Biratnagar, Morang, Nepal
३ वैशाख २०८२, बुधवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

सगरमाथा आरोहणका लागि खुम्बु आइसफलको बाटो तयार

उद्‌घोष सम्वाददाता
१ वैशाख २०८२, सोमवार

काठमाडौँ, १ वैशाख । वसन्तकालीन यामा सगरमाथा आरोहणका लागि दुई सयभन्दा बढीले आरोहण अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार बिहीबारसम्म २२ आरोही समूहका ३८ महिला र एकसय ७८ पुरुष गरी कूल २१४ जनाले अनुमति पाएका हुन् ।

आरोहण अनुमति लिएर विभिन्न मुलुकका आरोहीहरु धमाधम गन्तव्यतर्फ लागिरहेका छन् ।

विभागले चैतको तेस्रो सातादेखि सगरमाथा आरोहण अनुमति दिन सुरु गरेको थियो । विभागका निर्देशक आरती न्यौपानेका अनुसार सगरमाथा आरोहणका लागि धमाधम आरोही गन्तव्यतर्फ गइरहेका छन् ।

नेपालसहित ३१ मुलुकका नागरिक सगरमाथा आरोहणका लागि भएका छन् । विभागले हालसम्म सगरमाथासहित विभिन्न १७ हिमाल आरोहणका लागि ‘एक्सपीडिसन पर्मिट’ जारी गरेको छ ।

पछिल्लो विवरणमा हिमाल आरोहणमार्फत ३६ करोड ५८ लाख १५ हजार २७ रोयल्टी रकम सरकारी खातामा जम्मा भएको छ । सगरमाथाबाट मात्रै ३१ लाख ६९ लाख ८६ हजार २८ रकम उठेको छ ।

हालसम्म विभिन्न हिमाल तथा पिक आरोहण गर्न ५४ आरोही समूहका ९९ महिला र तीनसय ९८ गरी कूल चार सय ९७ जनाले विभागबाट अनुमति लिएका छन् ।

आरोहणका लागि खुम्बु आइसफलसम्मको बाटो निर्माण सम्पन्न भएको छ ।

आइसफलका डाक्टरहरुले खुम्बु आइसफल हुँदै रुट फिक्सिङ पूरा गरेको विभागले जनाएको छ ।

असाधारण प्रयासका लागि एसपिसिसीका आइसफल डाक्टरलाई विभागले प्रसंशा व्यक्त गरेको छ । सगरमाथाको आधार शिविरदेखि दोस्रो शिविरसम्म बाटो निर्माणका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले खुम्बु आइसफलमा बाटो बनाउने ‘आइसफल डाक्टर’ खटाएको थियो ।

यो सिजनका लागि १० जनाको टोली खटाइएको एसपिसिसीले जनाएको छ ।

पर्वतारोहण सञ्चालक संघले सगरमाथाको दोस्रो शिविरदेखि चुचुरोसम्म बाटो बनाउनेअर्थात् ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) काम गर्ने छ ।

संघले यो सिजनको सगरमाथा आरोहणका लागि बाटो बनाउने तथा रोप फिक्सिङको व्यवस्थापकीय जिम्मेवारी एट्के एक्सपीडिसन कम्पनीलाई दिएको छ ।

वसन्त ऋतु सगरमाथासहितका हिमाल आरोहणका लागि उपयुक्त मौसम मानिन्छ । यो याममा सगरमाथा आरोहणका लागि उल्लेख्य सङ्ख्यामा विदेशी आउँछन् । रासस

View : 39

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved