विराटनगर । कोशी प्रदेशमा नयाँ प्रहरी प्रमुख आएसँगै स्थानीय प्रहरीले सीमावर्ती क्षेत्रमा पहिलेको तुलनामा कडाइ गरेको छ ।
विराटनगर भन्सार क्षेत्रमा नेपाल प्रहरीले कडाइ गरेकाले सशस्त्र प्रहरी पनि थप कडाइ गर्न बाध्य भएको छ ।
प्रदेश प्रहरी प्रमुखका रुपमा प्रहरी नायव महानिरीक्षक राजन अधिकारी बुधबार आएसँगै बिहीबार भन्सार नाकामा प्रहरीको निगरानी विगतको तुलनामा बढी थियो ।
कतिपय ब्यक्तिका शरीर पनि खानतलासी गरिएको छ । सुराकीका आधारमा मात्रै ब्यक्तिका खल्ती जाँच गरिने गरिएकोमा बिहीबार शंका लागेका ब्यक्तिको पनि तलासी लिइएको थियो ।
प्रहरी प्रमुख फेरिने बित्तिकै केही दिन कडाइ गर्ने पुरानो चलन छ ।
रबि लामिछाने गृहमन्त्री भएको एक सातासम्म विराटनगर भन्सारमा स्थानीयलाई दैनिक उपभोग्य वस्तु भारतबाट ल्याउन पनि रोक लागेको थियो ।
हुनतः कानुनले भन्सार नतिरेका वस्तु आयातमा प्रतिबन्ध लगाए पनि सीमावर्ती क्षेत्रका मानिसले भारतमा सस्तो पाइने भएकाले भान्साका सामान जोगवनीबाटै ल्याउने पुरानो चलन छ ।
डीआईजी अधिकारी आएको पहिलो दिन सीमा क्षेत्रमा परिचालित सुरक्षाकर्मीले लामिछाने मन्त्री भएका बेला जसरी नै चेकजाँच गरेका थिए ।
नेपाल प्रहरीले कडाइ गरेपछि सशस्त्र प्रहरीले पनि सोहीअनुसार कडाइ गरेर देखाएको छ ।
‘नयाँ डीआईजी आएका छन्, पुलिसले कडाइ गरिहाल्छ नि’ सीमा क्षेत्रका एक ब्यक्तिले भने ‘रोडमा कडाइ गरेर के हुन्छ, पुलिसले गाडीमा कडाइ गर्न सक्दैन ।’
गाडीमा ल्याइने भन्सार छलीका सामान र सवारीधनीको कागजात नभएका साधन नेपाल भित्रिदा प्रहरीको नभई भन्सार कर्मचारीको मिलेमतो हुने गरेको उनले बताए ।
उनका अनुसार नक्कली कागजात भएका भारतीय नम्बरका सवारी साधनलाई कर्मचारीले राजश्व बाहेकको थप शुल्क लिएर नेपालतर्फ छाड्ने गरेका छन् ।
कोशी प्रदेशबाट सरुवा भएर गएका प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङ प्रदेशमा प्रहरी प्रमुख भएर आउँदा पनि यस्तै कडाइ सीमामा गरिएको थियो । पछि स्थानीय सुरक्षाकर्मीले कडाइलाई यतिसम्म
खुकुलो बनाएका थिए जसका कारण मोरङका तत्कालीन प्रहरी उपरीक्षक नवराज कार्की कारवाहीमा परेका थिए भने सशस्त्र प्रहरी उपरीक्षक विश्व खड्का विभागीय छानविनमा परे ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई र अनुसन्धानका जिल्ला प्रमुख तिलक प्रसाई पनि आलोचित भएका थिए । यतिसम्म कि पूर्व प्रहरी नायव महानिरीक्षक तथा नेता भक्ति माझीको नेतृत्वको नेपाली कांग्रेस मोरङले सीमामा हुने खुल्लापन रोक्न प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको थियो ।
सीमामा हुने तस्करीले अपराध बढ्ने र हातहतियारको पनि कारोबार हुन सक्ने नेपाली कांग्रेसले ज्ञापनपत्रमा जनाएको थियो ।
यति बेला प्रदेशको राजधानी विराटनगरमा रहेका सुरक्षा निकायका प्रमुखहरू सबै स्थानीय नै रहेकाले उनीहरूबाट सीमामा हुने गलत कारोबारलाई बेवास्ता गर्न सक्ने अवस्था आउने बताइन्छ ।
हुनतः पुराना डीआईजीको सरुवा र नयाँ डीआईजी आउने भनिएपछि सीमामा अबैध कारोबार गर्नेहरू पर्ख र हेरको अवस्थामा थिए ।
नयाँ प्रमुख आएपछि भएको कडाइ भन्दा पनि प्रहरीको नियमित कार्यअनुसार नै सीमामा चेकजाँच भएको नायव महानिरीक्षक अधिकारी बताउँछन् । उनले आफू आएर सीमामा कडाइ गर्न आदेश नदिए पनि स्थानीय प्रहरीले नियमित ड्युटी गरेको बताउँदै प्रहरी २४ सै घण्टा सीमामा सतर्कतापूर्वक तैनाथ रहने बताए ।
प्रदेशमा प्रमुख भएर आएपछि सुरक्षाका कुनै नौलो योजना नल्याएको बताउँदै उनले पुराना र अग्रजहरूले गर्दै आएका सुरक्षाका कामलाई निरन्तरता दिने स्पष्ट पारे ।
सीमामा हुने लागुऔषधको कारोबार नियन्त्रण गर्दै महिला बालबालिका मैत्री सेवा दिएर परिणाममुखी सेवा दिने उनको भनाइ छ ।
‘संगठन प्रमुखसँग कार्यसम्पादनको सम्झौता भएअनुसार काम गरेकाले जनशक्ति प्रभावकारी रुपमा परिचालन गरेर देखिएका सुरक्षा चुनौतीलाई कमजोर बनाउनेछु’ अधिकारीले भने ।
View : 102
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved