Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

तेहेरो चालमा एमाले

कोशीमा आन्दोलन, केन्द्रमा अदालत अनि ‘क्याल्कुलेसन’

उद्‌घोष संवाददाता
९ पुष २०८२, बुधवार

विराटनगर । नेकपा एमालेको अध्यक्षमा तेहेरिएका केपी शर्मा ओलीले पार्टीको तत्कालीन लाइन पनि तीन वटै रहेको प्रष्ट संकेत दिएका छन् । पार्टीका तल्लो तहबाट आउँदो निर्वाचनका लागि उम्मेद्वारको नाम संकलन गरेर चुनावी तयारी गरिरहेको एमालेले कोशी प्रदेशमा भने आन्दोलन घोषणा गरेको छ । 

संसद् पुनःस्थापनाको माग लिएर सर्वोच्च अदालत पनि गइसकेको एमालेले सडक, अदालत र चुनाव तीन वटै मोर्चामा आफूलाई उभ्याएको छ । 

मंगलबार कोशी प्रदेश राजधानी विराटनगरमा पार्टीका नौ मध्ये एक सचिव शेरधन राई आन्दोलन घोषणा गर्दै थिए । त्यहीबेला पार्टीकै अर्का सचिव राजन भट्टराई भने प्रतिनिधिसभा समानुपातिकतर्फका उम्मेद्वारको नाम संकलन भइरहेको भनेर सञ्चारमाध्यममा बोलिरहेका थिए । 

एकै पार्टी, एउटै समूह मात्रै होइन पार्टीमा एकै पदमा रहेका पदाधिकारी तहका यी दुई नेताका फरक–फरक अभिव्यक्ति एकै दिन सार्वजनिक भएको हो । यसले एमाले चुनावको तयारीमा जुटेको हो कि आन्दोलनमा भन्ने संशय पैदा गरेको छ । 

मंगलबार विराटनगरस्थित एमाले पार्टी कार्यालयमा पत्रकारहरूमाझ उपस्थित सचिव एवम् कोशीका पूर्वमुख्यमन्त्री शेरधन राईले फागुन २१ को निर्वाचन असम्भव रहेको ठोकुवा नै गरे । 

उनले त्यसो भन्नुअघि एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले एउटा विज्ञप्ति सार्वजनिक गर्दै कोशीका १४ वटै जिल्लामा आन्दोलन सुरु भएको जानकारी दिएका थिए । 

‘आज केही महत्वपूर्ण कुराहरू हामी एक्सपोज गर्दैर्छौं’ भनेर विज्ञप्ति पढ्न थालेका प्रदेश अध्यक्ष खतिवडाको निचोड त्यही थियो, जुन केही दिनअघि अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनस्थलमा सुनाएका थिए । 

प्रदेश अध्यक्ष खतिवडाले भने ‘अहिलेको असंवैधानिक सरकार एमाले नेताहरूमाथि धरपकड थाल्ने तयारीमा छ । प्रतिवादका लागि आजैबाट कोशीका १४ वटै जिल्लामा आन्दोलन सुरु भएको छ ।’ डेढ पृष्ठ लामो विज्ञप्ति खतिवडाले वाचन गरेर सुनाइसकेपछि केन्द्रीय कमिटीका सचिव शेरधन राईले त्यसबारे पत्रकारहरूका प्रश्नका उत्तर दिए । 

त्यसक्रममा पूर्वमुख्यमन्त्री राईले ‘चुनाव असम्भव’ रहेको मात्रै बताएनन्, संसद् पुनःस्थापनाको पार्टी लाइनको जमेर पैरवी पनि गरे । र, त्यसैका लागि कोशीका सबै जिल्लामा आन्दोलन हुने उनले बताए ।

सचिव राईले विराटनगरमा यस्तो बताइरहँदा काठमाडौंमा भने प्रतिनिधिसभा निर्वाचनका लागि ‘खुसुखुसु’ उम्मेदवारको नाम मागिएको भन्दै एमाले संस्थापनइतर पक्षले प्रश्न उठाइरहेको थियो । 

एकातिर संसद् पुनःस्थापनाका लागि अदालत गइसकेको एमाले उम्मेद्वारहरूको नाम पनि मागिरहेको छ । चुनावका लागि समानुपातिक उम्मेद्वारको नाम सिफारिस गर्ने तयारीमा रहेको त्यही दलले आन्दोलन पनि घोषणा गरिरहेको छ । 

यो कदम संगतिपूर्ण हुन्छ कि हुन्न ? पत्रकारहरुको प्रश्नमा सचिव राईले दिएको जवाफ थियो ‘सरकार नै असंवैधानिक छ, त्यही असंवैधानिक सरकारले बनाएको कथित आयोगले अनावश्यक रुपमा दुःख दिने नियत राखेर मुठभेड निम्त्याउने प्रयास गरिरहेको छ ।’

उनका अनुसार सरकारको यही ‘षड्यन्त्रविरुद्ध’ कोशीका १४ जिल्ला कमिटीहरूलाई शान्तिपूर्ण रूपमा खबरदारी प्रदर्शन, सद्भाव  र्याली र विभिन्न स्वरूपका विरोधका कार्यक्रमहरू सञ्चालन गर्न आह्वान गरिएको छ । 

‘सरकारबाट गरिने कुनै पनि प्रकारका प्रतिशोधपूर्ण व्यवहार, धरपकड र अनुचित कार्यहरू एक सेकेन्ड पनि नसहने’ एमाले कोशीको विज्ञप्तिमा उल्लेख छ । 

एमाले उच्च तहले बारम्बार ‘धरपकड’ को कुरा किन निकालिरहेको हो, सरकारले त्यस्तो तयारी गरेको सूचना पाएर हो भन्ने प्रश्नमा सचिव राईले सरकारको व्यवहार र नियतले त्यस्तो देखाइरहेको दाबी गरे । ‘त्यस्तो प्रष्टै देखिएको छ’ उनले भने ।

सचिव राईले विराटनगरमा चुनाव असम्भव रहेको र हुनै नसक्ने ठोकुवा गरिरहँदा अर्का सचिव राजन भट्टराई भने पार्टीले मातहत कमिटीबाट उम्मेद्वारको नाम मागिरहेको बताइरहेका थिए । 

पार्टीले त्यसरी उम्मेद्वारको नाम मागेको बारे उपमहासचिव योगेश भट्टराईले महासचिव शंकर पोखरेललाई सचिवालय बैठक बोलाउन माग गरेको भन्दै फेसबुकमा जानकारी दिएका छन् । केन्द्रीय सदस्य गोकुल बाँस्कोटाले आन्दोलन पनि गर्ने, उम्मेद्वार पनि छान्ने भन्दै कटाक्ष गरेका छन् । 

‘महाधिवेशनमा व्यस्त भएकाले र भर्खरै मात्र नयाँ कमिटी निर्वाचित भएर आएकाले तत्काल बैठक राख्न सकिएको छैन’ सचिव भट्टराईले सञ्चारमाध्यमसँग भनेका छन्, ‘तर, मातहतका कमिटीले समानुपातिकतर्फ उम्मेदवारहरू भने सिफारिस गरिरहेका छन् । केन्द्रीय कार्यालयले नामहरूको रोस्टर पनि तयार पारिरहेको छ ।’ 

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूले आगामी पुस १३ र १४ गते बन्द सूची पेस गर्नुपर्ने छ । दलहरूले विभिन्न क्लस्टर मिलाएर अधिकतम ११० जनाको सूची बुझाउनुपर्ने हुन्छ । 

काठमाडौंमा उम्मेद्वारको बन्दसूची बुझाउने तयारीमा लागेको दल कोशीका १४ जिल्लामा भने आन्दोलन घोषणा किन गरिरहेको छ ? कि आन्दोलन भन्दै यो पनि चुनावकै तयारी हो ? जवाफमा सचिव शेरधन राईले अहिलेको सरकारबाट निर्वाचन सम्भव नरहेको दोहोर्याए । 

‘प्रतिनिधिसभा पुनःस्थापना, सर्वदलीय सरकार, संविधान संशोधन अनि बल्ल ताजा जनादेशले मात्रै निकास दिन्छ’ उनको भनाइ थियो । 

आन्दोलन, अदालत र चुनाव तीन वटै अस्त्र प्रयोगमा जुटेको एमालेले कोशीमा अतिरिक्त आन्दोलन घोषणा गर्नुको कारणबारे नेताहरू सार्वजनिक रुपमा बनिबनाऊ धारणा मात्रै दिन्छन् ।

यद्यपि मंगलबार विराटनगर प्रदेश कार्यालयमा भेला भएका केही कार्यकर्ताले भने अध्यक्ष ओलीलाई कोशीमा कार्यक्रम गरेर बोलाउने तयारी भइरहेको हुनसक्ने बताए । 

‘स्थानहद तोड्ने ओलीको अभिव्यक्ति आइरहेको छ, छानबिन आयोगमा बयान पनि दिन्न भनिरहेका बेला ओलीलाई ल्याउने तयारी गरेको हो कि भन्ने लागेको छ’ ती कार्यकर्ताले भने । नेताहरूले भने यसबारे केही भनेका छैनन् ।

View : 219

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved