विराटनगर । सुनसरी देवानगञ्जस्थित कप्तानगञ्ज झडपमा आइतबार राति ज्यान गुमाएका ओमप्रकाश मेहताका आफन्तजनले सरकारसामु ९ बुँदे माग पेश गरेका छन् ।
मंगलबार मृतक मेहताका परिवारलाई भेट्न देवानगञ्ज–४ स्थित घरैमा पुगेका सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालसहितको प्रशासन तथा सुरक्षा टोलीलाई आफन्तजनले ज्ञापन बुझाएका हुन् ।
देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताले दिएको जानकारी अनुसार पीडित परिवारले ९ बुँदे माग पत्र प्रजिअलाई बुझाएका हुन् ।
पीडित पक्षले प्रमुख जिल्ला अधिकारीसमक्ष राखेका ९ बुँदे मागको पहिलो बुदामा प्रहरीको गोली लागेर ज्यान गुमाएका ओमप्रकाश मेहतालाई तत्काल सहिद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गरिएको छ ।
दोस्रो बुँदामा घटनामा परी गम्भीर घाइते भई विराटनगरका न्युरोलगायत विभिन्न अस्पतालमा उपचाररत जयप्रकाश मेहता, रविन महतोसहितका घाइतेहरूको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्ने ग्यारेन्टी गर्न माग गरिएको छ ।
अर्को बुँदामा पीडितहरूले केही स्थानीयहरूको नाम किटान गरेर कारबाहीको माग गरेका छन् । इलाका प्रहरी कार्यालय देवानगञ्जका इन्चार्ज इन्स्पेक्टर राकेश राईलाई भ्रामक सूचना दिएर बोलाइएको र उनले कुनै सोधपुछ नगरी लाठीचार्ज गर्दा स्थिति बिग्रेको ज्ञापनपत्रमा उल्लेख छ ।
झडपमा टाउको फुटेका इन्स्पेक्टर राईको उक्साहटमा खटिएका सशस्त्र प्रहरीले ताकी–ताकी गोली चलाएको आरोप लगाउँदै घटनामा संलग्न सम्पूर्ण प्रहरी प्रशासनमाथि कडा कारबाहीको माग ज्ञापनमा उल्लेख छ ।
घटनाको दिन दिन साँझ ८ बजेदेखि पटक–पटक बिजुली काटिएको बताउँदै पीडितहरूले गोली हान्ने समयमा समेत बत्ती निभाइएको र विद्युत् प्राधिकरणका ड्युटी कर्मचारीको मोबाइल कल डिटेल तथा घटनामा संलग्न व्यक्तिहरूको कल डिटेल निकालेर छानबिन माग गरिएको छ ।
ज्ञापनमा घटना हुनुभन्दा १५ दिन अघिदेखि नै नयाँ हाट क्षेत्रमा वातावरण बिगार्ने प्रयास भइरहँदा पनि सुरक्षा व्यवस्था नमिलाएको र सीमापारिको अवैध तस्करीको आर्थिक प्रलोभनमा परी एकपक्षीय पक्षधरता देखाएको भन्दै इलाका प्रहरी इञ्चार्ज र सशस्त्र प्रहरीका जिम्मेवार अधिकारीमाथि कारबाहीको माग गरिएको छ ।
त्यस्तै स्थानीय क्षेत्रमा शङ्कास्पद गतिविधि, अवैध हातहतियार र अपरिचित व्यक्तिहरूको आवतजावतलाई नियन्त्रण गर्न पनि माग गरिएको छ ।
प्रहरी र स्थानीय प्रशासनको गैरजिम्मेवारपूर्ण रवैयाका कारण आक्रोशित जनसमुदायले गरेको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीको जिम्मा सरकारले लिनुपर्ने र प्रदर्शनमा उत्रेका मानिसहरूमाथि कुनै पनि प्रकारको झुटा मुद्दा वा कारबाही नगर्ने प्रतिबद्धता राज्यले व्यक्त गर्नुपर्ने माग पनि गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी अर्यालले पीडितका मागहरूप्रति सकारात्मक रहेको भन्दै सामाजिक सद्भाव र शान्तिसुरक्षा कायम राख्नु अहिलेको प्राथमिक आवश्यकता भएको बताए ।
View : 510
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved