विराटनगर । परम्परागत बाजा तथा सीप संरक्षण गर्ने उद्देश्यले विराटनगरमा पञ्चेबाजा तालिम सुरु भएको छ । राष्ट्रिय उपभोक्ता मञ्च मोरङ र समृद्धि नेपालको आयोजनामा १५ दिने तालिम सुरु भएको हो ।
महानगरको ८ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा सुरु भएको पञ्चेबाजा तालिमको विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले उद्घाटन गरिन् ।
तालिममा २० जना महिलाहरूको सहभागिता रहेको जनाइएको छ । सो अवसरमा बोल्दै विराटनगर ८ का वडाध्यक्ष राम पोखरेलले परम्परागत बाजा तथा सीप संरक्षण गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको बताए ।
उनले तालिमबाट दक्षता प्राप्त गरी पञ्चेबाजालाई व्यवसायिक रोजगारीको रुपमा अपनाउन चाहनेहरूका लागि आवश्यक वाद्यवादनको प्रबन्ध समेत वडा कार्यालयले नै गरिदिने बताए ।
सहभागीलाई पथरीबाट आमन्त्रण गरिएका दुईजना प्रशिक्षकहरूले प्रशिक्षण दिने जनाइएको छ ।
कार्यक्रममा समृद्धि नेपालकी अध्यक्ष माया ओझा, विनायक टोल गणेश मन्दिरका अध्यक्ष राजन थापा, राष्ट्रिय उपभोक्ता मञ्च मोरङकी उपाध्यक्ष भूमिका गिरी, कार्यपालिका सदस्य ताराकुमारी राय, वडा सदस्यहरू पवित्रा विश्वकर्मा, भुवनेश्वर राजवंशी र समाजसेवी राजन भण्डारी लगायतको सहभागिता थियो ।
View : 122
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved