विराटनगर । समावेशी महिला सञ्जाल ‘संकल्प’ कोशी प्रदेशको अध्यक्षमा नागरिक आवाजकी शोभा दाहाल निर्विरोध निर्वाचित भएकी छन् ।
बिहीबार विराटनगरमा सम्पन्न प्रदेशस्तरीय अभिमुखीकरण तथा पुनर्गठन कार्यक्रमबाट दाहाल नेतृत्वमा ९ सदस्यीय समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा क्रियाशील पत्रकार महिला (डब्लूडब्लूजे) कोशी प्रदेश अध्यक्ष गंगा बराल, सचिवमा फातिमाकी नजबुल खान र कोषाध्यक्षमा मीना राई चयन भएका छन् ।
सदस्यमा विविशा राई, राखी कर्ण, सुशीला विक, शान्ता तामाङ र सविता बुढाथोकी छन् ।
१४ जिल्ला रहेको कोशी प्रदेशका अन्य जिल्लामा ‘फोकल पर्सन’ राखिने जानकारी संकल्पकी केन्द्रीय अध्यक्ष संगीता लामाले दिइन् ।
संकल्पकी संस्थापक अध्यक्ष तथा राष्ट्रिय महिला आयोगकी सदस्य लिली थापाले महिलाका साझा मुद्दामा एकजुट भएर काम गर्नुपर्नेमा जोड दिइन् ।
उनले नेतृत्व तहमा महिलाको पहुंच बढाउन नीतिगत सुधार आवश्यक रहेको बताउँदै प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने भनिए पनि फरक पार्टीको भएको कारण सहभागिता घटेको छ, भनिन्, निर्वाचन खर्चको निगरानी, इलेक्ट्रोनिक भोटिङ र महिलाबीच प्रतिस्पर्धा हुनुपर्छ ।
अध्यक्ष संगिता लामाले मुस्लिम, जनजाति, दलितलगायत महिलाले नेतृत्व गरेका संस्थाबीच एकअर्काको मुद्दालाई सम्मान गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।
प्रदेशसभा सदस्य शोभा चेम्जोङ र लखिकुमारी गणेशले महिलालाई सोचेजस्तो काम गर्न नदिने प्रवृत्तिको गुनासो गर्दै अवसरको अभावमा धेरै महिला पछाडि परेको टिप्पणी गरेका थिए ।
View : 452
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved