विराटनगर । यही मंसिर महिनामा हुन लागेको उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले मोरङको ग्रामथान गाउँपालिकामा कार्यालय स्थापना गरेको छ ।
उक्त पालिकामा अध्यक्षको निधन भएपछि सोही पदका लागि यही मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।
नेकपा एकीकृत समाजवादीले ग्रामथानमा उत्पीडित तथा दलित समुदायका दिलबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने यसअघि नै घोषणा गरिसकेको छ ।
उम्मेदवार घोषणालगत्तै नेकपा एकीकृत समाजवादीले मंगलबार ग्रामथानको तेतरिया बजारमा चुनावी कार्यालय स्थापना गरेको हो ।
कार्यालयको पार्टीका पोलिटब्युरो सदस्य महेश रेग्मीले उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै पोलिटब्युरो सदस्य रेग्मीले पार्टीले ग्रामथानमा भुइँमान्छेलाई उम्मेदवार बनाएको बताए ।
दलित तथा उत्पीडित समुदायको सघन बस्तीमा जनताको वास्तविक जनप्रतिनिधिका रुपमा आफ्ना पार्टीका तर्फबाट खडा गरिएका उम्मेदवारले विजयी हासिल गर्ने उनले दावी गरे ।
त्यस्तै, अध्यक्ष पदका उम्मेदवार दिलबहादुर विश्वकर्माले आफूले विगतमा मिटरब्याजबाट पीडित, लघुवित्तबाट पीडित भएकाको पक्षमा काठमाडौंको माइतीघरसम्म संघर्ष गरेकाले सोही जनाधारले पनि चुनाव जित्ने बताए ।
उनले ग्रामथानमा आउने कुनै पनि बजेट फ्रिज भएर केन्द्रमा फिर्ता जाने अवस्था आउन नदिनका लागि पनि पालिकामा गरिबको प्रतिनिधि गरिबले नै जित्नुपर्ने उल्लेख गरे ।
उनले आफूले चुनाव जिते सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारमा ध्यान दिने र पालिकाकै बजेटमा विद्यालयलाई बस दिने प्रतिवद्धता व्यक्त गरे ।
सो अवसरमा पार्टीकी केन्द्रीय सदस्य निलम ढुंगेल, मोरङ उपाध्यक्ष डा. उद्धव पोखरेल, प्रमिता माझी, राकेश चौधरी, सत्यनारायण खा“ चौधरीलगायतले बोलेका थिए ।
View : 109
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved