Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
आर्थिक

भारतीय नागरिकले संचालन गरेको विराटनगरको एक ज्वेलर्सबाट झण्डै एक क्विन्टल चाँदी बरामद

उद्घोष सम्वाददाता
१६ कार्तिक २०८०, बिहिवार

विराटनगर, १६ कात्तिक : विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिकले संचालन गर्दै आएको एक ज्वेलर्सबाट झण्डै एक क्विन्टल चाँदी बरामद भएको छ । 
बरामद भएको चाँदी मध्ये धेरै गरगहना रहेका छन् । केही काँचो चाँदीसमेत रहेको प्रहरीले जनाएको छ ।

चाँदीबाट बनेका पाउजु, ब्रासलेट, औंठी, दियो, करुवा, मूर्ति, टीकादानी लगायतका ठुलो परिमाणका चाँदीका सामग्री र गरगहना बरामद भएको जनाइएको छ । 

बिहीबारको दरभाउ अनुसार बरामद चाँदीको बजार मुल्य १ करोड २० लाख ३८ हजार रुपैयाँ रहेको छ । 

जिल्ला प्रहरी कार्यालय मोरङ र विराटनगर भन्सार कार्यालयको टोलीले बिहीबार छापा मार्दा बिल विजक नभएको ९९ किलो ९४६ ग्राम चाँदीसहित पिचरास्थित पशुपति ज्वेलर्सका सञ्चालक विश्वनाथ जानलाई पक्राउ गरेकोे जनाइएको छ । पक्राउ परेका ज्वेलर्स संचालक जान भारतीय नागरिक रहेको खुलेको छ ।

प्रहरीले ज्वलेर्सबाट १५३ दशमलव ८ ग्राम सुन समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनले नेपाल प्रहरीसहित भन्सार, राजश्व र जिल्ला प्रशासन लगायतको संयुक्त आकस्मिक अनुगमन टोलीले झण्डै एक क्विन्टल चाँदी र १५३ दशमलव ८ ग्राम सुन बरामद गरेको बताए । 

उनले भने, ‘पक्राउ परेका पशुपति ज्वेलर्सका संचालक भारतीय नागरिक रहेको खुलेको छ, बरामद चाँदीको परिमाण जोख्ने कार्य पनि सकिएको छ, संचालकलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।’

विशेष सूचनाका आधारमा अपरान्ह उक्त ज्वेलर्समा छापा मारेको जनाइएको छ । बरामद चाँदी भारतबाट तस्करी गरेर ल्याइएको प्रहरीको आशंका छ । 

सरकारी टोलीले उक्त ज्वेलर्समा लुकाएर राखिएको अवस्थामा पाँचवटा प्लाष्टिकको झोलाबाट उक्त परिमाणको चाँदी बरामद गरेको जनाइएको हो ।

भारतबाट भन्सार छली गरेर चाँदीका गरगहना ल्याउने र ती सामग्रीहरु नेपालका बजारहरुमा बिक्री वितरण हुने गरेको गोप्य सूचनाका आधारमा पशुपति ज्वेलर्समा छापा हानेको हो ।

ज्वेलर्स संचालकले दीपावलीलाई लक्षित गरी ठूलो परिणाममा तस्करी गरेर चाँदीका गहना र अन्य सामग्री भित्र्याएको हुनसक्ने अनुमान गरिएको छ ।

View : 119

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved