Biratnagar, Morang, Nepal
९ माघ २०८१, बुधवार
+977 21 450305, 515728, 578305
कोशी

पर्यटन वर्ष निर्देशक समितिको सदस्यमा भट्टराई, बराल र दंगाल मनोनित

उद्‌घोष सम्वाददाता
९ माघ २०८१, बुधवार

Advertisement

विराटनगर । कोशी प्रदेश पर्यटन वर्ष २०८२ को तयारीमा रहेको प्रदेश सरकारले पर्यटन वर्ष निर्देशक समितिको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ ।

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको संयोजकत्वमा रहेको निर्देशक समितिले विराटनगरका पर्यटन व्यवसायी एवं नेपाल ट्राभल एण्ड टुरिज्म एसोसिसएन कोशी प्रदेश अध्यक्ष पुण्य भट्टराई, धार्मिक पर्यटन प्रवद्र्धनमा सक्रिय सुनसरीका बासुदेव बराल र झापाका होटल व्यवसायी राजन दंगाललाई सदस्यमा नियुक्त गरेको हो ।

मन्त्रालयका प्रवक्ता एवं पर्यटन वर्ष २०८२ को सचिवालयका उपसचिव ध्रुवकुमार भण्डारीका अनुसार मन्त्रीस्तरको निर्णयबाट उनीहरूलाई निर्देशक समितिको सदस्यमा मनोनित गरिएको जनाइएको छ । 

सरकारले पर्यटन, वन तथा वातावरण मन्त्रालयमै कोशी प्रदेशमा पर्यटन वर्ष २०८२ को सचिवालय स्थापना गरिसकेको छ । 

‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ का लागि कोशी प्रदेश सरकारले निर्देशक समितिको सहसंयोजकमा विराटनगरका पर्यटन व्यवसायी भविषकुमार श्रेष्ठ र धरानका कृष्णकुमार साहलाई नियुक्त गरिसकेको छ ।

प्रदेश सरकारले गत असोज ११ मा आगामी वर्ष २०८२ साललाई कोशी प्रदेश पर्यटन वर्षका रुपमा मनाउने घोषणा गरिसकेको छ । 

त्यसका लागि सरकारले ‘डिलाइटफुल कोशी अर्थात ‘रमणीय कोशी’ भन्ने नारा समेत तय गरिसकेको छ । २०८२ वैशाख १ गते प्रदेश सरकारले तेह्रथुमको बसन्तपुरमा भव्य समारोहका साथ पर्यटन वर्षको उद्घाटन गर्ने तयारी अघि बढाइसकेको जनाइएको छ ।

यसैबीच, मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा रहेको कोशी प्रदेश पर्यटन वर्ष २०८२ को मुल आयोजक समितिको बैठक माघ १० गते बोलाइएको छ । 

प्रदेश सरकारबाट स्वीकृत कोशी प्रदेश पर्यटन वर्ष २०८२ सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८१ को दफा ३ बमोजिम मुख्यमन्त्री कार्कीको संयोजकत्वमा गठित मुल आयोजक समितिका सदस्यहरूको बैठक सुनसरीको कोशीटप्पुस्थित एक्वा बर्डस् इको रिसोर्टमा बोलाइएको मन्त्रालयले जनाएको छ ।

View : 37

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved