काठमाडौं । पछिल्लो करीब दुई सातामा ३० हजार मेट्रिक टन खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको व्यवसायीहरुको दाबी छ । दैनिक औसत १०० भन्दा बढी बुलेट ग्यास आयात भइरहेको दाबी उद्योगीहरूले गरेका छन् । तर, आपूर्ति पर्याप्त देखिए पनि काठमाडौं उपत्यकासहित विभिन्न स्थानका उपभोक्ता अझै ग्यासका लागि लाइन बस्न बाध्य छन् ।
नेपाल आयल निगमको टेकु स्थीत पुरानो कार्यालयमा दिनहुँजसो ग्यास साट्ने आउने उपभोक्ताको लामो लाइन छ । अन्य डिपो र पसलमा समेत ग्यास नपाइएपछि उपभोक्ता हैरान भएका छन् । ग्यास आयात र बजारमा देखिएको अभावबीचको अन्तरले अहिले मुख्य प्रश्न उठेको छ– समस्या ग्यास आपुर्तिको हो कि वितरण प्रणालीको ?
एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दका अनुसार असार ३१ गतेदेखि पछिल्लो १६ दिनमा करिब ३० हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ । यही गतिमा आयात भइरहे साउन महिना भित्रमा मात्रै करिब ५० हजार मेट्रिक टनसम्म ग्यास भित्रिन सक्ने उनको भनाइ छ ।
‘असार ३१ गतेदेखि नेपालमा दैनिक बढीमा १२५ वटासम्म बुलेट ग्यास भित्रिने गरेका छन भने औसतमा १०५ वटासम्म बुलेट आइरहेको छ,‘ उनले बताए । उनका अनुसार सामान्य अवस्थामा नेपालमा दैनिक ८० देखि ९० वटा बुलेट ग्यास पर्याप्त हुन्छ । अहिले सामान्य अवस्थाभन्दा बढी आयात भइरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन् ।
उद्योगीहरूका अनुसार अहिले देखिएको मुख्य समस्या ग्यास आपूर्तिभन्दा पनि खाली सिलिन्डर व्यवस्थापनमा देखिएको छ । १४.२ केजीको सिलिन्डर पुनः सहज भएपछि लामो समयदेखि खाली रहेका सिलिन्डर एकैपटक साट्न आउँदा बजारमा चाप बढेको उनीहरूको भनाइ छ ।
अध्यक्ष चन्दका अनुसार ग्यास भण्डारण गर्ने माध्यम नै सिलिन्डर भएकाले खाली सिलिन्डर पर्याप्त मात्रामा उपलब्ध नभए आपूर्ति प्रभावित हुन्छ । ‘ग्यास कि बुलेटमा हुन्छ कि सिलिन्डरमा हुन्छ । खाली सिलिन्डर नफर्किएसम्म बजारमा सहज आपूर्ति गर्न कठिन हुन्छ,‘उनले भने ।
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर भने अहिलेको अवस्था ग्यास अभावभन्दा पनि अचानक बढेको माग व्यवस्थापनसँग सम्बन्धित रहेको बताउँछन् । उनका अनुसार नेपालमा अहिले मासिक करिब ४५ हजार मेट्रिक टन एलपी ग्यास खपत हुन्छ । पछिल्लो समय खपतअनुसारकै परिमाणमा ग्यास आयात भइरहेको उनले बताए ।
‘फागुनमा ५१ हजार मेट्रिक टन ग्यास आयात हुँदा पनि बजारमा अभाव थियो । त्यसपछि चैतमा ३८ हजार, वैशाखमा ३२ हजार र जेठमा ३३ हजार मेट्रिक टन आयात हुँदा पनि ठूलो समस्या देखिएन,‘ ठाकुरले भने । उनका अनुसार असारमा करिब ४४ हजार मेट्रिक टन र साउन १५ गतेसम्म २६ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ ।
निगमका अनुसार १४.२ केजीको सिलिन्डर पुनः उपलब्ध भएपछि धेरै उपभोक्ता एकैपटक बजारमा आएका कारण माग अस्वाभाविक रूपमा बढेको हो । ‘जसको घरमा खाली सिलिन्डर थियो, सबैले एकैपटक साट्न खोज्दा बजारमा चाप बढ्यो,‘ ठाकुरले भने ।
उनका अनुसार केही उपभोक्ताले ७.१ केजीको सिलिन्डर प्रयोग गर्दा पनि अपेक्षित परिणाम नपाएको गुनासो गरेका थिए । कतिपय अवस्थामा सिलिन्डरको तौल पुगे पनि आवश्यक प्रेसर नपुग्दा ग्यास प्रयोगमा समस्या देखिएको उनले बताए ।
बजारमा ग्यास नपाएपछि काठमाडौंको टेकुस्थित नेपाल आयल निगमको परिसरबाट उद्योगहरूले प्रत्यक्ष बिक्री सुरु गरेका छन् । नेपाल ग्यास, एभरेस्ट, सुगम, एचपी र श्रीरामलगायत कम्पनीले त्यहाँबाट बिक्री गरिरहेका छन् ।
निगमले भने आफैं ग्यास बिक्री नगरेको स्पष्ट पारेको छ । डिलरबाट ग्यास नपाएका उपभोक्तालाई सहज बनाउन उद्योगहरूलाई निगमको स्थान प्रयोग गर्न दिइएको प्रवक्ता ठाकुरले बताए ।
तथ्यांकले ग्यास आयात भइरहेको देखाउँछ भने उपभोक्ताको अनुभवले ग्यास अभाव देखाइरहेको छ । यसले नेपालको एलपी ग्यास व्यवस्थापनमा आपूर्ति मात्र होइन, वितरण प्रणाली, सिलिन्डर व्यवस्थापन र बजार अनुगमन पनि उत्तिकै महत्वपूर्ण रहेको देखाएको छ ।
View : 45
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved