विराटनगर । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश समितिको आयोजनामा भदौ २७ गतेदेखि सुरु हुने कृषि एक्स्पो २०८१ को तयारी तीव्र्र पारिएको छ । एक्स्पोलाई सफल बनाउन आइतबार जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरिएको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, सशस्त्र प्रहरी टंकिसिनवारीका प्रमुख प्रहरी उपरीक्षक विश्व खड्का लगायतको उपस्थितिमा एक्स्पोको सुरक्षा व्यवस्थाबारे छलफल गरिएको जनाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले चारदिने कृषि एक्स्पो आयोजना गर्दैछ । मोरङको कटहरीस्थित कृषि थोक बजारमा हुने कृषि एक्स्पोलाई सफल पार्न महासंघले सवै क्षेत्रसँग समन्वय र सहकार्य गर्दै आएको जनाइएको छ ।
महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउतको नेतृत्वमा महासंघको टोलीले १४ वटै जिल्लाका जिल्ला तथा नगर उद्योग बाणिज्य संघ, वस्तुगत संघ संगठनहरुसँग अन्तरक्रिया गरिसकेको छ । एक्स्पो स्थलमा स्टल निर्माणको तयारी तीव्र्र पारिएको जनाइएको छ ।
१३० वटा स्टल रहने एक्स्पोमा भारतको विहार सरकारको कृषि विभागले समेत १० वटा स्टल राख्ने तयारी गरेको छ । महासंघले विहारस्थित उद्योग बाणिज्य संघसँग पनि एक्स्पोका लागि सहकार्य गरेको छ । एक्स्पोमा विहार कृषि विज्ञहरुको सहभागीता रहने र उनीहरुले कृषि क्षेत्रको विकासका सम्भावनाबारे प्रस्तुतीकरण गर्ने जनाइएको छ ।
महासंघका प्रदेश अध्यक्ष राउतले विगतमा काठमाडौं र चितवनमा मात्रै सीमित रहेको कृषि एक्स्पोलाई यसपटक कोशी प्रदेशमा पहिलो पटक आयोजना गरिएको र त्यसका लागि तिनै तहका सरकार, दातृ निकाय र नियोगहरुले समेत सकारात्मक सहयोग गरेको जानकारी दिए । त्यसैगरी नेपाल कृषि बजार विकास कार्यक्रम (सहज) र कटहरी गाउँपालिकासँग विशेष सहकार्य रहेको बताए ।
यस कृषि एक्स्पोमा कृषि क्षेत्रका नवीनतम् प्रविधि, कृषि उत्पादन, पशुपंक्षीका दाना, भेटनरी लगायतका वस्तुहरूको प्रदर्शनी हुने जनाइएको छ । देश विदेशका कृषि विज्ञहरूले प्यानल छलफलका माध्यमबाट बदलिंदो कृषि क्षेत्रका बारेका बहस गर्ने जनाइएको छ ।
महासंघले एक्स्पोका माध्यमबाट कृषक र कृषि व्यवसायीको मिलन गराउँदै कृषकले उत्पादन गरेका वस्तुहरूको प्रवर्द्धन गर्ने र त्यसलाई क्रमशः उद्योग स्थापनातर्फ प्रेरित गर्ने मुख्य उद्देश्य रहेको कार्यकारी निर्देशक राधारमण भण्डारीले जानकारी दिए । उनले एक्स्पोले कृषक र उद्योगीहरू बीचको समन्वयलाई बलियो बनाउने विश्वास व्यक्त गरे ।
महासंघले एक्स्पोमा सहभागी र अवलोकन गर्न आउने अन्तर जिल्लाका सहभागीहरूलाई निःशुल्क खाना तथा आवासको व्यवस्था जनाइएको छ । कृषि एक्स्पो खेती किसानी तथा पशुपंक्षी पालन गर्ने आम कृषकहरुका लागि उपयोगी रहने भण्डारीले बताए ।
View : 111
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved