विराटनगर । बैंकबाट लिएको १४ करोड रूपैयाँको साँवा र ब्याज भुक्तानी गर्न नसकेपछि इटहरीको पहिलो व्यापारिक कम्प्लेक्स ‘इटहरी मल’ एनआईसी एशिया बैंकले खाली गराएको छ ।
यो मल इटहरीमा आइसिनेमाका नामले चिनिन्थ्यो ।
इटहरी मलका मालिक रेवतीरमण दुलालले १४ करोड ऋणको साँवा ब्याज भुक्तानी गर्न नसकेपछि बैंकले मललाई आफ्नो नाममा लगेको थियो । सोमबार बैंकले सिंगो मल खाली गराएको हो ।
कित्ता नम्बर ५००, ८३०, ८३१, २७९, र ४९८ को एक कट्ठा १३ धुर जग्गासहित सात तले भवन बैंकले प्रादेशिक कार्यालय राख्नेगरी स्थिर सम्पत्तिको रूपमा लिएको हो ।
बैंकको नाममा रहेको सम्पत्ति खाली गराउन बारम्बार ताकेता गरे पनि हालसम्म उपभोग गर्न नपाएको भन्दै एनआईसी एशिया बैंकले खाली गराएको एक कर्मचारीले जानकारी दिए ।
इटहरी मलको नाममा लिइएको ऋण तिर्न नसकेपछि दुलाल समस्यामा परेका छन् । राजनीतिक पहुँचको आधारमा उनले लामो समयदेखि लिलामी प्रक्रिया टार्दै आएका थिए ।
पछि बैंकले लिलामी प्रक्रिया सुरू गरेको र कोही पनि बोलपत्रमा सहभागी नभएपछि बैंकले आफ्नै नाममा सम्पत्ति राखेको हो ।
सम्पत्ति बैंकको नाममा आएको लामो समय बितिसक्दासमेत भवन खाली नगराएपछि सुरक्षा निकायको सहयोगमा खाली गराइएको हो ।
View : 490
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved