विराटनगर, ३० कात्तिक : मोरङको उर्लाबारी नगरपालिका–७ मा गत आइतबार राति भएको आगलागी नियन्क्रण गर्ने त्रममा खटिएका प्रहरीसहित २८ जना घाइते भए । उक्त आगलागीको घटनामा मानवीय क्षति हुन नदिन तत्काल उद्धारका क्रममा खटिएका प्रहरी र वरिपरिका सर्वसाधारण नै ठूलो संख्यामा घाइते भए ।
घाइते भएका प्रहरीसहित २५ जनाको काठमाडौंमा उपचार जारी छ । स्थानीय दीपक कार्कीको घरमा रहेको स्नेहा ज्वेलर्समा भएको आगलागी नियन्त्रण गर्न खटिएका प्रहरीसहित २८ जना घाइते भएका हुन् ।
बन्द रहेको सटर खोल्ने क्रममा सुन पसलमा रहेको ग्याँस बिस्फोट हुँदा अचानक फैलिएको आगोको लप्काले जलेर घाइते भएकाहरूलाई नेपाली सेनाको जहाजबाट काठमाडौं पुर्याएर कीर्तिपुरस्थित वर्न हस्पिटलमा उपचार भइरहेको जनाइएको छ । घाइतेहरूमध्ये सात जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई आईसीयू कक्षमा राखेर उपचार भइरहेको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले बताए ।
स्नेहा ज्वेलर्समा आगलागी हुनु अगाडि नै मंगलबारेस्थित एउटा घरमा पनि आगलागी भएको थियो । आगलागीको जानकारी आएकोले उर्लाबारी नगरपालिकामा रहेको दमकल मंगलबारेतिर गइसकेको थियो ।
त्यसको केही बेरपछि उर्लाबारी–७ मा पनि आगलागी सुरू भएको जानकारी आएको मेयर खरेलले बताए । बजार क्षेत्रमै आगलागी भएका कारण धेरै मानिसहरू त्यतै नियन्त्रणका लागि केन्द्रित भए । तर, दमकल र केही सुरक्षाकर्मीहरू भने मंगलबारेतिर गइसकेका कारण त्यहाँ आगो नियन्त्रण गर्न केही ढिलाई भइसकेको थियो । आगलागी नियन्त्रणका लागि दमक र कानेपोखरीबाट दमकल बोलाउँदासम्म आगो सटरभित्र फैलिइसकेको थियो ।
आगलागी भएको घरको माथिल्लो तलामा मानिसहरू समेत भएका कारण इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले स्थानीयहरूको सहयोगमा उनीहरूको उद्धारका लागि सटर फोड्ने र त्यहाँको आगो निभाउने योजना बनायो । तर सटर फोड्ने तरखर गर्दागर्दै भित्र बिस्फोट भएको र आगोको लप्काले उद्धार र नियन्त्रणमा खटिएका प्रहरी र सर्वसाधारण घाइते भएको मेयर खरेलले जानकारी दिए ।
‘सटरभित्र सुन पसलमा प्रयोग हुने ग्याँसको सिसिण्डर पड्किएर ठूलो ज्वाला बाहिर निस्कियो, जसका कारण धेरै मानिसहरू घाइते हुनु पुगे’ मेयर खरेलले भने, ‘सुरक्षाकर्मी र सर्वसाधारण घाइते भएपछि आगो नियन्त्रणमा लिनै कठिन भएको थियो, दमकलको सहयोगमा बल्लबल्ल आगो नियन्त्रणमा आयो ।’
विराटनगरका अस्पतालहरूमा ल्याएर उपचाररत १४ जनालाई सोमबार सेनाको जहाजबाट काठमाडौं पुर्याइएको हो । थप एकजनालाई नियमित उडानबाट उपचारका लागि काठमाडौं लगिएको जनाइएको छ । त्यसैगरी विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार गराइरहेका १० जनालाई मंगलबार भद्रपुर विमानस्थलबाट नेपाली सेनाकै जहाजमा काठमाडौं लगिएको छ ।
गम्भीर घाइते भएकाहरूको शरीरको ६५ प्रतिशतसम्म भागमा जलन भएको जनाइएको छ । केहीको अवस्था भने सामान्य रहेको मेयर खरेलले जानकारी दिए । घाइते हुनेहरूमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हबल्दार मनबहादुर घिसिङ, प्रहरी जवान दिलकुमार आचार्य र ऋद्धिकिरण राई छन् ।
उर्लाबारी–७ मा आगलागी भएका कारण घाइते भएका अन्य व्यक्तिहरू पनि सोही वडाका हुन् । बन्द रहेको सटर खोल्दा आगोको लप्काले सडक नै पार गरेर अर्कोतिर रहेका मानिसहरूलाई समेत जलन भएको प्रत्यक्षदर्शीहरूले बताएका थिए ।
मंगलबार दोस्रो चरणमा काठमाडौं पुर्याइएका सुजन सेन्दाङ, लालबहादुर लिम्बू, कविराज दाहाल, तपन पण्डित, विक्रम साह, प्रकाश लिम्बू, रूकुमबहादुर कार्की, नवीन थापा, हेमकुमार दाहाल र करण संग्रौला उर्लाबारी–७ कै स्थानीय हुन् ।
विराटनगरस्थित अस्पतालहरूबाट थप उपचारका लागि काठमाडौं लगिएकाहरूमा कुमार तामाङ, सलिम मन्सुरी, दिनेश शर्मा, शिवकुमार बिक, दीपेन्द्र कार्की, रामेश्वर मरिच, विशाल बस्नेत, कौशल गुरूङ, नेत्र भण्डारी, तारामणि लिम्बू र राजन लिम्बू छन् । उनीहरूमध्ये तामाङ र पण्डितको अनुहारसहित शरीरको विभिन्न भागमा ६५ प्रतिशत जलन भएको जनाइएको छ ।
घाइतेहरूको उपचारका लागि कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आफैं अस्पतालहरूमा पुगेर पहल गरेका छन् । उनले मंगलबार विर्तामोडको बीएण्डसी हस्पिटलमा उपचाररत १० जनालाई थप उपचारका लागि काठमाडौं लैजान आफैं त्यहाँ पुगेर समन्वय गरेका हुन् ।
View : 166
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved