विराटनगरका क्यासिनोमा गैर कानुनी जूवा
विराटनगर । नेपालीलाई प्रवेशनै दिन नमिल्ने विराटनगरका क्यासिनोमा गैर कानुनी रूपमा जूवा खेलाएर पक्राउ परेका संचालकलाई कम कारवाही गराउन चलखेल सुरू भएको छ ।
बिग होटलमा सञ्चालित च्याम्पियन जोन र रत्ना होटलमा सञ्चालित गोल्डेन क्वाइन क्यासिनोबाट प्रहरीले आइतबार मध्यरात छापा मारेर सञ्चालकसहित १७ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ परेका क्यासिनो सञ्चालकलाई अनुसन्धान प्रक्रिया छिटो सिध्याएर अदालतबाट धरौटीमा रिहा गराउन राजनीतिक दलका प्रतिनिधिले चलखेल गरेको पाइएको छ । राजनीतिक दलका नेताहरूको संरक्षणमा दुबै क्यासिनो सञ्चालनमा छन् ।
च्याम्पियन जोन क्यासिनोका सञ्चालकद्वय रामकृष्ण गौतम र हरि भट्ट तथा गोल्डेन क्वाइन क्यासिनोका जेनेरल म्यानेजर लोकेन्द्रबहादुर बस्नेत, क्यासिनो खेलाडी पुसेट कलेज विराटनगरका निर्देशक तेजराज गिरीलगायत मोरङ प्रहरीको थुनामा छन् । प्रहरीसँग मिलेमतो हुने गरेकाले यसअघि क्यासिनोका सञ्चालक पक्राउ पर्ने गरेका थिएनन् ।
उनीहरूलाई सोमबारदेखि लागू हुनेगरी सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट प्रहरीले अनुमति लिएको छ ।
यो सात दिनभित्रै अनुसन्धान सकेर अदालतबाट धरौटीमा रिहा गराउने विषयमा जिल्ला, प्रदेश र केन्द्रीय तहका नेताहरूले चलखेल गरेको स्रोतको दाबी छ । प्रहरी नायव उपरीक्षक कोपिला चुडालले भनें अनुसन्धान जारी रहेको बताइन् ।
उद्घोष दैनिकले नेपालीलाई क्यासिनोमा जूवा खेलाएर धेरैको घरबार बर्वाद हुँदै गएको समाचार सार्वजनिक गरेकै दिन प्रहरीले छापा मारेको थियो ।
प्रहरीले एकैसाथ दुबै क्यासिनोमा छापा नमार्दा एउटाबाट धेरै मानिसले भाग्ने मौका पाएका थिए । रत्ना होटलमा छापा मारेको खबर बिग होटलमा पुगेकाले त्यहाँबाट ठूलो संख्यामा नेपाली जूवाडे भगाइएको थियो ।
सोलुखुम्बुमा जन्मिएर काठमाडौ स्थायी घर भएका रत्ना होटलको क्यासिनोका जेनेरल मेनेजर बस्नेत केही वर्ष झापामा किङ्सबेरी होटलमा सञ्चालित क्यासिनोमा म्यानेजरका रूपमा काम गरेका थिए ।
सोही क्यासिनोबाट पक्राउ परेका उदयपुर चौदण्डीगढी–५ का सन्तोष बस्नेतले जेनेरल म्यानेजरलाई भेट्न आएको प्रहरीलाई बताएका छन् । तर, उनी वैदेशिक रोजगारीमा ठगी गरेर जूवामा पैसा उडाउने ब्यक्ति भएको बताइएको छ ।
इटहरीमा म्यानपावर कम्पनी चलाएर बसेका बस्नेत जूवा खेल्न विराटनगर आउने गरेका थिए । झापा दमक–४ का घनश्याम शर्माको साथबाट प्रहरीले ३३ थान जूवा खेल्न प्रयोग हुने क्वाइन बरामद गरेको छ ।
खेलाडीले खेल्नु अघि क्यासिनोलाई रकम बुझाएपछि बिभिन्न मूल्यका क्वाइन पाउँछन् । भारतीय मूल्यका आधारमा दिइने क्वाइनबाटै जूवा खेलिन्छ ।
पुसेट कलेजका निर्देशक गिरीले भने ५–६ महिनाअघि क्यासिनोमा आउँदा छिर्न दिएकाले क्यासिनो खेल्ने बानी परेको प्रहरीलाई बताएका छन् ।
उनी यसअघि पनि क्यासिनोबाटै पक्राउ परेर छुटेको बताइएको छ । जूवामा लत बसेकाले उनको आर्थिक र पारिवारिक समस्या बढेको गिरीलाई नजिकबाट चिन्ने एक ब्यक्तिले बताए ।
रत्नाको क्यासिनोबाट पक्राउ परेका १४ जना मध्ये डान्स सञ्चालक रोशन गिरी र छ जना डान्सर रहेका छन् । अनुसन्धानका क्रममा बिग होटल क्यासिनोबाट पक्राउ परेका तीन जना सुरक्षागार्ड भनें छुटेका छन् ।
हाल हिरासतमा विराटनगर–८ का साजन साह, विराटनगर–७ का पवन गोश्वामी, विराटनगर–१ का कृष्णकुमार कुर्मी, विवेककुमार मण्डल, रामेछापका राज लामा भनिने मणि योञ्जन छन् ।
यस्तै इटहरी–५ का रूपेश दाहाल, वडा ८ का प्रमोद घिमिरे, सुन्दरहरैंचा–४ का आदेश बिक, बुढीगंगा–२ का मोहमद जाकिर हुसेन, कटहरी–४ का सुरज राय छन् ।
View : 254
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved