Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

कोशीमा पनि पर्नेछ मोन्था चक्रवातको असर

शनिबारसम्म धान नकाट्न विपद् प्राधिकरणले किसानहरुमा अपिल गरेको छ ।
उद्‌घोष संवाददाता
१२ कार्तिक २०८२, बुधवार

विराटनगर । किसानले धान काट्ने तयारी गरिरहेकै बेला कोशी प्रदेशसहित देशका विभिन्न भागमा मौसमी प्रतिकूलता निम्तिने भएको छ ।

बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातको असर कोशीका बहुसंख्यक जिल्लाहरुमा देखिने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । त्यसमा अरब सागरबाट भित्रिने पानी पार्ने प्रणाली पनि मिसिने भएको छ ।

तिहार, छठ जस्ता चाडपर्वहरु मनाइसकेका सर्वसाधारण अब धानबाली भित्र्याउने तयारीमा जुटेका छन् । यसपटक बर्खामा रोप्न ढिलाई भएका बाहेक धेरैजसो ठाउँमा धान पाकेर काट्ने भइसकेको अवस्थामा छ । यही बेला पानी पार्ने प्रणाली नेपाल भित्रिने भएपछि किसान चिन्तित छन् । 

बंगालको खाडीमा विकसित मोन्था चक्रवातको असर सबैभन्दा बढी कोशी र मधेश प्रदेशमा पर्ने देखिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबारदेखि शनिबार बिहानसम्म कोशी प्रदेशको मौसम प्रतिकूल हुने चेतावनी जारी गरेको छ । 

मंगलबार प्राधिकरणले जारी गरेको बुलेटिन अनुसार  चक्रवातको प्रभावले कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्लामा हल्कादेखि भारी वर्षाको सम्भावना बढाएको छ । 

उच्च पहाडी तथा हिमाली क्षेत्रमा  हिमपात हुने सम्भावना पनि रहेको छ । कोशीका ससाना नदीमा समेत आकस्मिक बहाव र बाढीको जोखिम उच्च देखिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

‘बंगालको खाडीमा विकसित मोन्था चक्रवातको प्रभाव बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म रहनेछ’, प्राधिकरणले भनेको छ ‘यो अवधिमा कोशी र मधेश प्रदेशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ ।’ 

विभागका अनुसार चक्रवात मोन्था मंगलबार रातिसम्म भारतको आन्ध्र प्रदेशतिर प्रवेश गर्ने क्रममा छ । त्यसपछि कमजोर हुँदै उत्तर–उत्तरपश्चिम सर्दै नेपाल नजिक आउने र नेपालको मध्य तथा पूर्वी भाग, विशेषगरी कोशी प्रदेशको भू–भागमा गहिरो प्रभाव पार्ने अनुमान मौसम पूर्वानुमान महाशाखाको बुलेटिनमा उल्लेख छ । 

कोशी प्रदेशमा रहेका ठूला तथा साना नदीहरुमा र तिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य बढ्ने देखिएको र विशेषगरी चुरे र महाभारत क्षेत्र हुँदै बग्ने ससाना नदी–नालामा आकस्मिक बाढी आउने जोखिम प्राधिकरणले औंल्याएको छ ।

त्यसैगरी, संखुवासभा, ताप्लेजुङ र भोजपुरका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ । केही स्थानमा मध्यम र एक–दुई ठाउँमा भारी हिमपात पनि हुनसक्ने चेतावनी जारी गरिएको छ ।

मौसमी प्रणालीको प्रभावका कारण सडक तथा हवाई यातायात, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्ने अनुमान गरिएको छ । खेतको धान बाली अझै नकाटिएका ठाउँहरूमा हानी हुन सक्ने भन्दै विभागले किसानलाई सतर्क रहन आग्रह गरेको छ । 

प्राधिकरणले सम्भावित जोखिमका लागि प्रदेश र स्थानीय तहलाई उच्च सतर्कतामा रहन आह्वान गरेको छ । 

प्राधिकरणले  अत्यावश्यक नभई सकेसम्म यात्रा नगर्न, डुबान जोखिम भएका बस्तीका बासिन्दाले सुरक्षित स्थान पहिचान गरी तयारी राख्न, नदी किनारका बासिन्दालाई  राति पनि सतर्क रहन भनेको छ । त्यस्तै  धान काटिसकेको भए बाली सकेसम्म चाँडो भित्र्याउन र नकाटेको भए धान तत्काल नकाट्न पनि भनेको छ । 

विभागका प्रवक्ता रामप्रसाद पौडेलका अनुसार कोशी प्रदेशका नदीहरूको सतर्कता तह नाघ्ने सम्भावना छ । नदी किनारका बस्तीहरू विशेष जोखिममा रहेको उनको भनाइ छ । 

चक्रवात मोन्था कमजोर हुँदै गए पनि त्यसको प्रभाव शुक्रबारसम्म रहिरहने बताइएको छ । मौसमविद्हरूले यस अवधिमा कोशी प्रदेशका नागरिकलाई आवश्यक सतर्कता अपनाउन र विभागका अद्यावधिक सूचना पालना गर्न आग्रह गरेका छन् ।

View : 577

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved