सुन्दरहरैंचा । मोरङको बेलबारी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि ९७ करोड १५ लाख ८५ हजार बराबरको बजेट ल्याएको छ । नगरप्रमुख दिलप्रसाद राईको अध्यक्षतामा बसेको १५ औं नगरसभा बैठकमा उपप्रमुख नीतु थापा कोइरालाले नीति तथा कार्यक्रम पेस गरेकी हुन् ।
नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा भइरहेको निःशुल्क सेनिटरी प्याड वितरणको कार्यलाए निरन्तरता दिइएको छ । यसैगरी नगर गौरवका आयोजना अन्तर्गत प्रत्येक वडामा ४० लाख रूपैयाँका योजना सञ्चालन गर्ने नीति बेलबारी नगरपालिकाले लिएको छ ।
यस्तै, उपमेयरसँग मातृशिशु र उपमेयरसँग छाक्राजस्ता कार्यत्रम अगाडि बढाइने नीति पनि छ । बालमैत्री स्थानीय शासनको अवधारणा लागू गर्दै बालमैत्री नगर घोषणा गर्ने तथा बाल विकास र बाल सहभागिता बढाउने कार्यक्रम सञ्चालन गर्ने नीति रहेको उपमेयर थापाले बताइन् ।
बेलबारी प्रज्ञा प्रतिष्ठानको क्षमता अभिवृद्धि गर्ने तथा वातावरणमैत्री नगर घोषणाका साथै भू–संरक्षण, नदी नियन्त्रण, वृक्षारोपण जस्ता दीर्घकालीन महत्वका योजनाले पनि नीति तथा कार्यक्रममा स्थान पाएका छन् । सामाजिक सुरक्षा र पञ्जीकरण सेवालाई व्यवस्थित गर्ने र घर नक्सा सम्बन्धी सेवालाई डिजिटल प्रविधिसँग आवद्ध गर्ने लक्ष्य लिइएको छ ।
नगरसभाबाट बेलबारी नगरपालिकाको स्वास्थ्य सेवा ऐन २०७९ तथा शिक्षासम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेका छुट्टाछुट्टै विधेयकहरू बहुमतले पारित भएको जनाएको छ ।
View : 195
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved