Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

‘असोजको पहिलो सातादेखि काठमाडौँमा पुनः मेलम्चीको पानी’

उद्घोष सम्वाददाता
१८ भदौ २०८१, मङ्गलवार

काठमाडौँ, १८ भदौ । खानेपानी मन्त्री प्रदीप यादवले आम नागरिकलाई शुद्ध र स्वच्छ खानेपानी उपलब्ध गराउन सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तय गरी कार्यान्वयनमा लगिएको बताएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा सांसद मदनकुमारी साह गरिमाले सोधेकाे प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आम नागरिकलाई सहज रुपमा शुद्ध खानेपानी उपलब्ध गराउन सरकारले अगाडि बढाएको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

हाल बन्द गरिएको मेलम्ची खानेपानी आयोजनालाई आगामी असोजको पहिलो सातादेखि पुनःसञ्चालनमा ल्याई काठमाडौँवासीलाई खानेपानी सुविधा उपलब्ध गराउने उनले बताए । 

मौसममा सुधार आउने वित्तिकै सो आयोजनाको सुरुङमा पानी पठाइने उनको भनाइ छ ।

मेलम्ची खानेपानी आयोजनाको पानी नियमित उपलब्ध हुन नसक्दा वैकल्पिक उपाय अवलम्बन गरेर काठमाडौँवासीलाई खानेपानी उपलब्ध गराइएको उनले बताए । 

मेलम्ची खानेपानी आयोजनाको बाँधस्थललाई सुरक्षित बनाइ नियमित रुपमा खानेपानी उपलब्ध गराउन सरकारले आवश्यक कार्यक्रम अगाडि बढाइएको उनले जानकारी दिए ।

तराई–मधेशमा डिप बोरिङमार्फत खानेपानी उपलब्ध गराइएको भए पनि पछिल्ला दिनमा पानीको स्रोत सुकेका कारण केही समस्या पैदा भएको उनको भनाइ छ ।

अधुरा खानेपानी आयोजना समयमै सम्पन्न गराउन मन्त्रालयले आवश्यक पहल गरिरहेको र आवश्यक बजेट उपलब्ध गराउन अर्थमन्त्रालयलाई आग्रह गरिएको बताए । 

सरकारको स्पष्ट निर्देशन भए पनि विभिन्न मन्त्रालयका फाइल कर्मचारी प्रशासनले अड्काएर राखेको कारण कतिपय आयोजना कार्यान्वयनमा समस्या पैदा भएको खानेपानी मन्त्री यादवको भनाइ छ । रासस

View : 74

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved