विराटनगर । विद्युत महसुल विवादका कारण बन्द भएका कोशी प्रदेशका उद्योगहरू संचालनका लागि उद्योग संचालन गर्ने वातावरण बनाउन संघीय सरकारसँग माग गरेको छ । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले शुक्रबार विज्ञप्तिमार्फत उद्योगमा लाइन काटिएका कारण अस्वाभाविक अवस्था उत्पन्न भएको भन्दै उद्योग खुल्ने अवस्था बनाउन माग गरे ।
उद्योग बन्द हुँदा प्रदेशको अर्थतन्त्रमा मात्रै नभई स्थानीय स्तरमा रोजगारीमा समेत प्रत्यक्ष असर परेको भन्दै मुख्यमन्त्री कार्कीले संघीय सरकारको ध्यानाकर्षण गराएका छन् । उनले विद्युत आपूर्ति बन्द हुनु अस्वाभाविक कदम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । समस्याको समाधान वार्ता र संवादको माध्यमबाट खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।
उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच जारी ‘डेडिकेटेड फिडर’ र ‘ट्रकलाइन’ सम्बन्धी असमझदारीका कारण हजारौं मजदुर सडक आउने अवस्था बनेको भन्दै समस्या समाधान गर्न आग्रह गरे ।
‘मुलुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा निजी क्षेत्र हो’ मुख्यमन्त्री कार्कीले निकालेको विज्ञप्तिमा भनिएको छ ‘बक्यौता विवादका कारण उद्योग बन्द हुँदा अर्थतन्त्र र रोजगारी दुवैमा असर पर्नु स्वाभाविक हो, यस्तो अवस्थामा सरकारले पहल गरेर उद्योग संचालनको सहज वातावरण बनाउनुपर्छ ।’
मुख्यमन्त्री कार्कीले गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा निजी उद्योग, सुपरमार्केट, कलकारखाना र सञ्चार क्षेत्रमा भएका आगजनी र तोडफोडले लगानीकर्तामा उत्पन्न भएको असुरक्षाबारे पनि चिन्ता व्यक्त गरेका छन् । उनले उक्त घटनाका कारण स्वदेशी तथा विदेशी लगानीकर्ताहरू निरुत्साहित हुने परिस्थिति बनेको भन्दै समस्यालाई समयमै सम्बोधन गर्न सरकार संवेदनशील बन्नुपर्ने बताए ।
‘सरकार र राज्यप्रति निजी क्षेत्रको विश्वास अभिवृद्धि गरी खस्कँदो अर्थतन्त्रलाई लयमा फर्काउन नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु’ मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘कोशी प्रदेश सरकार नेपाल सरकार र निजी क्षेत्रबीच वार्ता र संवादको वातावरण निर्माणमा प्रतिवद्ध छ ।’
मुलुकको अर्थतन्त्रको महत्वपूर्ण स्तम्भका रुपमा रहेको निजी क्षेत्रको अभिभावक राज्य नै बन्नुपर्नेमा उनले जोड दिएका छन् ।
View : 429
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved