Biratnagar, Morang, Nepal
१९ चैत २०८१, मङ्गलवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

काठमाण्डौंमा पूर्व राजावादीहरुको अनियन्त्रित प्रदर्शन, एक पत्रकारसहित दुईको मृत्यु

उद्‌घोष सम्वाददाता
१६ चैत २०८१, शनिवार

काठमाडौँ । राजा फर्काउने अभियानमा लागेका पूर्व राजावादीहरुको समुहले शुक्रबार काठमाडौंमा गरेको हिंसात्मक प्रदर्शनका क्रममा एक पत्रकारसहित दुईजनाको ज्यान गएको छ । घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तीनकुने क्षेत्रमा भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो । त्यसैगरी रिपोर्टिङका क्रममा रहेका एभिन्यूज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको प्रदर्शनकारीहरुले निजी घरमा गरेको आगजनीमा जलेर मृत्यु भएको जनाइएको छ । 

पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।

प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ ।

सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।

यसैगरी नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ । विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

View : 102

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved