सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसले जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।
क्याम्पसले शुक्रबार एक कार्यक्रम गरी गरिव, जेहेन्दार तथा वार्षिक परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको हो ।
कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. कल्याणी मिश्र त्रिपाठीले क्याम्पसले यति धेरै स्रोत जुटाएर विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको र गुणस्तर कायम गर्न सफल भएकोमा क्याम्पस परिवारको प्रशंसा गरिन् ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग नेपालबाट ७४ जनाले ११ लाख, रुक्माङ्गत कटवाल ट्रष्ट नेपालबाट दुई जना विद्यार्थीले ६० हजार दुई सय, नागरिक स्वावलम्वन विकास (सिड) नेपालबाट ३१ जनाले १ लाख ५५ हजार, छात्रवृत्ति अक्षयकोषको व्याजबाट ४२ जनाले २ लाख ९० हजार तथा विभिन्न दाता संघ संस्थाहरूबाट ४८ जनाले २ लाख ७० हजार शिक्षकहरूबाट तीन जनाले २० हजार साथै क्याम्पस कोषबाट ४३ जनाले ९ लाख २८ हजार गरी २४३ जना विद्यार्थीहरूलाई जम्मा २८ लाख ३३ हजार २ सय रकम छात्रवृत्तिस्वरुप वितरण गरिएको सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए ।
कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत गर्दै क्याम्पसले गरेका कामहरूको संक्षिप्त जानकारी दिएका थिए ।
कार्यक्रममा स्ववियुका अध्यक्ष एलिस ओझा, सल्लाहकार एवम् दाता गोपालबहादुर थापा, नागरिक स्वावलम्बन विकास (सिड) नेपालका अध्यक्ष डा. अर्जुनमणि गुरागाईं र क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले सम्बोधन गर्दै आगामी दिनहरूमा छात्रवृत्ति कोषको बडोत्तरी गर्दै छात्रवृत्ति वितरणलाई बढावा दिने विषयमा जोड दिएका थिए ।
कार्यक्रममा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरू, छात्रवृत्ति दाताहरू, अक्षयकोष दाताहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, क्याम्पस सञ्चालक समितिका सदस्यहरू, क्याम्पसका सल्लाहकारहरू, शिक्षक तथा कर्मचारीहरू र स्ववियु प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता छात्रवृत्ति व्यवस्थापन समितिका अध्यक्ष एवम् क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष ललितबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
View : 116
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved