Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कांग्रेसका पालिका समितिहरु पनि महाधिवेशनका पक्षमा

कोही नियमित महाधिवेशनको पक्षमा छन् । केहीले अहिले केही गर्नु नहुने बताइरहेका छन् । तर, महानगर सभापतिहरूले एकीकृत रूपमा विचार गर्दा नियमित महाधिवेशन समयमै गर्न सकिने निष्कर्ष निकालेको चापागाँईले बताए ।
उद्‌घोष संवाददाता
१४ कार्तिक २०८२, शुक्रवार

विराटनगर । नेपाली कांग्रेसभित्र यतिबेला महाधिवेशनको माग उच्च भइरहेको छ । महामन्त्रीहरुदेखि महाधिवेशन प्रतिनिधिसम्मले माग गरिरहेको महाधिवेशनका पक्षमा पार्टीको तल्लो तहका समितिहरु पनि उभिएका छन् ।

यही क्रममा कांग्रेसको विराटनगर महानगर समितिले पनि आफूलाई महाधिवेशनका पक्षमा उभ्याएको छ । नयाँ नेतृत्व र संगठनात्मक रुपान्तरणका पक्षमा विराटनगरसहित ६ वटा महानगर समितिले आफूलाई उभ्याएका छन् । 

महानगर सभापतिहरूले तत्काल नियमित महाधिवेशनको आवश्यकता औंल्याएका हुन् । महानगर समितिहरुले केन्द्रीय कार्यालयमा मागपत्र पेश गरेरै  मंसिरभित्र नियमित महाधिवेशन माग गरेका हुन् । 

कांग्रेस विराटनगर महानगर सभापति दीपक चापागाईंले कुनै पनि बहानामा महाधिवेशन टार्न नमिल्ने उल्लेख गर्दै यदि त्यस्तो प्रयास भए विद्रोह हुने चेतावनी दिएका छन् । 

त्यसो त विराटनगर महानगरमा डा. शेखर कोइरालाको एकछत्र प्रभाव छ । यद्यपि मोरङकै सभापति डिगबहादुर लिम्बूसहितका नेताहरुले महाधिवेशनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । 

कोइराला निकट सभापति लिम्बूसहितका नेताहरुले महाधिवेशनका पक्षमा आफूलाई उभ्याउन इन्कार गरेका बेला महानगर समितिले भने प्रष्टतः महाधिवेशनका पक्षमा आफूलाई उभ्याएको छ । 
तर, मोरङ सभापति लिम्बूले भने केन्द्रीय समिति बैठक कुर्ने भन्दै आएका छन् । कांग्रेस बैठक अहिले पनि जारी छ । 

‘जेनजी आन्दोलनपछि मुलुकको अवस्थामा व्यापक परिवर्तन आएको छ । यो परिवर्तनलाई पार्टीले बुझेर अघि बढ्नुपर्छ’ विराटनगर महानगर सभापति चापागाईंले भने । उनका अनुसार पार्टीभित्र महाधिवेशनबारे विभिन्न दृष्टिकोण छन् । कोही विशेष महाधिवेशन चाहन्छन् । 

कोही नियमित महाधिवेशनको पक्षमा छन् । केहीले अहिले केही गर्नु नहुने बताइरहेका छन् । तर, महानगर सभापतिहरूले एकीकृत रूपमा विचार गर्दा नियमित महाधिवेशन समयमै गर्न सकिने निष्कर्ष निकालेको चापागाँईले बताए । 

उनले वर्तमान नेतृत्वको संगठन चलाउन असमर्थ हुने धारणा राखेका छन् । 

‘जबसम्म नेतृत्व परिवर्तन हुँदैन र नयाँ नेतृत्वले संगठनको कमाण्ड लिंदैन, तबसम्म कांग्रेसलाई ऊर्जावान बनाइराख्न गाह्रो हुनेछ’ उनको भनाइ छ ‘त्यसकारण नियमित महाधिवेशनले नै पार्टीमा  नयाँ ऊर्जा दिन सक्छ ।’

विशेष महाधिवेशनका पक्षधरले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर गरिसकेको उल्लेख गर्दै चापागाईंले ती चाहनाको सम्मान गर्नु पर्ने विचार व्यक्त गरे ।

केन्द्रीय कार्यसमिति र पदाधिकारीहरूले समय थप्ने विचार गरिरहेकोबारे चापागाईंले आलोचना पनि गरेका छन् । 

‘विधानमा व्यवस्था भए पनि महाधिवेशन टार्न भनेर समय थप्ने खेलमा यदि नेताहरु लागे भने पार्टीभित्र अकल्पनीय विद्रोह हुनेछ’ उनले भने ।

उनले जेनजी आन्दोलनले देशमा ल्याएको परिवर्तन सम्झँदै, पार्टीभित्र पनि अनपेक्षित विद्रोह आउन सक्ने चेतावनी दिएका छन् ।

View : 346

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved