Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

समय घर्किएपछि ‘शेखर आह्वान’

शेखरले पार्टी विभाजनको पछाडि विदेशी चलखेलसमेत जिम्मेवार रहेको दाबी गरे । कांग्रेसलाई एकतावद्ध राख्ने आफ्नो प्रयास सफल हुन नसकेको स्वीकार गर्दै यस प्रक्रियामा देखिएका आन्तरिक अन्तरविरोधसँगै राजधानी केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्रले पार्टीलाई कमजोर बनाएको उल्लेख गरेका हुन् ।
उद्‌घोष संवाददाता
२ माघ २०८२, शुक्रवार

विराटनगर । नेपाली कांग्रेसमा संस्थापनइतर पक्षका नेता डा. शेखर कोइरालामाथि यसपटक निर्णायक घडीमा चुकेको भनेर आलोचना भइरहेको छ ।

आफ्ना धेरै सहयोगी विश्वासपात्रहरू गुमाएका उनले अन्तिम समयमा शेरबहादुर देउवालाई साथ दिएपछि उनको नेतृत्व क्षमतामाथि नै ठूलो प्रश्न खडा भइरहेका बेला शेखरले पार्टी एकताको आह्वान गरेका छन् । 

यद्यपि उनको आह्वान त्यस्तो बेलामा भएको छ, जतिबेला दोसं्रो विशेष महाधिवेशनले कुनै बेला शेखर टिमकै बहुसंख्यक नेतालाई सभापतिदेखि पदाधिकारीहरुसम्म बनाइसकेको छ । 

कोइरालाले दोस्रो विशेष महाधिवेशनपछि पार्टीभित्र देखिएको दूरी अन्त्य गर्दै सबैलाई कांग्रेसमै फर्कन आह्वान गरेका छन् । 

बिहीबार सार्वजनिक विज्ञप्तिमा उनले पार्टीभित्र सुधारको यात्रा रोकिने नभए पनि अहिलेको प्राथमिकता एकता भएको बताएका छन् । 

‘पार्टीभित्र गर्नुपर्ने सुधारका प्रक्रिया रोकिने छैनन् । तर, अहिले म सबैलाई घर फर्कन, कांग्रेसमै फर्कन आह्वान गर्छु । यहाँ जीत–हार कसैको छैन । हामी सबै मिलेर अगाडि बढ्न सक्छौं,’ कोइरालाले भनेका छन् ।

उनले पछिल्ला घटनाक्रममा दोषी–निर्दोष छुट्याउने बहस अहिले नगर्ने स्पष्ट पारे । 

‘दोष कसको भन्ने कुरा गरेर राष्ट्रिय राजनीतिलाई थप धुमिल बनाउन म चाहन्न । हामी सबै कतै न कतै चुकेका छौं भन्ने स्वीकार गर्न मलाई कुनै संकोच छैन,’ उनले उल्लेख गरेका छन् ।

शेखरले पार्टी विभाजनको पछाडि विदेशी चलखेलसमेत जिम्मेवार रहेको दाबी गरे । कांग्रेसलाई एकतावद्ध राख्ने आफ्नो प्रयास सफल हुन नसकेको स्वीकार गर्दै यस प्रक्रियामा देखिएका आन्तरिक अन्तरविरोधसँगै राजधानी केन्द्रित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय षड्यन्त्रले पार्टीलाई कमजोर बनाएको उल्लेख गरेका हुन् ।

विज्ञप्तिमा कांग्रेस फुट्नुमा को दोषी वा को निर्दोष भन्ने बहसमा नजाने स्पष्ट पारेका छन् । 

‘हामी सबै कहीँ न कहीँ चुकेका छौं’ भन्दै उनले घटेका घटनाहरूको वस्तुपरक समीक्षा र व्यक्तिहरूको भूमिकाको मूल्यांकन इतिहासले गर्ने बताए । उनले कांग्रेसलाई कमजोर पार्न चाहने शक्ति सक्रिय रहेको र त्यसलाई रोक्न नसकिएको स्वीकार गरेका छन् ।

‘दृश्यमा देखिएका र नदेखिएका अनेकन अन्तरविरोधबाट हामी यसबीच गुज्रियौं’ विज्ञप्तिमा उल्लेख छ । यसले कांग्रेस विभाजनमा विदेशी चलखेल रहेको उनको संकेतलाई थप स्पष्ट बनाएको छ ।

डा. कोइरालाले यसअघि पनि विभिन्न सार्वजनिक कार्यक्रममा नेपालमा विदेशी प्रभाव र हस्तक्षेपका कारण राजनीतिक अस्थिरता बढ्ने गरेको टिप्पणी गर्दै आएका छन् ।

यस कालखण्डको मूल्यांकन इतिहासले गर्ने बताए । राजधानी केन्द्रित शक्ति खेल, आन्तरिक र बाह्य प्रभावका कारण कांग्रेस कमजोर हुन पुगेको स्वीकार गर्दै उनले यस्तो अवस्थामा बीपी कोइरालाको दृष्टिकोण स्मरण गर्नुपर्ने बताए । 

‘बीपी कोइराला नियतिमा विश्वास गर्नुहुन्थ्यो, आज कांग्रेस एक ढिक्का भएर अघि बढ्न नसक्नु पनि त्यही नियतिको कठोर सत्य हो,’ उनले भनेका छन् ।

शेखर कोइरालाले अब कांग्रेससामु आसन्न निर्वाचन र आठ दशक लामो पार्टी इतिहासको गरिमा जोगाउने जिम्मेवारी रहेको बताए । समय छोटो भएपनि जनताको घरदैलोमा पुगेर कांग्रेसको पक्षमा मत माग्ने अभियानमा आफू सक्रिय रहने उनको भनाइ छ ।

विज्ञप्तिमार्फत उनले आम कार्यकर्तालाई लक्षित गर्दै कांग्रेस साझा इतिहास, साझा नेता र सहिदहरूको बलिदानबाट बनेको पार्टी भएको स्मरण गराएका छन् । ‘हामी यही पार्टीमा बसेर नेपालको भविष्य निर्माण गर्नुपर्छ’ उनले विगतमा पार्टी विभाजन भए पनि नेपाली जनताले कांग्रेसप्रतिको भरोसा नछोडेको उल्लेख गरेका छन् । 

‘हामी सबै घर फर्कौं, कांग्रेसमा फर्कौं’ भन्दै जित–हारको मानसिकता त्यागेर सबैका लागि विन–विन अवस्थाबाट अघि बढ्न आह्वान गरेका छन् । तर उनले घर फर्कौं भनेको कांग्रेस विशेष महाधिवेशनपछिको अवस्थामा पुगेका दुई कांग्रेस मध्ये कुन कांग्रेस भन्ने कुरा स्पष्ट पारेका छैनन् ।

View : 212

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved