Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले कोशीको सबै शक्ति ‘इलाम केन्द्रित’

प्रदेश कमिटी अध्यक्ष खतिवडाले भने, ‘सिमाना जोडिएका झापा, मोरङ र पाँचथरबाट टिम बनाउने निर्णय भएको छ, उक्त टिमले आर्थिक, भौतिक र नैतिक सहयोग जुटाउने छ, निर्वाचन क्षेत्र नै प्रदेश कमिटीले नै जिम्मा लिएर परिचालन हुने निर्णय भएको छ ।’
उद्घोष सम्वाददाता
७ चैत २०८०, बुधवार

विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीको मंगलबार विराटनगरमा बसेको प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले आफ्नो सवै शक्ति इलामको उपनिर्वाचनमा केन्द्रित गर्ने भएको छ । 

उपनिर्वाचनलाई लक्षित गरेर इलामसँग सिमाना जोडिएका मोरङ, झापा र पाँचथर जिल्लालाई समेटेर विशेष टिम समेत बनाउने निर्णय गरेको एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका क्षेत्रको क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । आगामी बैशाख १५ गते उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । 

निर्वाचनका लागि एमाले इलामले स्वर्गीय नेम्वाङकै छोरा सुहाङ्ग नेम्वाङसमेत ६ जना आकाङ्क्षीहरूको नाम प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाउने गरी सिफारिस गरिसकेको छ । 

प्रदेश कमिटी अध्यक्ष खतिवडाले जिल्लाबाट आएको नाममाथि प्रदेश कमिटीको बैठकमा पनि नेताहरूसहित छलफल गरिएको बताए । उनले अझै आवश्यक छलफल गरेर आकाङ्क्षीहरूको नाम केन्द्रमा पठाइने बताए ।

त्यसअघि नै इलाममा एमालेको संगठन सुदृढीकरणका लागि सदस्यता विस्तारदेखि जिल्ला अधिवेशनसम्मको काम सम्पन्न गरिने जनाएको छ । लगत्तै पार्टीको प्रदेश कमिटी इलाम–२ को उपनिर्वाचनमा केन्द्रित हुने खतिवडाले बताए ।

‘इलामको क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि पार्टीले आन्तरिक तयारी गरिरहेको छ, उपनिर्वाचनमा कसरी सहयोग गर्ने भनेर आजको बैठकमा धेरै छलफल भएको छ’ प्रदेश कमिटी अध्यक्ष खतिवडाले भने, ‘सिमाना जोडिएका झापा, मोरङ र पाँचथरबाट टिम बनाउने निर्णय भएको छ, उक्त टिमले आर्थिक, भौतिक र नैतिक सहयोग जुटाउने छ, निर्वाचन क्षेत्र नै प्रदेश कमिटीले नै जिम्मा लिएर परिचालन हुने निर्णय भएको छ ।’

प्रदेश कमिटीको बैठकमा केन्द्रीय कमिटीबाट प्राप्त भएका सर्कुलर सुनाउने काम भएको जनाइएको छ । प्रदेश अध्यक्ष खतिवडाले कोशी प्रदेशका सबै जिल्लामा जिल्ला अधिवेशनको तयारी समेत तीब्र गतिमा अघि बढाइएको जानकारी दिए । 

त्यसका लागि अहिले पार्टी सदस्यता नवीकरणको काम भइरहेको बताए । जिल्ला अधिवेशनको मिति तोकिएकोले अधिवेशन सम्पन्न गर्न प्रदेश कमिटीका सदस्यहरूलाई बैठकले जिम्मेवारी तोक्ने काम गरेको जनाइएको छ ।

साथै प्रदेश कमिटीका विभागलाई पूर्णता दिन जिल्लाबाट सिफारिस माग्ने समेत बैठकले निर्णय गरेको बताए ।

View : 294

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved