Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
आर्थिक

उद्योग प्रतिष्ठानमा ऊर्जा दक्षता बढाउन छलफल

उद्‌घोष संवाददाता
२० कार्तिक २०८२, बिहिवार

विराटनगर । उद्योग प्रतिष्ठानहरुमा ऊर्जा दक्षता अभिवृद्धिका लागि संरचनागत परिवर्तन गर्दा आवश्यक पर्ने वित्तीय स्रोतको व्यवस्थापनका लागि सरोकारवालाहरूबीच छलफल भएको छ ।

उद्योग संगठन मोरङको समन्वयमा नेपाल बैंकर्स एशोसिएशन र जीआईजेड नेपालको आयोजनामा भएको छलफलमा उद्योग व्यवसाय क्ष्ँेत्रले ऊर्जा दक्षता अभिवृद्धि गर्न संरचनागत परिवर्तन गर्नुपर्दा वैंक तथा वित्तीय क्षेत्रबाट लिनुपर्ने वित्तीय सहयोग र त्यसका प्रक्रियाका बारेमा जानकारी गराइएको हो । 

कार्यक्रममा संगठनका अध्यक्ष नन्दकिशोर राठीले ऊर्जा दक्षताले ऊर्जा वचत र वातावरणीय दायित्व मात्र नभई उद्योग व्यवसायको दीर्घकालीन स्थायित्वसँग प्रत्यक्ष सम्बन्ध राख्ने बताए । 

उनले त्यसका लागि निजी क्षेत्र र वित्तीय संस्थाहरूले संयुक्त रुपमा काम गर्नसके ऊर्जा दक्षता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्न सकिने बताए ।

वित्तीय विशेषज्ञ अनल भट्टराईले ऊर्जा दक्षता परियोजनामा लगानीका लागि स्पष्ट नीति, जोखिम मूल्यांकन प्रणाली र प्राविधिक मार्गदर्शन आवश्यक हुने सुझाव दिए । 

उनले बैंकहरू यस क्षेत्रमा वित्त प्रवाह बढाउन इच्छुक भएको र त्यसका लागि उद्योग प्रतिष्ठानले ऊर्जा अडिट गरी संरचनागत परिवर्तनका लागि आवश्यक देखिएका स्थानमा वित्तीय संस्थाबाट आवश्यक प्रक्रिया पूरा गर्दै लगानी व्यवस्थापन गर्न सकिने उल्लेख गरे ।

जीआईजेड–रिपका कार्यक्रम प्रबन्धक डा.सञ्जय गोर्खालीले नेपालमा ऊर्जा दक्षता सुधारका लागि वित्तीय संयन्त्रको अत्यावश्यक बोध गरिएको बताए । 

जीआईजेडले निजी क्षेत्र र बैंकहरूबीचको सहकार्यलाई सुदृढ पार्न नीति तथा प्राविधिक सहयोग गरिएको उनले स्पष्ट पारे ।

छलफल कार्यक्रममा उद्योग संगठनका उपाध्यक्ष सुरेन्द्र गोल्छा, विपिन कावरा र सुवोध कोइराला लगायतले ऊर्जा दक्षता सम्बन्धी परियोजनाहरूमा लगानी प्रोत्साहन गर्न, नीति र क्षमता विकासका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्ने बताए । 

संगठनका ऊर्जा समितिका संयोजक सन्तोष भगत र कार्यसमिति सदस्य सृजन प्याकुरेलले ऊर्जा दक्षता प्रवद्र्धनका लागि आगामी दिनमा व्यवहारिक वित्त संयन्त्र तयार गर्न सवै क्षेत्रको सहकार्य जरुरी रहेको बताएका थिए । 

कार्यक्रममा विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक, वित्तीय संस्थाका प्रतिनिधि, चार्टर्ड एकाउन्टेन्टहरूको सहभागिता रहेको जनाइएको छ ।

View : 223

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved