विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले मुलुकभित्रका विभिन्न जातजाति, भाषाभाषी र भूगोलका समुदायबीच एकता र समझदारीको भावनालाई सबल बनाउँदै बृहत राष्ट्रिय एकतालाई सुदृढ बनाउने बताएकी छन् ।
बिहीबार विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित १३औं अन्तर्राष्ट्रिय जितिया पर्व समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति भण्डारीले भौगोलिक, सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले समुदायका बीचमा विश्वास, सहयोग र सद्भावको भावनालाई प्रगाढ बनाउने पनि बनाइन् ।
‘मुलुकभित्र रहेका विभिन्न जातजाति, भाषाभाषी र भूगोलका समुदायका बीच समझदारी र एकताको भावनालाई सबल बनाइ बृहत राष्ट्रिय एकतलाई जितिया पर्वले सुदृढ बनाउने अपेक्षा लिएको छु’ उनले भनिन्, ‘समृद्ध मिथिला सभ्यता र मैथिली भाषा संस्कृति, लोक कला र परम्परालाई अक्षुण्ण र पवित्र राख्ने उद्देश्यले अप्पन विराटगढ परोपकार समाजले गरेको कार्य प्रसंशनीय रहेको छ ।’
पूर्व राष्ट्रपति भण्डारीले जानकी सभ्यताका कारण मिथिला भूमि प्राचीन भूमिका रूपमा रहेको बताइन् । साथै मैथिली समुदायको कला संस्कृति संरक्षणका लागि विद्यापतिको योगदान महत्वपूर्ण भएको बताइन् ।
उनले जनक नन्दनी सीताको जन्मस्थल रहेको यो क्षेत्रमा आजसम्म पनि जातीय भेदभाव, महिला उत्पीडन, अन्धविश्वास, अशिक्षा र गरिवीको समस्या हुनु हाम्रो लागि चुनौतिको बिषय भएको बताइन् । पूर्व राष्ट्रपति भण्डारीले अझैपनि बाल बिवाह, अनमेल बिवाह, दाइजो र बोक्सी जस्ता कुप्रथा कायम हुनु निकै दुखद् बिषय भएको भन्दै यसलाई हटाउन प्रयास जारी राख्नुपर्ने सुझाव दिइन् ।
सोही अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वी झापादेखि मुलुकको मध्य खण्डसम्म मनाइँदै आएको जितिया पर्वको महिमा ठूलो रहेको बताए ।
जितिया पर्वमा मिथिला क्षेत्रका आमा दिदीबहिनीहरूले आफ्ना छोराछोरी र परिवारका सदस्यहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उपबास बस्ने प्रचलन रहेको छ ।
अप्पन विराटगढ परोकार समाजकी अध्यक्ष बसुन्धरा झाको अध्यक्षतामा आयोजित ऊक्त कार्यत्रमको अवसरमा नेपाल र भारतका ख्यातीप्राप्त मैथिली कलाकर्मीहरूले गीत संगीत र झाँकीहरू प्रदर्शन गरेका थिए । सोही अवसरमा मैथिली समुदायका अगुवाहरूलाई समेत सम्मानित गरिएको थियो ।
View : 101
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved