विराटनगर । खेलकुदको जग बसाउन महत्वपूर्ण योगदान गर्ने विद्यालय तहको प्रतियोगितात्मक कार्यक्रम अन्तरगत निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मोरङले भव्य रुपमा ‘१५औं प्याब्सन स्पोट्र्स मिट–२०८२’ तयारी अघि बढाएको छ ।
विराटनगरमा शुक्रबार विशेष समारोहका साथ खेलकुद महोत्सवको उद्घाटन गर्न लागेको जनाइएको छ । उद्घाटन प्याब्सनका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले गर्नेछन् ।
मंगलबार विराटनगरमा पत्रकार सम्मेलनमार्फत प्रतियोगितामा २३५ विद्यालयका तीन हजार बढी विद्यार्थीले प्रतिष्पर्धा गर्ने प्याब्सन मोरङका अध्यक्ष जगतबहादुर बस्नेतले जानकारी दिए ।
प्रतियोगिता अन्तरगत लामो श्रृङ्खलाका केही खेल भने सुरु भइसकेको जनाइएको छ ।
खेल तालिकाको चापलाई व्यवस्थापन गर्न फुटबल र क्रिकेटका प्रतिस्पर्धाहरू उद्घाटन अगावै सुरु गरिएको अध्यक्ष बस्नेतले बताए । प्रतियोगिता अन्तरगत फुटबल सहिद रंगशालामा खेलाइने छ ।
यसबर्ष समावेश गरिएको क्रिकेट भने विराटनगर जुटमिलको खेल मैदानमा खेलाइने अध्यक्ष बस्नेतले जानकारी दिए ।
प्याब्सन मोरङले २०६३ सालदेखि निरन्तर प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगितामा फुटबल र क्रिकेटसहित भलिबल, बास्केटबल, टेबलटेनिस र एथलेटिक्सका विभिन्न समूहका खेल हुनेछन् ।
करिब २० लाख रुपैयाँको लागतमा प्रतियोगिता सञ्चालन गर्न लागिएको जनाइएको छ । कक्षा १० सम्मको एउटा समूह र कक्षा ११ र १२ को अर्को समूहमा खेल सञ्चालन गरिनेछ ।
प्याब्सनले यस्ता प्रतियोगितामार्फत उदाएका खेलाडीहरूले नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा उल्लेखनीय सफलता प्राप्त गर्दै आएको दाबी गरेको छ ।
View : 188
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved