Biratnagar, Morang, Nepal
२७ पुष २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

बर्जुमा अग्निपीडितलाई विराट व्यापार संघको राहत

उद्‌घोष सम्वाददाता
६ चैत २०८०, मङ्गलवार

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–४ जयनगर मुस्लिम टोलमा भएको आगलागीबाट विस्थापित भएका १६ घर परिवारलाई मंगलबार राहत सामग्री वितरण गरिएको छ । विराट व्यापार संघको नेतृत्वमा आगलागी भएको स्थलमा पुगेको टोलीले चामल, त्रिपाल, झुल, नुन तेल, चिउरा भुजिया, चाउचाउ लगायतका खाद्य सामग्री हस्तान्तरण गरेको हो ।

संघका पदाधिकारी र सदस्यहरुबाट संकलन गरिएको रकमबाट ती सामग्री खरिद गरी प्रभावित प्रत्येक परिवारलाई राहत सामग्री उपलब्ध गराइएको संघकी महिला उपाध्यक्ष सरस्वती ओझाले जानकारी दिइन् ।

उनीहरूलाई सरसफाइको उचित प्रबन्धका लागि ट्वाइलेट प्यान र बाल्टिन समेत हस्तान्तरण गरिएको युवा समितिका सदस्य अभिषेक गौतमले जानकारी दिए । 

गत आइतबार स्थानीय विसुनदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिँदा मुस्लिम टोलका अधिकांश घर पूर्ण रुपमा जलेका हुन् । आगलागी प्रभावित स्थानीयलाई बर्जु–४ का वडाध्यक्ष विनोद बहादुर गुरुङको रोहबरमा राहत सामग्री हस्तान्तरण गरिएको जनाइएको छ । 

आगलागीमा मानवीय क्षति नभएपनि पशुचौपाया भने जलेर मरेका थिए । आगलागी हुँदा हावा चलेका कारण कसैले पनि घरभित्रबाट धनमाल र खाद्यान्न निकाल्न नपाएको जनाइएको छ ।

आगलागी पीडितहरूलाई तत्कालका लागि बासको बन्दोबस्त गर्न संघका पदाधिकारीहरूले १६ थान त्रिपाल पनि हस्तान्तरण गरेको महिला उपाध्यक्ष ओझाले बताइन् । 

राहत वितरण कार्यक्रममा संघका अध्यक्ष अंशु बन्जरा, बरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल लगायतका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

View : 366

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved