Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

राष्ट्रियसभा चुनाव आज :

कोशीमा शक्तिशाली गठबन्धनसँग भिड्दै कमजोर नेकपा

उद्‌घोष संवाददाता
११ माघ २०८२, आइतवार

विराटनगर । राष्ट्रियसभाका रिक्त पदपूर्तिका लागि आइतबार देशभर निर्वाचन हुँदैछ । कोशी प्रदेशमा पनि दुई पदका लागि निर्वाचन हुँदैछ । 

यो निर्वाचनमा कोशीबाट तीन जना राष्ट्रियसभा सदस्य चुनिदैछन् । यद्यपि ‘अन्य’ समूहबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध चयन भइसकेका छन् । 

राष्ट्रियसभाको यो निर्वाचनमा कांग्रेस, एमाले र जसपाबीच गठबन्धन भएकाले ‘दलित’ र ‘महिला’ क्लस्टरबाट यही गठबन्धन विजयी बन्ने निश्चितप्रायः छ । 

यद्यपि यो गठबन्धनकाविरूद्ध नेपाली कम्युनिष्ट पार्टीले आफ्ना उम्मेदवार खडा गरेका कारण कोशीमा निर्वाचनको औपचारिकता पूरा गर्नैपर्ने भएको छ ।

कोशीमा  कांग्रेस–एमाले–जसपा गठबन्धनबाट एमालेका सोमनाथ पोर्तेल दलिततर्फका उम्मेदवार छन् भने उनको प्रतिष्पर्धामा नेपाली कम्युनिष्ट पार्टीका खेम सुन्दास खडा भएका छन् ।

त्यस्तै महिलातर्फ गठबन्धनको तर्फबाट एमालेकी रोशनी मेचे उम्मेदवार बनेकी छन् भने उनलाई नेकपाकी नमिता न्यौपानेले चुनौती दिएकी छन् । 

आइतबार विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा हुने मतदानको सम्पूर्ण तयारी पूरा भएको कार्यालयका प्रमुख चोलाराज दंगालले जानकारी दिए । 

‘मतदान केन्द्र निर्माण भइसकेको छ, अन्य प्राविधिक तयारी पनि पूरा भइसकेको छ,’ दंगालले भने ‘आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।’ उनका अनुसार कार्यालय परिसरमा दुइटा मतदान केन्द्र हुनेछन् । 

प्रदेशसभा सदस्यले दुईटा र स्थानीय तहका प्रमुख, उपप्रमुखले दुईटा गरी चार वटा मतपेटिकामा मतदान गर्नेछन् । 

‘प्रदेशसभा सदस्यले महिला र दलित उम्मेदवारलाई अनि स्थानीय तहकाले पनि दुवैलाई मतदान गर्नेछन्,’दंगालले भने ‘३ बजे मतदान सकिएपछि मतगणना गरिनेछ ।’ 

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुखहरू मतदाता हुन्छन् । विराटनगरमा मतदान हुने भएपछि कोशी प्रदेशका मतदाताहरू विराटनगर आएका छन् ।

यसपटक कोशीमा दुई पदका लागि चार जना मैदानमा छन् ।

५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्य परिवर्तन हुने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार यसपटक १७ जना सदस्य निर्वाचनमार्फत राष्ट्रियसभामा प्रवेश गर्दैछन् । 

त्यस्तै राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले पनि कार्यकाल सकिनै लाग्दा राजीनामा दिएका छन् । त्यसैले निर्वाचनमार्फत १७ जना र राष्ट्रपतिबाट एक गरी यसपटक १८ जना नयाँ सदस्य राष्ट्रियसभामा चुनिने छन् ।

यसअघि कोशी प्रदेशबाट दलित क्लस्टरबाट निर्वाचित माओवादीका गोपी अछामी, अन्य समूहमा एमालेका देवेन्द्र दाहाल र महिला समूहकी इन्दु गौतमको कार्यकाल सकिने भएपछि यो निर्वाचन हुन लागेको हो । 

कोशी प्रदेशमा कूल ९३ जना प्रदेशसभा सदस्य हुन् । यो संख्या घटेर ९२ भएको छ । राप्रपाका प्रदेश सांसद भक्तिप्रसाद सिटौला प्रदेशसभाबाट राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । 

एक जना प्रदेशसभा सदस्यको मतभार ५३ हुन्छ । यसरी कोशीमा प्रदेशसभाका ९२ सदस्यको कूल मतभार ४ हजार ८ सय ७६ छ ।

त्यस्तै कोशी प्रदेशमा १३७ स्थानीय तह छन् । नगरपालिकाका मेयर–उपमेयर तथा गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता हुने भएपछि स्थानीय तहका २७४ जना मतदाता हुन् । तर, कोशीका स्थानीय तहका प्रमुख र उपप्रमुख गरी ५ जनाले राजीनामा दिएर प्रतिनिधिसभा चुनाव लड्दैछन् । यसरी स्थानीय तहमा पनि मतदाता संख्या घटेर २६९ भएको छ । 

राष्ट्रियसभामा स्थानीय तहका जनप्रतिनिधिको मतभार १९ हुन्छ । यसरी कोशीमा स्थानीय तहतर्फको कूल मतभार अब ५ हजार १११ कायम भएको छ । 

कोशीमा अब राष्ट्रियसभाका लागि कूल मतभार ९ हजार ९ सय ८७ कायम भएको छ । 

कोशीबाट प्रतिनिधिसभा चुनाव लड्न स्थानीय तह त्याग्नेहरूमा मोरङको रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडिया र ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापाले पद त्यागेका छन् । 

एमालेका जनप्रतिनिधि उनीहरू दुवै जना प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । उनीहरू दुई जनाको संख्या घट्दा एमालेको ३८ मतभार कम भएको छ । अब एमालेसँग स्थानीय र प्रदेशगरी ४ हजार १७२ मतभार छ । 

त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका पनि तीन जना पालिका प्रमुखले पद त्यागेका छन् । 

इलामको सूर्योदय नगरपालिकाका रणबहादुर राई र सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईलाई नेकपाले प्रतिनिधिसभा उम्मेदवार बनाएको छ । 

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राई उदयपुर क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवार बनेर पार्टीबाट कारबाही भोगिसकेका छन् ।

उनीहरूमध्ये सूर्योदयका रणबहादुर नेकपा एसबाट निर्वाचित भएका हुन् भने असिम र मेजर राई माओवादीबाट निर्वाचित भएका हुन् । 

अहिले यी दुवै पार्टी एक भइसकेकाले समग्रमा नेकपाको ५७ मतभार कम भएको छ । अब स्थानीय र प्रदेश गरी  माओवादीसंग  १ हजार २५९ र एकीकृत समाजवादीसंग ३२६ गरी नेकपासँग कूल १ हजार ५८५ मतभार कायम छ । 

सुनसरीको धरान उपमहानगरका मेयर हर्क साम्पाङले पनि प्रतिनिधिसभा चुनाव लड्न पद त्यागेका छन् । उनी मेयर निर्वाचित हुँदा स्वतन्त्र रूपमा जितेका थिए । 

अब कोशीमा  कांग्रेससँग ३ हजार ६८४, राप्रपाको ३४१, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार कायम छ । यसरी कोशीमा एमाले, कांग्रेस र जसपा गठबन्धनसंग कूल ७ हजार ९८५ मतभार छ ।

यो गठबन्धनको विपक्षमा रहेको नेकपास“ग १ हजार ५८५ मतभार मात्रै छ । 

स्थानीय र प्रदेशका जनप्रतिनिधिले आफ्नो पद त्यागेर चुनाव लड्न खोन्ज्दा आलोचना पनि भइरहेको छ । 

जनताको हितमा काम गर्ने अनेकौं वाचा गरेर स्थानीय सरकारमा चुनिएकाहरू, प्रदेशसभामा पुगेकाहरू शक्ति आर्जनको लोभमा बीचैमा पद छाडेर प्रतिनिधिसभा चुनाव लड्नतिर लागेको भनेर आलोचना भएको हो । 

पाँच वर्षका लागि जनताबाट मत पाएर हात परेको जिम्मेवारी पूरा नगर्दै उनीहरू फेरि अर्को तहको चुनाव लड्न अग्रसर बनेका हुन् ।

View : 209

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved