Biratnagar, Morang, Nepal
२० चैत २०८१, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

डा शेखरको गृह जिल्लामा प्रभाव जमाउँदै गगन

कोइराला पक्षको एकछत्र प्रभाव रहेको र देउवा समूहको पनि राम्रै उपस्थिति रहेको मोरङमा महामन्त्री थापाले प्रभाव विस्तार गरिरहेका छन् ।
उद्‌घोष सम्वाददाता
४ चैत २०८१, सोमवार

विराटनगर । नेपाली कांग्रेसका बहुसंख्यक कार्यकर्ताका लागि मोरङ ‘तिर्थस्थल’ मानिने मुख्य कारण हो, विराटनगरमा रहेको कोइराला निवास । पिताजी कृष्णप्रसाद कोइराला हुँदै मातृका, वीपी र गिरिजाप्रसाद कोइरालासम्मले धानेको कोइराला निवासको विरासत धान्ने अभिभारा पछिल्लो समय डा. शेखर कोइरालाको काँधमा आइपुगेको छ । 

तर, कोइराला परिवारको विरासत तेस्रो पुस्ताको काँधमा आएको डेढ दशक बित्नै लाग्दा त्यो परिवारले जिल्ला पार्टीमै पनि विस्तारै पकड गुमाउँदै गएको छ । 

केही समय अघिसम्म सभापति शेरबहादुर देउवा पक्षले मात्रै चुनौती दिइरहेको मोरङमा पछिल्लो समयमा कोइराला परिवारलाई गगन थापा समूहले पनि बलियो चुनौती पेश गरिरहेको छ । 

यसअघिसम्म कोइराला पक्ष र देउवा पक्षमा मात्रै विभक्त मोरङ कांग्रेसमा अब महामन्त्री गगन थापा समूह पनि बलियो गरी उदाइरहेकोे कांग्रेस नेताहरू नै बताउँछन् । 

कोइराला र देउवा समूहका केही प्रभावशाली नेताहरू पछिल्लो समय खुलेर गगन थापाका पक्षमा उभिन पुगेका छन् । यसले मोरङमा थापाको उपस्थिति बलियो बनाउँदै लगेको हो । 

महामन्त्री गगन थापा १५ औं महाधिवेशनबाट सभापति बन्ने दौडमा छन् । शेखर कोइराला पनि यही होडमा सहभागी छन् । १४ औं महाधिवेशनसम्म यी दुवै नेता एकै प्यानलमा थिए । 

गगनले शेखरको साथ छाडेर आफ्नै समूह बनाउन थालेपछि उनीतिर निकट भएका मोरङका सबैभन्दा हेभिवेट नेता हुन्– अमृत अर्याल । 

कुनै बेला गिरिजाप्रसाद कोइरालाकै राजनीतिक अभिभावकत्वमा हुर्किएका अर्यालले समयक्रममा मोरङमै कोइरालाहरूलाई चुनौती दिएर जिल्ला सभापति जितेका थिए । 

त्यसपछि उनी लगातार सभापति शेरबहादुर देउवाको समूहमा थिए । तर, देउवा समूहमा पनि किनारामा पर्न थालेपछि अर्यालले गगनको साथमा उभिने निर्णय लिएका हुन् । केही समयअघि अर्यालहरूकै सकृयतामा

गगन थापालाई प्रमुख अतिथि बनाएर विराटनगरमा पार्टीको कार्यक्रम गरिएको थियो । 

‘हो, उहाँ महामन्त्री गगन थापाको लाइनमा उभिनुभएको छ’, अर्याल निकट कांग्रेसका एक नेताले भने ‘उहा“मात्रै होइन, देउवा लाइनमा रहेको ठूलो समूह अहिले थापाको पक्षमा उभिन पुगेको छ ।’ 

अर्यालसहित देउवा समूहमा रहेका नेताहरू दिलिप गच्छदार, वीरेन्द्र माझी, शिव ढकाल, प्रभाकर थापा, सुवास भण्डारी लगायत गगनको लाइनमा लामबद्ध भएका हुन् । 

शुक्रबार तराईको होली थियो । त्यही दिन यही समूहले महामन्त्री थापालाई विराटनगर बोलाएर एउटा कार्यक्रम आयोजना गरेको थियो । 

‘अब मुलुक र कांग्रेसको आशा भनेकै गगन हुन्, त्यसैले हामी उहाँको नेतृत्व स्थापित हुनुपर्छ भन्ने पक्षमा उभिएका हौं’, लामो समयदेखि देउवा पक्षमा रहेका एक नेताले भने । 

देउवा समूहबाट मात्रै होइन, स्वयम् शेखर कोइराला समूहमै रहेका नेताहरू पनि गगन थापा पक्षमा उभिन थालेको कांग्रेस नेताहरूको भनाइ छ । 

प्रदेश सांसद मानबहादुर लिम्बू, प्रदेशसभाका पूर्वसदस्य सुयर्माराज राईलगायतले आफूलाई थापाको पक्षमा उभ्याइसकेको स्रोतको भनाइ छ । 

‘मानबहादुरलाई प्रदेशको स्वास्थ्य मन्त्री बनाउने निर्णयबाट शेखर कोइराला पछि हट्नुको मुख्य कारण पनि उहाँ गगनको पक्षमा उभिएकैले हो’, स्रोतले भन्यो, ‘अन्यथा कोइराला समूहबाट उहाँ कोशीमा मन्त्री बन्ने सहमति थियो । तर, लिम्बूले आफ्नो साथ छाडेको बुझेपछि कोइरालाले रुचि नदेखाउनुभएको हो ।’ 

कोशी सरकारको सहयात्री कांग्रेसबाट अहिले देउवा र सिटौला समूहका मात्रै मन्त्री छन् । गृह प्रदेशमै कोइराला समूह मन्त्रीविहीन छ ।  

लामो समयदेखि कोइराला निकट रहेका सांसद सुनिल शर्मा पनि गगन पक्षमा लाग्न दाउ हेरेर बसेको बताउनेहरू पनि छन् । 

‘उहाँ व्यवसायी हो, जता फाइदा त्यतै लाग्नुहुन्छ’, स्रोतको दाबी छ ‘महाधिवेशन नजिकै आउँदासम्म उहाँ पनि हामी उभिएकै ठाउँमा आइपुग्नु हुनेछ ।’ 

कोइराला परिवारको एकछत्र प्रभाव रहेको मानिने मोरङमै कोइराला परिवारप्रतिको आकर्षण घटेको र त्यसका लागि निवास नै जिम्मेवार रहेको नेताहरू बताउँछन् । पहिले कोइराला परिवारलाई साथ दिनेहरूलाई भन्दा प्रजातान्त्रिक कांग्रेस पृष्ठभूमि भएकाहरूलाई शेखरले बढी प्राथमिकता दिएको भन्दै कोइराला समूहमा असन्तोष बढेको नेताहरू बताउँछन् । 

त्यसो त अहिले शेखर टिमबाटै जिल्लाको पदाधिकारी रहेकाहरू प्रायः तत्कालीन प्रजातान्त्रिक कांग्रेसतिरबाट आएकाहरू बढी छन् । 

सभापति डिगबहादुर लिम्बू प्रजातान्त्रिकबाट आएर पछिल्लो समय मात्रै कोइरालासँग मिलेका नेता हुन् । उपसभापति भक्तिनाथ माझी पनि विजय गच्छदारको लोकतान्त्रिक फोरमबाट आएका नेता हुन् भने अर्का उपसभापति नागेश कोइराला प्रजातान्त्रिकबाटै आएका हुन् । सचिव मोदराज घिमिरे पनि प्रजातान्त्रिक पृष्ठभूमिकै हुन् ।  

‘अहिले मोरङको कोइराला टिम पहिलेको प्रजातान्त्रिक कांग्रेस नेताहरूले कब्जा गरे, हाम्रो स्थान त्यहाँ छैन’, कोइराला समूहका असन्तुष्टहरूले भन्ने गरेका छन्, ‘त्यसैले विकल्पमा गगन थापा समूह रोजेका हौं ।’ 
शेखर कोइरालासग आफ्नै समूहका कार्यकर्ता बिच्कने क्रमको सुरुआत १४ औं महाधिवेशनको मुखबाटै सुरु भएको थियो । 

१४ औं महाधिवेशनमा सभापति पदमा चुनाव लडिरहेका शेखर कोइराला आफ्नो टिम बलियो पार्ने दौडधुपमा व्यस्त थिए । त्यहीबेला उनले परिवारकै साथ पाउन सकेनन् । भाइ संशाक र बहिनी सुजाताले उनलाई धोका दिए । सशांक शेरबहादुर देउवा र सुजाता प्रकाशमान सिंह प्यानलमा जोडिन पुगिन् । 

ठूलोबुबा वीपी पुत्र संशाक र काका गिरिजापुत्री सुजाताले साथ नदिएको त्यहीबेला परिवारकै सदस्य बराबर रहेका विराटनगरका नेता भीम पराजुलीले पनि शेखरको साथ छाडे । विराटनगर महानगरका पूर्वमेयर र प्रदेशसभा सदस्य रहेका पराजुली यसै पनि कृष्णप्रसाद सिटौलासँग निकट थिए । सिटौलाले १४ औं महाधिवेशनमा देउवालाई साथ दिए । सिटौलाले देउवालाई साथ दिएपछि कोइराला निवासका विश्वासपात्र पराजुलीले पनि देउवा लाइनमै उभिने बाटो रोजे ।  

पछिल्लो समयमा सिटौला पराजुलीसँग बिच्किएका छन् । खासगरी नेपाललाई धर्मनिरपेक्ष मुलुक बनाउने काममा अगुवाइ गरेका नेता हुन् झापाका सिटौला । तर, उनैले संरक्षण गरेका पराजुली भने हिन्दू राष्ट्रको एजेन्डा बोकेर लगातार अभियानमा छन् । 

त्यहीँबाट पराजुलीबाट बिच्केका सिटौलाले मन्त्री बनाउने बेलामा पराजुलीको नाम सुन्नै नचाहेको नेताहरू बताउँछन् । यसरी कोइराला समूह छाडेर सिटौलालाई साथ दिएका र सिटौलाले पनि रुचाउन छाडेका पराजुली पनि गगन लाइनमै उभिने तयारीमा रहेको नेताहरू बताउँछन् । 

शेखरसँग बिच्केका अर्का नेता हुन् महेश आचार्य । १४ औं महाधिवेशनमा एक्लै उपसभापतिको उम्मेदवार बन्दा महेश शेखरको साथ चाहन्थे । तर, शेखरले मिनेन्द्र रिजाल लगायतका नेताहरूलाई साथमा लिदा महेश आचार्यलाई भने परपरै पारेका थिए । आचार्य जस्तै शेखरसँग बिच्केका अर्का नेता हुन्, गोपालमानसिंह राजभण्डारी । 

कांग्रेसको  जिल्ला सचिव भएर सभापतिमा चुनावसमेत लडेका राजभण्डारीले शेखरको साथ छाडेको घोषणा गरिसकेका त छैनन् तर शेखरको बदलामा सशांकलाई साथ दिएजस्तो गरेर घुक्र्याइरहेका छन् । केही समयअघि राजभण्डारीकै योजनामा संशाकलाई बोलाएर विराटनगरमा कार्यक्रम गरिएको बताइएको छ ।  

गुटगत प्रतिष्पर्धा सधैँ चर्को देखिने कांग्रेसभित्र यस्तो अभ्यास नौलो मानिन्न । तर, आफ्नो मुख्य प्रभाव जिल्ला मोरङमै महामन्त्री थापाका पक्षमा बलियो माहोल बन्दै गएको स्थितिले कोइराला निवासलाई चिन्तित पारेको कांग्रेस नेताहरूको भनाइ छ ।

View : 558

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved