Biratnagar, Morang, Nepal
३० चैत २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

धरानमा खानेपानीको महसुल ९ हजार प्रतिशतसम्म वृद्धि

हर्क साम्पाङविरुद्ध धरानका राजनीतिक दल आन्दोलित

उद्‌घोष सम्वाददाता
१६ साउन २०८१, बुधवार

सुनसरी । धरानमा खानेपानीको शुल्क र महसुल बढाइएपछि यहाँका १० राजनीतिक दलले चरणवद्ध आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले मेयर हर्क साम्पाङले शुल्क वृद्धि गरेको आरोप लगाएका छन् ।

यसअघि साउन ११ गते धरानमा क्रियाशील रहेका राजनैतिक दलहरूले खानेपानीको शुल्क र महसुल पुरानै कायम गर्नुपर्ने माग राख्दै धरान खानेपानी व्यवस्थापन बोर्डलाई ७२ घन्टे अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका थिए । 

अल्टिमेटम दिँदा पनि महसुल नघटाएपछि राजनैतिक दलहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । उनीहरूले यसअघि खानेपानीको पुरानै महसुल कायम गर्न माग गरेका थिए । खानेपानी व्यवस्थापन बोर्ड धरान उपमहानगर मातहत रहेको र महसुल वृद्धिमा मेयर साम्पाङको संलग्नता रहेको दलहरूले दाबी गरेका छन् । खानेपानी बोर्डको अध्यक्षमा मेयर रहने व्यवस्था रहेको उनीहरूले बताएका छन् । 

बोर्ड सञ्चालनमा समस्या भएको भन्दै बोर्डका अध्यक्ष हर्क साम्पाङले खानेपानी जडान होल चेन्ज, नामसारी, मर्मत तथा परीक्षणमा लाग्ने शुल्क र खानेपानीको महसुलमा ९ हजार ९ सय प्रतिशतसम्म वृद्धि गरेका हुन् । सोही कारण धरानका राजनीतिक दलहरू आन्दोलित बनेका हुन् ।

नगरप्रमुख साम्पाङको एकल निर्णयबाट शुल्क र महसुलमा वृद्धि भएको धरानमा क्रियाशील दलहरूको आरोप छ । बोर्डले साउन महिनाबाट लागू हुनेगरि खानेपानीको शुल्क र महसुलमा वृद्धि गरेको हो । 

खानेपानी बोर्डले ११ प्रतिशतदेखि नौ हजार नौ सय प्रतिशतसम्म शुल्क र महसुलमा वृद्धि गरेको पाइएको छ । शुल्क र महसुल वृद्धि अवैज्ञानिक भएको नेकपा एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङ्गले बताए । 

उनले ९ हजार ९०० प्रतिशतसम्म शुल्क र महसुल वृद्धि भएका कारण बाध्य भएर विरोधमा उत्रनु परेको जानकारी दिए । शुल्क वृद्धिको विरोधमा आन्दोलनको घोषणा गरेका उनीहरूले बिहीबार विभिन्न सरोकारवाला सङ्घसंस्थाहरूसँग अन्तरक्रिया गर्ने, शुक्रबार सबै वडा कार्यालयहरूमा ध्यानाकर्षण पत्र बुझाउने र साउन २० गते धर्ना बस्ने कार्यक्रम तय गरेका छन् । 

चलु आर्थिक वर्षदेखि धरानमा नयाँ धारा जडान गर्दा लाग्ने शुल्कमा ५ हजार रुपैयाँ वृद्धि गरिएको छ । यसअघि १-२ इन्चको पाइपमा धारा जडान गर्दा १५ हजार रुपैयाँ लाग्ने गरेको थियो ।

खानेपानी बोर्डले त्यसलाई बढाएर २० हजार रुपैयाँ बनाएको हो । 

बोर्डले ४-३ को पाइपमा नयाँ धारा जडान शुल्क २५ हजार तोकेको छ । यसअघि ४-३ इन्चको धारा जडान गर्दा १० हजार रुपैयाँ तिर्नु पर्दथ्यो । 

बोर्डले १ इन्चको पाइपको धारा जडान ५० हजार शुल्क तोकेको छ । यसअघि धरानवासीले १ इन्चको पाइपमा धारा जडान गर्दा १५ हजार रुपैयाँ तिर्दै आएका थिए । 

१–१/२ इन्चको धारा जडानको शुल्क ७५ हजार पुर्‍याइएको छ । यसअघि धरान खानेपानी बोर्डले १-१/२ इन्चको पाइपमा धारा जडान गर्न २० हजार रुपैयाँ शुल्क लिँदै आएको थियो । 

यसैगरी धरान खानेपानी बोर्डले होल चेन्जको शुल्क समेत वृद्धि गरेको छ । १-२ को पाइपको होल चेन्जमा २ हजार रुपैयाँ शुल्क लिँदै आएको बोर्डले अब ५ हजार रुपैयाँ लिने गरी शुल्क बढाएको छ । 

४-३ को पाइपको होल चेन्जमा ३ हजारबाट ८ हजार पुर्‍याइएको छ । यस्तै १ इन्चको पाइपमा ४ हजारबाट १० हजार रुपैयाँ शुल्क पुर्‍याइएको छ । १–१/२ इन्चको पाइपको शुल्क ५ हजार रुपैयाँ रहेकोमा यसलाई बढाएर १५ हजार रुपैयाँ पुर्‍याइएको छ । यसैगरी खानेपानीको महसुलमा पनि वृद्धि गरिएको छ ।

View : 267

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved