Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सहकारी चलाउन घर बन्धकी

उद्‌घोष संवाददाता
१ माघ २०८२, बिहिवार

विराटनगर । सर्वसाधरणले बचत गरेको रकम हिनामिना गरी कर्मचारी जेल परेपछि एक सञ्चालकले जायजेथा बन्धकी राख्दै बचत फिर्ता गर्न थालेका छन् ।

संस्थालाई चलायमान र बचतकर्ताको विश्वास टुट्न नदिन मोरङ कटहरी–२ स्थित नव आदर्श सहकारीका सञ्चालकले घर बन्धकीदेखि गरगहनासम्म बिक्री गरेका छन् । 

उक्त सहकारीका व्यवस्थापक उमेशकुमार मण्डल एक करोड १५ लाख ८७ हजार रुपैयाँ हिनामिना गरेको आरोपमा जेलमा छन् ।

मण्डलले स्थानीय बचतकर्ताको रकम अपचलन गरेपछि संस्थाका सचिव राजन श्रेष्ठले घर बन्धकी राखेर ऋण निकाल्दै बचतकर्ताको रकम फिर्ता गरिरहेका छन् । 

साना बचतकर्ताको रकम फिर्ता गर्न सहकारीलाई दैनिक संकलनकै रकमबाट पुगे पनि एक लाख रुपैयाँ बढी बचत गरेकाहरूलाई चित्त बुझाउन उनले सकेका छैनन् । 

सहकारीका ब्यवस्थापक नै जेल परेपछि कतिपय ऋणीले रकम फिर्ता नगर्दा बचतकर्ता प्रभावित भए । वार्षिक ३ करोड रुपैयाँसम्मको बचत तथा ऋणको कारोबार गर्दै आएको सहकारी यति बेला घाटामा सञ्चालनमा रहे पनि अन्यत्र जस्तो सञ्चालक भागेको अवस्था भने छैन । 

‘बचतकर्ताको रकम फिर्ता गरेर मात्रै बरु मरौंला, तर सहकारी बन्द हुन दिदैनौं’ सञ्चालकहरूले बुधबारको साधारणसभामा भने ।

सहकारीको २१ औं साधारणसभामा सचिव श्रेष्ठले कर्मचारी जेल परेपछि बचतकर्ताको रकम फिर्ता गर्न बैंकबाट ऋण लिनुपरेको बताए । 

उनका अनुसार निजी प्रयोजनका लागि सरसापटी लिएको पैसा पनि मण्डलले पासबुकमा लेख्ने गरेकाले उमेशलाई रकम दिने मानिस सहकारीमा अहिले पनि आउने गरेका छन् । 

उनले संस्था जोगाउनैपर्ने भएकाले बचतकर्तालाई नियमित बचत गर्न र ऋण लिएकाहरूलाई तिर्न आग्रह गरे । 

कतिपयलाई मण्डलले सेयर फिर्ता दिएको भनेर रकम निकासा गरी खुट्टाको औंलाको छापसम्म लगाएको पाइएको छ । मण्डलले एउटै परिवारको १६ लाख रुपैयाँसम्म ब्याज दिने भन्दै लिएर सहकारीलाई दायित्व भिडाएका छन् ।

‘सञ्चालकले सहकारीलाई बन्द नहोस् भनेर श्रीमतीका गहना बेचेर पैसा फिर्ता गर्दैछन्’ ब्यवस्थापक किशोर पाण्डेले भने, ‘एक कर्मचारीको बदमासीले बचत र ऋण सञ्चालन गर्न नसक्दा दुई वर्षदेखि निःशुल्क काम गर्दैछु ।’ 

मण्डलको नाममा रहेका पाँच ठाउँका जमिन रोक्का भएको र अदालतको आदेशपछि सोही जमिन लिलामबाट बचतकर्ताको रकम फिर्ता हुने उनको भनाई छ ।

संस्था चलायमान हुँदा साधारणसभामा सेयरधनीलाई भत्ता दिदै आएकोमा अहिले खाजासमेत खुवाउन नसकिएको पाण्डे बताउँछन् । 

जिल्ला अदालत मोरङले मण्डललाई बिगो बमोजिमको क्षतिपूर्ति र त्यत्ति नै जरिवाना तोकिसकेको छ । 

उच्च अदालतमा मुद्दा पेशीको पर्खाइमा छ । 

मण्डल एक्लैले सहकारीका सञ्चालकले गर्ने नक्कली निर्णय गरेर ऋण लगानी, बचत, सेयर फिर्ता जस्ता गतिविधि गरेर रकम निजी प्रयोजनमा चलाएका थिए ।  

मण्डलले तीन सय ८० जना बचतकर्ताको रकम हिनामिना गरेको सहकारीको आन्तरिक छानविनले देखाएको थियो । 

ब्यवस्थापक मण्डलले सहकारीमा सफाइको काम गर्ने, सडक किनारमा बसेर चिया, पकौडी बिक्री गर्ने महिलाहरूको बचत, सामाजिक सुरक्षा भत्ता लिएर जम्मा गर्ने ज्येष्ठ नागरिकको रकम पनि आफैले चलाएको छानविनले देखाएको थियो । 

सेयर सदस्य निरु पाख्रिन, भूमि राई लगायतको नक्कली भर्पाई गरेर उनीहरूको सेयर फिर्ता गरेको देखाई मण्डल आफैले लिएको पाइएको थियो । 

२०७५ देखि २०७९ को साढे तीन वर्षको अवधिमा ब्यवस्थापक मण्डलले सहकारीको रकम हिनामिना गरेर तीन ठाउँमा घडेरी र एक ठाउँमा घर खरिद गरेका थिए ।

‘आदर्श नगरको नाम नै बनेको थिएन, छिटपुट घर थिए, हामीले साना समस्या टार्न बचत गर्ने बानी बसाल्न सहकारी सञ्चालन गर्यौ’ पूर्वअध्यक्ष लालबहादुर खत्रीले भने, ‘एउटा कर्मचारीको भरमा सहकारी छाड्दा ठूलो मुल्य चुकाउनुपर्यो ।’ 

दुई पटक अध्यक्ष भइसकेका खत्री बुधबारको साधारणसभाबाट संस्था चलायमान बनाउन लेखा समितिको संयोजकमा बस्न राजी भएका छन् ।

सभाले किशोरकुमार भट्टराईलाई पुनः अध्यक्षमा, सचिव श्रेष्ठलाई उपाध्यक्ष र लेखा समिति संयोजक अशोक शर्मालाई सचिवमा चयन गरेको छ । 

कोषाध्यक्षमा यामप्रसाद सुवेदी, सदस्यहरूमा रेणुका खवास, अमृता अधिकारी र काशीराम राजवंशीलाई सदस्यमा सर्वसम्मत चयन गरेको छ ।

View : 179

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved