विराटनगर । सहकारीको रकम हिनामिना प्रकरणमा नाम जोडिएर मुद्दा नै दायर भएपछि ‘फरार’ रहेकी लेखा समिति सभापति ऋषिकेश पोखरेल पत्नी अञ्जला कोइराला अदालतमा उपस्थित हुने तयारीमा छिन् ।
एमाले सांसद पोखरेल निकट एक नेताले दिएको जानकारी अनुसार अञ्जला ‘आजभोलि नै अदालत जाने तयारीमा’ छिन् ।
मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको २२ करोडभन्दा बढी रकम हिनामिना प्रकरणमा प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिललाई बुझाएको थियो ।
मंसिर २७ मा कोइरालासहित २६ जनाविरूद्ध मुद्दा दायर भएको थियो । पुस २ मा अदालतले उनीहरूविरूद्ध पक्राउ पुर्जी (म्याद पुर्जी) जारी गरेको थियो । त्यसयता आफूले पढाउने महेन्द्र रात्री विद्यालयबाट बिदा लिएर अञ्जला फरार छिन् ।
उनी दुई सातायता विद्यालयमा अनुपस्थित छिन् । ‘उहाँ स्कुल नआउनुभएको १४–१५ दिन भयो’, महेन्द्र रात्री विद्यालय स्रोतले भन्यो ‘पहिले पाँच दिनको बिदा लिनुभएको थियो । त्यसपछि फेरि बिदा थपेर उहाँ आउनुभएको छैन ।’
प्रहरीका नजरमा ‘फरार’ रहेकी कोइराला विद्यालयमा बिदा मागेर ‘भूमिगत’ बनेको दुई सातापछि अदालत जाने तयारीमा रहेको एमाले स्रोतको भनाइ छ ।
मोरङ एमालेका एक नेताले दिएको जानकारी अनुसार यसबारेमा अहिले विराटनगरमै रहेका सभापति पोखरेलले आफू निकट केही नेताहरूसँग छलफलसमेत गरेका थिए ।
‘सकेसम्म शुक्रबार नै नत्र एक दुई दिनभित्रै उहाँ अदालतमा उपस्थित हुने कुरा भएको छ’, ती नेताले भने ‘उहाँ दोषी प्रमाणित हुने आधार केही छैन । यत्ति हो तत्कालका लागि केही बद्नामी भयो । अदालतमा उपस्थित भएपछि धरौटीमा छुट्ने सम्भावना रहेको छ ।’
यदि अदालतले धरौटी माग गरेको खण्डमा आफ्नो भागमा पर्ने रकम धरौटी बुझाउने तयारीमा अञ्जला लागेको ती नेताको भनाइ छ ।
‘अदालतले थुनामा पठाइहाल्ने सम्भावना देखिएको छैन भन्ने अहिलेसम्मको अनुमान छ’ ती नेताले थपे ‘सहकारीको रकम हिनामिना भएकै छ । तर, यसको सबै दोष अध्यक्षले खेप्ने कागजात र प्रमाणहरूले दिने देखिन्छ । मुद्दा किनारा लाग्न कति समय लाग्छ बेग्लै कुरा हो । त्यसैले अब उहाँ अदालत जानुहुन्छ ।’
पुस २ मा मोरङ जिल्ला अदालतले सात दिनभित्र अदालतमा उपस्थित हुन पुर्जी जारी गरेको म्याद सकिएपछि अहिले उनको म्याद तामेलीको अवधि सुरू भएको छ ।
निरन्तर उठिरहेको आलोचनाको स्वर र शिक्षकको जागिरे बाध्यताले पनि अन्जलाले यो अवधिको ३५ दिन नकटाउने एमाले स्रोतको भनाइ छ ।
‘म्याद तामेलीको अवधि ३५ दिनको हुन्छ तर यो म्यादभन्दा अगाडि नै उहाँ अदालत जाने कुरा छ’, स्रोतले भन्यो ‘मिडियामा भइरहेको आलोचना, स्कुलको जागिरको कुरा पनि छ ।’
उमागौरी सहकारी ठगी प्रकरणमा पोखरेल पत्नी कोइरालासहित, रंगेली –२ का वडाध्यक्ष सन्तलाल खवास, अध्यक्ष शम्भुप्रसाद रौनियारलगायत विरूद्ध मुद्दा दायर भएको थियो ।
सरकारी वकिलको कार्यालय मोरङले सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ बिगो असुल गर्न माग गरेको छ ।
अञ्जला ‘फरार’ रहेकोबारे जिल्ला प्रहरी कार्यालय मोरङ पनि ‘जानकार’ देखिन्छ ।
‘उहाँहरू सार्वजनिक हुनुभएको छैन’, जिल्ला प्रहरीका एक अधिकृतले भने ‘आजभोलि नै अदालत जाने तयारी हुनसक्छ । त्यसको विकल्प पनि छैन ।’ प्रहरीले भने अदालतले धरौटी मागेर छाड्छ कि थुनामा राख्न भन्छ भन्ने कुनै निश्चितता नहुने बताएको छ ।
‘अदालतको विषयमा प्रहरीले अनुमान गर्ने कुरा हुँदैन जे पनि हुनसक्छ’ ती अधिकृतले भने ‘तर, उहाँहरूलाई हामीले देखीदेखी छाडेको भने होइन ।’ ती अधिकृतका अनुसार अदालतको अहिलेको पुर्जीले अञ्जलालाई पक्राउ गरेर प्रहरी हिरासतमा लैजानु भनेको होइन, अदालतमा उपस्थित हुनु भनेको हो ।
‘त्यसैले अदालत जानैपर्ने बाध्यकारी अवस्था छ’, ती अधिकृतले थपे ‘छिटै जाने भन्नेसम्म सुनिएको हो । यही दिन जाने भन्ने जानकारी हामीलाई छैन ।’
View : 149
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved