विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-४ स्थित एक कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएको एक दिन नबित्दै उर्लाबारी नगरपालिका–८ स्थित एक कुखुरा फार्ममा पनि बर्डफ्लु संक्रमण देखिएको पुष्टि भएको छ ।
उर्लाबारी नगरपालिकाका प्रमुख गंगा प्रसाद खरेलले शुक्रबार जारी गरेको सुचना अनुसार वडा नं. ८ मा सञ्चालित लेयर्स कुखुरा फार्मका कुखुराहरू बिरामी भई मर्न थालेपछि नमुना परीक्षण गर्दा बर्डफ्लु संक्रमण पुष्टि भएको जनाइएको छ । नगरपालिकाले यो रोग सङ्क्रामक भएकाले तीव्र रूपमा फैलिन सक्ने भन्दै उच्च सतर्कता अपनाउन सबै सरोकारवालासँग अनुरोध गरेको हो ।
नगरपालिकाले संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रबाट कुखुरा तथा कुखुराजन्य पदार्थ (अण्डा, मासु, दाना लगायत) को ओसारपसार अर्को सूचना जारी नभएसम्म पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।
साथै, कुखुरामा असामान्य बिरामी वा अचानक मृत्यु देखिएमा तुरुन्त वडा कार्यालय वा पशुपन्छी सेवा शाखामा जानकारी गराउन आग्रह गरेको छ ।
कुखुरा पालन गर्ने कृषकहरूलाई फार्ममा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश तथा निस्कने स्थानमा डिसइन्फेक्टेन्ट (चुना, फिनाइल, सेनिटाइजर आदि) प्रयोग गर्न र सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिइएको मेयर खरेलले बताए ।
मृत वा संक्रमित कुखुरालाई सुरक्षित रूपमा व्यवस्थापन गर्न सम्बन्धित मापदण्ड पालना गर्नुपर्ने पनि सूचनामा उल्लेख छ ।
स्थानीय बजार तथा कुखुरा पसलहरूलाई समेत सम्बन्धित निकायको अनुगमन तथा निर्देशन अनिवार्य रूपमा पालना गर्न भनिएको छ । बर्डफ्लु मानिसमा समेत सर्न सक्ने भएकाले संक्रमण नियन्त्रण र रोकथाममा सम्पूर्ण नगरवासीको सहयोग आवश्यक रहेको मेयर खरेलले जानकारी दिए ।
यता, सुन्दरहरैंचा नगरपालिका-४ स्थित एक कुखुरा फार्ममा बर्डफ्लु संक्रमण पुष्टि भएपछि लगत्तै नगरपालिकाले उच्च सतर्कता अपनाइसकेको छ ।
प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले बिहीबार नै सार्वजनिक सूचना जारी गर्दै संक्रमण फैलिन नदिन तत्काल प्रतिबन्धात्मक र सावधानीका उपाय लागू गरिएको जनाएका हुन् ।
उनले प्रभावित क्षेत्रबाट लेयर्स कुखुरा, अण्डा, मासु, दाना तथा कुखुरा पालनमा प्रयोग हुने उपकरणहरूको ओसारपसारबारे अर्को सूचना नआउञ्जेल पूर्ण रूपमा बन्द गरिएको बताए ।
View : 136
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved