Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

व्यवसायी हत्यामा कामदारको संलग्नताको आशंका

उद्‌घोष सम्वाददाता
२९ असार २०८१, शनिवार

विराटनगर । मोरङको सुन्दरहरैंचामा कुखुरा फार्म सञ्चालकको हत्या त्यहीँ काम गर्ने दम्पतीबाट भएको हुन सक्ने आशंका गरिएको छ । ४९ वर्षीय सहदेव बजगाईंको बिहीबार बिहान फार्म भित्रै हत्या भएको थियो ।

सुन्दरहरैंचा–९ निवासी बजगाईं सधैँ जस्तै बिहीबार बिहान पनि ८ बजे फार्म पुगेका थिए । घर नजिकै भएको फार्ममा पुग्ने बित्तिकै उनलाई बन्चरो र दाउ प्रहार गरी हत्या गरेर दम्पती फरार भएको अनुमान गरिएको छ ।

घटनापछि त्यहाँ कार्यरत दम्पती फरार रहेकाले उनीहरूले नै हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

बजगाँईको टाउकोमा बन्चरो प्रहार भएकाले क्षतबिक्षत अवस्थामा पाइएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र बस्नेतका अनुसार बिहान १० बजे बजगाईंको शव भेटिएको स्थानीयले खबर गरेपछि त्यहाँ प्रहरी पुगेको थियो ।

फार्ममा काम गर्ने अपरिचित दम्पती फरार रहेकाले हत्या उनीहरूबाटै भएको हुन सक्ने देखिएको उनले बताए । हत्यामा प्रयोग भएको बन्चरो र दाउ शवको नजिकै रगताम्मै अवस्थामा भेटिएको छ ।

घटनालगत्तै मोरङका प्रहरी उपरीक्षक नवराज कार्की पनि अनुसन्धानका लागि त्यहाँ पुगेका थिए ।

झापा घर भएका बजगाईं परिवारसँग अलग्गिएर एक्लै बस्दै आएको बताइएको छ । उनले फार्ममा काम गर्न कसलाई राखेका थिए भन्ने खुल्न सकेको छैन ।

उनीहरूको खोजतलासमा समस्या हुने भएकाले पनि दम्पतीको विवरण प्रहरीले गोप्य राखेको छ । झापामा रहेको बजगाईंको परिवारमा पनि फार्ममा को को काम गर्दै थिए भन्ने जानकारी छैन । बजगाईंको हत्या भएको निकै बेरपछि मात्रै उनको परिवारले खबर पाएको थियो ।

View : 132

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved