ड, डिस्प्ले बोर्ड राख्नुका साथै सम्बन्धित जिल्लाका जिल्ला र नगर उद्योग वाणिज्य संघहरु मार्फत प्रचार प्रसार गर्दै आएको जनाइएको छ ।
नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र कटहरी गाउँपालिकासँगको सहकार्यमा आयोजना हुन लागेको कृषि एक्स्पोमा कृषि क्षेत्रका नवीनतम् प्रविधि, कृषि उत्पादन, पशुपन्छीका दाना, भेटनरी लगायतका वस्तुहरूको समेत प्रदर्शनी हुने जनाइएको छ ।
साथै कृषि विज्ञहरूको सहभागितामा प्यानल छलफल, विटुवी छलफल लगायतका कार्यक्रम आयोजना हुने महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए ।
एक्स्पोमा भारतको विहार राज्यबाट समेत कृषि विज्ञहरूको सहभागिता रहने छ । साथै कृषि क्षेत्रका सवालबारे छलफल र परामर्श गर्ने जनाइएको छ ।
एक्स्पोले कृषक र कृषि व्यवसायीको मिलन हुने र कृषकले उत्पादन गरेका वस्तुहरूको प्रवर्द्धन गर्दै औद्योगिकरणतर्फ प्रोत्साहनका कार्यक्रम गरिने जनाइएको छ ।
View : 153
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved