Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

सशस्त्रको गोलीले गयो स्थानीयको ज्यान, ५ बुँदे सहमतिपछि लौकही तनाव साम्य

उद्‌घोष संवाददाता
१८ पुष २०८२, शुक्रवार

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ स्थित लौकही बजार बिहीबार दिनभरी तनावग्रस्त रह्यो । 

नेपाल–भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जना स्थानीयवासीको ज्यान गएपछि निम्तिएको तनावले सुनसरीको लौकही बिहीबार दिनभरीजसो तनावग्रस्त बन्यो । 

तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीले बुधबार राति १ बजेतिर गोली चलाउँदा ४५ वर्षीय साहको घटनास्थलमै मृत्यु भएको थियो ।

सीमावर्ती क्षेत्रबाट दुई/तीन वटा सीटी सफारी तथा अटो रिक्सामा चोरी तस्करी गरी मालसामान ल्याउँदै गर्दा प्रहरीसँग दोहोरो भीडन्त भएको सशस्त्र प्रहरी बल बराह बाहिनी पकलीका डिआइजी कुमार न्यौपानेले बताएका छन् ।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले गरेकाे प्रदर्शनका कारण लौकही बजार तनावग्रस्त बनेको थियाे । पूर्वपश्चिम राजमार्गस्थित लौकही बजारमा मृतक साहको शव राखेर उनीहरुले यातायात ठप्प बनाएका थिए भने सशस्त्र प्रहरी बलको बिटमा आगजनी गरेका छन् ।

यो घटनापछि उत्पन्न तनाव साम्य पार्न प्रशासनले घटनाको छानविन गर्ने प्रतिबद्धता जनाउँदै पीडित पक्षसँग ५ बुँदे सहमति गरेपछि सुनसरी तनाव साम्य भएको हो ।

राज्यपक्षको यस्तो प्रतिबद्धतासँगै प्रशासन र पीडित परिवारबीच ५ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय इनरूवामा भएको छलफलमा पाँच बुँदे सहमति भएको हो । 

कोशी गाउँपालिका उपाध्यक्ष अनितादेवी यादवले दिएको जानकारी अनुसार पाँच बुँदे सहमतिसँगै शव व्यवस्थापन गर्ने र तनाव अन्त्य गर्ने सहमति पनि भएको छ । 

नेपाल–भारत सीमा क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले चलाएको गोली लागेर कोशी गाउँपालिका–१ का ४५ वर्षीय विजय साहको ज्यान गएको थियो । बुधबार बिहान १ः१० बजेतिर उनीमाथि सशस्त्रले गोली प्रहार गरेको हो ।

त्यही घटनाको विरोधमा लौकही बजार क्षेत्र तनावपूर्ण बनेको थियो ।  स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो । 

सशस्त्रले साहको ज्यान दोहोरो भीडन्तमा गएको दाबी गरेको छ । गाउँलेले भने सशस्त्रले गोली हानेर हत्या गरेको आरोप लगाइरहेका थिए । 

पीडित परिवारसहितको सर्वपक्षीय छलफलले घटनाको सत्यतथ्य पत्ता लगाउन सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका अधिकृत प्रतिनिधि सदस्य रहनेछन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको उपाध्यक्ष यादवले जानकारी दिइन् ।

छानबिन समितिको प्रतिवेदनमा सुरक्षा अधिकारीको लापरबाही देखिएमा नियमानुसारको राहत र क्षतिपूर्तिका लागि गृह मन्त्रालयमा सिफारिस गरिने सहमति पनि भएको छ । 

मृतक विजय साहकी श्रीमतीलाई रोजगारी उपलब्ध गराउन प्रमुख जिल्ला अधिकारीले आवश्यक पहलकदमी र सहजीकरण गर्ने सहमति पनि भएको छ । 

त्यस्तै मृतकका छोराले सशस्त्र प्रहरीमा भर्ना हुने इच्छा राखेमा सशस्त्र प्रहरी बल नं १ बराह बाहिनीले नियमानुसार आवश्यक सहयोग र सहजीकरण गर्ने सहमति पनि भएको छ । 

सहमति भएसँगै मृतकको शवलाई पोस्टमार्टमका लागि नेपाल प्रहरीलाई हस्तान्तरण गर्ने र त्यसपछि परिवारले दाहसंस्कार गर्ने सहमति भएको छ । सहमतिसँगै सुनसरी तनाव साम्य बनेको सुनसरी प्रहरीले जानकारी दिएको छ ।

View : 140

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved