विराटनगर । प्लास्टिकका भाडा उत्पादन गर्ने यस क्षेत्रको कान्छो कम्पनी स्वस्तिक पोलिमर्स प्रालिले जारी व्यापार मेलामा तीन वटा स्टल लिएको छ । स्वस्तिकले झण्डै ३५० प्रकारका सामान उत्पादन गर्ने भएकाले तीन वटा स्टल पनि साँघुराजस्ता लाग्छन् ।
स्टलमा निकै हँसिलो अनुहारसहित भेटिएका कम्पनीका मार्केटिङ मेनेजर शैलेस न्यौपाने भान्सादेखि बरण्डासम्मका लागि चाहिने सामान आफ्नो कम्पनीले उत्पादन गर्ने उल्लेख गर्छन् ।
उनका अनुसार कम्पनीले उत्पादन गर्ने सामान खासै महँगो पनि छैनन् । फेरि सस्तो भएका कारण गुणस्तरमा कसैले औंलो उठाउने ठाउँ पनि नभएको न्यौपाने बताउँछन् । स्वस्तिक पोलिमर्सले २५ रुपैयाँमा पाइने साबुन राख्ने बट्टादेखि २५ सय रुपैयाँ पर्ने टेबलसम्मको उत्पादन र बिक्री गर्दछ ।
उपभोक्ताले सोचेका र खोजेका सामान पाइने कम्पनीको दावी छ । किसानलाई चाहिने बाल्टिन, गृहिणी महिलालाई चाहिने मरमसला राख्ने बट्टा, दाल, चामलजस्ता दलहन, तेलहन जे राख्नुपरे पनि त्यसका लागि साइज–साइजका प्लास्टिक भाडा कम्पनीले उत्पादन गर्दै आएको बजार प्रबन्धक न्यौपानेले बताए ।
कम्पनीले मेलामा आउने ग्राहकलाई लक्षित गरेर बजार मूल्यभन्दा केही छुट पनि दिएको छ । त्यस्तै ग्राहक तथा मेला अवलोकनकर्तालाई लक्षित गरी स्टलमै सानो रमाइलो खेल पनि खेलाउने गरेको छ । खेल जितेअनुसार व्यक्तिले स्टलमा तत्कालै पुरस्कार पाउने व्यवस्था कम्पनीले मिलाएको छ ।
स्वस्तिक पोलिमर्स पाँच वर्षअघि मोरङको बूढीगंगा गाउँपालिकामा खुलेको कम्पनी हो । यो कम्पनी विराटनगरका युवा व्यवसायी रमेश राठीसहितको समूहले सञ्चालनमा ल्याएको हो ।
View : 178
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved