विराटनगर । विराटनगरमा विभिन्न आठवटा क्लबहरूको सहभागितामा ‘विराटनगर लिग क्रिकेट’ प्रतियोगिता हुने भएको छ । आज शुक्रबार पहिलो तथा उद्घाटन खेल हुने जनाइएको छ ।
कोशी प्रदेश क्रिकेट संघ, नेपाल क्रिकेट फाउण्डेशन, क्रिकेट विद आउट बाउण्ड्रिज लगायतका संघसंस्थाको सहकार्यमा लिग क्रिकेट आयोजना गर्न लागिएको हो ।
विराटनगर–६ स्थित मेरिलिबोन विराटनगर ज्वाला क्रिकेट ग्राउण्डमा सुरु हुने प्रतियोगिताको फाइनल खेल भने माघ १० गते हुने जनाइएको छ ।
कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डेले कोशी प्रदेशको क्रिकेटको विकासका लागि नवीनतम् शुरुवात गर्दै ग्रासरुट क्रिकेटलाई अघि बढाउने प्रयास गरेको बताए ।
उनले प्रतियोगिताका आठवटा टोलीमा प्रत्येक टोलीले १६ मुनिका एकजना, १९ मुनिका दुईजना, विराटनगरबाहिरका तीनजना खेलाडी अनिवार्य रुपमा सहभागी गराउनु भएकोले सबै जिल्लाका खेलाडी समेटिने जानकारी दिए ।
‘यो प्रतियोगितामा कोशी प्रदेशका खेलाडीको मात्रै प्रतिनिधित्व होस् भन्ने हाम्रो लक्ष्य छ, विराटनगर क्रिकेट लिग भनेपछि हरेक जिल्लाबाट खेलाडी समेटिनेछन्’ उनले भने, ‘पाइलट प्रोजेक्टका रुपमा सुरु गरेको यो प्रयास सफल भएमा आगामी दिनमा अरु जिल्लामा पनि प्रतियोगिता गराउन बाटो सहज हुनेछ र क्लब लेभलको क्रिकेट खेललाई पुनः जीवित हुने विश्वास गरेका छौं ।’
यस्ता प्रतियोगिताबाट मुख्यतया ग्रासरुट क्रिकेटको विकास हुने नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अभिषेक श्रेष्ठले बताए । प्रतियोगिताको विजेताले २५ हजार रुपैयाँ र रनरअपले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जानकारी दिए ।
प्रतियोगिताका खेल दुई समूहमा हुनेछन् । समूह ‘ए’ मा मिल्स क्रिकेट एकेडेमी एण्ड क्लब, विराट क्रिकेट एकेडेमी, एलिट क्रिकेट क्लब र विराटनगर क्रिकेट क्लब रहेका छन् ।
समूह ‘बी’ मा लायन क्रिकेट एकेडेमी, सिद्धार्थ स्पोर्टिङ क्लब, कटहरी क्रिकेट एकेडेमी एण्ड क्लब र डाइनामिक क्रिकेट एकेडेमीबीच हुने जनाइएको छ ।
View : 130
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved