एनपीएल क्रिकेट :
विराटनगर । उत्कृष्ट लय अनि फर्ममा रहेका खेलाडीहरुको लगातारको उम्दा प्रदर्शन । लिग चरणको अन्तिम खेलमा सानदार जित निकालेकै टोलीविरुद्ध मंगलबार विराटनगर किंग्स मैदान उत्रदा टिमका सदस्यहरु मात्रै होइन, समर्थकहरु पनि आफ्नो टोली नेपाल प्रिमियर लिगको फाइनल पुग्ने अपेक्षामा थिए । तर, क्रिकेट हुन्छ नै यस्तै ।
ब्याट, बल र फिल्डिङको सन्तुलन जुनसुकै बेला खलबलिन सक्छ । ठ्याक्कै त्यस्तै भयो ।
एनपीएलको यो सिजनमा सुदूरपश्चिमसँगको दोस्रो भेट विराटनगरका लागि बिर्सनलायक रह्यो ।
विराटनगर किंग्समाथि ७७ रनको फराकिलो जित निकाल्दै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा पुगेको छ । सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा पुगेको हो ।
अघिल्लो सिजनको फाइनलमा सुदूरपश्चिमले जनकपुर बोल्ट्ससँग हारेको थियो ।
मंगलबारको क्वालिफायर १ मा पराजित भएको विराटनगरले फाइनल प्रवेशका लागि अझै एक मौका पाउनेछ । बुधबार हुने काठमाडु गोर्खाज र लुम्बिनी लायन्सबीचको विजेतासँग विराटनगरले बिहीबार फेरि खेल्नेछ । यदि त्यो खेलमा जित हात पारे विराटनगर किंग्सले सुदुरपश्चिमसँगको फाइनल भेट पक्का गर्नेछ ।
सुदूरपश्चिमले भने उपाधिका लागि शनिबार हुने फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
मंगलबार कीर्तिपुरिस्थित त्रिवि मैदानमा भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिमले विराटनगरको ब्याटिङ लाइनअप ध्वस्त पार्दा टोली निराश बन्न पुगेको थियो ।
१५६ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरलाई सुदूरपश्चिमले १४.१ ओभरमा ७८ रनमा अलआउट गर्दै सजिलो जित निकाल्यो ।
लक्ष्य पछ्याउने क्रममा विराटनगरको सुरूवात अन्त्यन्त खराब रह्यो । विराटनगरले पहिलो सात बलको अन्तरमा तीन विकेट गुमाउँदा जम्मा ३ रन मात्रै बनाएको थियो ।
पहिलो ओभरमा साम हिजलेट र मार्टिन गप्टिल आउट भए भने दोस्रो ओभरको पहिलो बलमा नरेन भट्ट पेभिलियन फर्किएका थिए । लगालग तीन विकेट गुमाएपछि विराटनगर दबाबमा परेको थियो ।
इनिङको पहिलो बलमै सुदूरपश्चिमका स्कट कुगेइलिनले हिजलेटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराएका थिए । सोही ओभरको अन्तिम बलमा गप्टिल रनआउट हुनु पुगे ।
क्रिजमा रहेका फाप डु प्लेसिसले कल बिनै रनका लागि कुदेका गप्टिललाई इशान पाण्डे र कुगेइलिनले रनआउट गर्दा विराटनरले पहिलो ओभरमा ३ रन जोड्दा २ विकेट गुमाउन पुगेको थियो ।
दोस्रो ओभरको पहिलो बलमा नरेन भट्टलाई हर्मित सिंहले कुगेइलिनबाट क्याच आउट गराए । जसका कारण विराटनगरले पहिलो सात बलमै ३ विकेट गुमाउँदा ३ रन मात्रै जोड्न सकेको थियो ।
त्यसपछि बसिर अहमद चौथो विकेटको रूपमा १२ रन जोडेर आउट भए । उनलाई दीपेन्द्रसिंह ऐरीले सातौं ओभरमा कट एन्ड बोल्ड गरेका थिए । त्यसको दुई ओभरपछि लोकेश बम पनि ५ रनमा आउट भएका थिए ।
त्यतिबेला विराटनगरले ८.२ ओभरमा ५ विकेट गुमाउँदा ५० रन मात्र जोडेको थियो । अर्को ओभरमा नारायण जोशीलाई हर्मित सिंहले १ रनको स्थितिमा बोल्ड गरेर सुदूरपश्चिमलाई जिततर्फ अघि बढाए ।
११ औं औभरको पाँचौं र छैटौं बलमा विराटनगरले लगातार विकेट गुमायो । पाँचौं बलमा फाप डु प्लेसिसलाई कुगेइलिनले ३६ रनमा क्याच गराए ।
यो सिजनमा पहिलो खेल खेलेका सेल्डन ज्याक्सनबाट क्याच हुनुअघि डु प्लेसिसले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । उनी क्रिजमा हुन्जेल आशावादी रहेको विराटनगरले उनको विकेट पतनसँगै हार खेप्ने निश्चित भएको थियो ।
अर्को बलमा प्रतिश जिसी पनि ३ रनमा रनआउट हुन पुगे । नवौं विकेटको रुपमा मर्चेन्ट डि ल्यांगे १५ रनमा क्याच भए । उनलाई १४ औं ओभरमा कुगेइलिनले हर्मित सिंहबाट क्याच गराएका थिए । बलिङमा सुदूरपश्चिमका अभिनास बोहरा, कुगेइलिन र हर्मित सिंहले २–२ विकेट लिएका थिए ।
त्यसअघि टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५५ रन बनाएको थियो ।
सुदुरपश्चिमका लागि ओपनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे । १९ औं ओभरको अन्तिम बलमा विराटनगरका प्रतिश जिसीको बलमा साम हिजलेटबाट क्याच हुनुअघि भण्डारीले ५२ बलमा ३ चौका र २ छक्काको मद्दतमा ६३ रन बनाएका थिए ।
सुदूरका अर्का ओपनर मुख्तर अहमदले १० रन मात्रै बनाउन सकेका थिए । १० बलमा २ चौका प्रहार गरेका उनलाई विराटनगरका डि ल्यांगेले तेस्रो ओभरको पाँचौ बलमा बोल्ड गरेका थिए ।
त्यसपछि विनोद भण्डारीसँग ४० रनको साझेदारी गरेका भारतीय ब्याटर शेल्डन ज्याकसन २० रन बनाएर आउट भए । उनले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे । उनलाई आठौं ओभरमा सूर्य तामाङले लोकेश बमबाट स्टमपिङ गराएका थिए ।
त्यसपछि इशान पाण्डे १३ रन बनाएर आउट हुन पुगे । पाण्डेलाई साम हिजलेटले बाउन्ड्री लाइनमा नरेन भट्टबाट क्याच गराए ।
भट्टले बाउन्ड्रीमा सन्तुलन गुमाएपछि बल हावामा फ्याँकेर फेरि बाउन्ड्री भित्र पसेर उत्कृष्ट क्याच लिएका थिए ।
त्यसपछि कप्तान दीपेन्द्रसिंह ऐरी १४ औं ओभरमा दुई रन लिने क्रममा रनआउट भए ।
३ रन बनाएका उनलाई डि ल्यांगेले विकेटकिपर लोकेश बमबाट रनआउट गराए । त्यसपछि हर्मित सिंह ११ बलमा २ चौकाको मद्दतमा १४ रन बनाएर आउट भए ।
प्रतिश जिसीको बलमा हर्मितको क्याच हिजलेटले लिएका थिए । अन्तिम ओभरमा बाउन्ड्रीमा डि ल्यांगेको बलमा समातिनुअघि आरिफ शेखले १३ बलमा २० रन बनाएर सुदुरको स्कोर उकासेका थिए । आरिफले २ चौका र १ छक्का प्रहार गरेका थिए ।
बलिङमा विराटनगरका डि लेङ्गे र प्रतिश जिसीले २–२ विकेट लिए । उनले ४ ओभरमा २३ रन दिंदा प्रतिशले ३ ओभरमा ३१ रन खर्चिए । साम हिजलेट र सूर्य तामाङको नाममा १–१ विकेट रह्यो ।
बुधबार काठमान्डु र लुम्बिनीबीच इलिमिनेटरको खेल हुनेछ । जित हात पार्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ भने हार्ने टोली बाहिरिनेछ ।
View : 175
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved