Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

सौन्दर्यकर्मीहरूको परीक्षामा मिलेमतोको आरोप

युनियनले भन्यो– ‘मुख्यमन्त्रीकै सचिवालयको दवाबमा धाँधली’

उद्घोष सम्वाददाता
८ फागुन २०८०, मङ्गलवार

लेभल–२ परीक्षामा शक्ति केन्द्रहरूको दवावमा धाँदली गरिएको आरोप लगाउँदै पत्रकार सम्मेलनमा राख्दै युनियनकर्मीहरु । तस्वीर: उद्घोष

विराटनगर । सौन्दर्यकर्मीहरूको लेभल–२ परीक्षा शक्ति केन्द्रहरूको दवावमा धाँधलीपूर्ण रुपमा सञ्चालन गरिएको भन्दै सौन्दर्यकर्मीहरू सम्वद्ध संघ संगठनहरूले विरोध जनाएका छन् ।

उनीहरूले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सचिवालयको प्रत्यक्ष दबावमा विराटनगरको एक इन्स्टिच्यूटका सञ्चालकदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तरगतको राष्ट्रिय सीप परीक्षण समितिका प्रतिनिधिहरू समेतको मिलेमतोमा धाँधलीपूर्ण परीक्षा गराइएको आरोप लगाएका हुन् ।

विराटनगर महानगरपालिका–११ जनपथ टोलस्थित प्राइम इन्स्टिच्युटले परीक्षाका नाममा विगतदेखि नै परीक्षार्थीहरूबाट रकम असुली गर्दै आएको राष्ट्रिय सौन्दर्यकर्मी यूनियन विराटनगर महानगर कमिटी अध्यक्ष भली सुब्बाले आरोप लगाएकी छिन् । पछिल्लो पटक लेभल–२ परीक्षा फागुन ३ गतेबाट सुरू भएको जनाइएको छ । उक्त परीक्षामा निष्पक्ष नभएको अध्यक्ष सुब्बाले दाबी गरिन् ।

सीप परीक्षण समितिबाट आएका मूल्याङ्कनकर्ता र प्राइम इन्स्टिच्युटको मिलेमतोमा मुख्यमन्त्री कार्कीकै सचिवालयको हवाला दिएर परीक्षामा धाँधली भएको रेकर्ड आफूहरूसँग सुरक्षित रहेको सोमबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरूले जानकारी दिएका छन् । सचिवालयको दवावमा फागुन ४ गते भएको परीक्षामा केही परीक्षार्थीहरूलाई छुट्टै गोप्य कोठामा राखेर परीक्षा लिएको उनले बताइन् । 

‘फागुन ४ गतेको प्रतियोगितात्मक परीक्षाको सिफ्टमा ८ जना परीक्षार्थी सामेल भएका थिए, त्यस दिन सामेल भएका परीक्षार्थीहरूमध्ये केहीलाई छुट्टै गोप्य कोठामा राखेर उनीहरूलाई मात्र परीक्षामा उत्तीर्ण गराउने उद्देश्य अनुरुप परीक्षा लिएको बुझेका छौं’ उनले भनिन्, ‘प्रयोगात्मक परीक्षामा परीक्षार्थीहरूलाई एकै ठाउँमा राखेर लिनुपर्ने हो, तर त्यो परीक्षामा परीक्षार्थीहरूबीच विभेद गरिनु गलत कार्य हो ।’

युनियनले प्राइम इन्स्टिच्युटमा यसअघि भएका परीक्षाहरू निष्पक्ष र व्यवस्थित नभएको आरोप लगाएको छ । इन्स्टिच्यूटसँगको आर्थिक प्रलोभनमा परेर मूल्याङ्कनकर्ताहरूले प्रयोगात्मक परीक्षामा सहभागी भएका परीक्षार्थीहरूलाई नियमित विपरीत प्रश्न सोधेर अत्याउने, ‘भाइबा’ (मौखिक प्रश्न) को क्रममा ‘तपाई फेल हुनुभयो, तपाई यस पटक पास हुन सक्नुहुन्न, अर्को पटक परीक्षामा आउनू’ भन्दै मानसिक दवाव दिएको युनियनले दाबी गरेको छ । 

मुल्याङ्कनकर्ताहरूले निष्पक्ष रुपमा परीक्षा सञ्चालन गर्न नसकेको भन्दै धाँधलीपूर्ण परीक्षा खारेज गर्न सौन्दर्यकर्मीहरूले माग राखेका छन् । उनीहरूले विज्ञप्तिमार्फत सीप परीक्षण समितिका मूल्याङ्कनकर्ताहरूमाथि छानबिन हुनुपर्ने समेत माग गरेका हुन् । साथै स्वच्छ र मर्यादित रुपमा परीक्षा गराउने वातावरण सिर्जना गर्न नसक्ने परीक्षा केन्द्र खारेजी गर्न समेत आग्रह गरेका छन् ।

उक्त केन्द्रमार्फत हुने कुनै पनि परीक्षा स्वच्छ, मर्यादित र व्यवस्थित रुपमा हुन नसक्ने दाबी गर्दै अर्को ठाउँमा परीक्षा केन्द्र तोकेर पुनः परीक्षा लिन सीटीईभीटीसँग माग गरेका छन् ।

राष्ट्रिय सौन्दर्यकर्मी युनियन कोशी प्रदेश कमिटीकी सचिव कला डाँगीका अनुसार इन्स्टिच्यूट सञ्चालकहरूले परीक्षापछि ‘मुख्यमन्त्रीज्यूको सचिवालयबाट फोन आएको र पाँच जना पास भइसकेको’ दाबी गरेका थिए । उनले शक्तिको दुरुपयोग गरेर परीक्षालाई अमर्यादित बनाउने कार्यमा मुख्यमन्त्री कार्कीकै संलग्नता देखिएको दाबी गरिन् ।

फागुन ४ गतेको परीक्षापछि प्राइम इन्स्टिच्यूटका व्यक्तिहरूले यूनियनकी उपाध्यक्ष ललिता नेपाललाई कार्यालयमा बोलाएर प्रलोभन देखाएको जनाइएको छ । त्यतिबेलाको कुराकानीको रेकर्ड आफूहरूसँग सुरक्षित रहेको यूयियनले जनाएको छ ।

प्राइम इन्स्टिच्यूटका सञ्चालक नन्दु खबास हुन् । विराटनगरमा विगतदेखि नै सोही इन्स्टिच्यूटलाई परीक्षा केन्द्र तोकेर सौन्दर्यकर्मीहरूको लेभल–१ र लेभल–२ को परीक्षा हुँदै आएको जनाइएको छ ।

युनियनकी अध्यक्ष सुब्बाका अनुसार अन्यत्र तालिम लिएर परीक्षा दिन फारम भर्ने ब्यूटिसियनहरूलाई अनुभव पत्रका लागि इन्स्टिच्यूटले प्रतिव्यक्ति ३ हजार रुपैयाँ असुल्ने गरेको छ । त्यसैगरी परीक्षाअघि एक हप्ताको तालिम लिएको अनुभव बनाउन १५ हजार रुपैयाँसम्म असुल गर्ने गरेको उनीले दाबी गरिन् । यस पटक लेभल–२ परीक्षामा ६० जना ब्यूटिसियनहरू सहभागी भएको जनाइएको छ ।

उनीहरूलाई सीप परीक्षण प्रमाणपत्र समेत उपलब्ध गराउने शर्तमा प्राइम इन्स्टिच्यूटबाट तालिम लिएका परीक्षार्थीहरूलाई उत्तीर्ण गराउन चलखेल भएको नेपाल ट्रेड युनियन महासंघ कोशी प्रदेश कमिटीका अध्यक्ष किशोर धमलाले बताए । उनले स्वरोजगार पेशाका रुपमा ब्यूटिसियन पेशा रहेको र त्यसको सीप परीक्षणका नाममा विगतदेखि नै आर्थिक चलखेल हुने गरेको दाबी गरे ।

‘प्राइम इन्स्टिच्यूटका विषयमा विगतदेखि नै प्रश्न उठ्दै आएको थियो, एउटै परीक्षा केन्द्र तोकिएर परीक्षा लिंदा सीटीईभीटीका मूल्याङ्कनकर्ताहरूमाथि समेत औंला उठाउन सकिने अवस्था बनेको हो’ उनले भने, ‘परीक्षामै सहभागी नभएको व्यक्ति पास गरेका घटनाहरूले मूल्याङ्कनकर्ताहरूको योग्यता र क्षमतामाथि प्रश्न उठेको छ, हामीले परीक्षा निष्पक्ष हुनुपर्छ भनेका छौं ।’

View : 300

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved