Biratnagar, Morang, Nepal
८ मंसिर २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

शशांकले उद्घाटन गरेको कांग्रेस नियमित पक्षधरको मोरङ अधिवेशनबाट नेतृत्व छान्न एकसातादेखि किचलो

उद्‌घोष संवाददाता
८ मंसिर २०८३, मङ्गलवार

विराटनगर । नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन पक्षधरको मोरङ जिल्ला अधिवेशनले नेतृत्व चयन गर्न नसक्दा एक सातादेखि निर्वाचन प्रक्रियामा किचलो भएको छ ।

सभापतिमा तीनसहित विभिन्न पदमा आवश्यक संख्याभन्दा बढी उम्मेदवारी परेपछि सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास असफल भएको हो । त्यसैलाई कारण बनाएर निर्वाचन स्थगित हुँदा आकांक्षीहरूले नै गम्भीर चलखेल भएको भन्दै प्रश्न उठाएका छन् । 

मोरङ जिल्ला अधिवेशनका निर्वाचन अधिकृत अधिवक्ता सचिन सिंहको हस्ताक्षर रहेको र मिति नखुलाइएको पत्र केन्द्रीय निर्वाचन समितिलाई सम्बोधन गर्दै पठाइएको छ । उक्त पत्रमा निर्वाचन स्थगित गरिएको जानकारी गराइएको छ ।

मंसिर १ मा नियमित महाधिवेशन पक्षधरको मोरङ जिल्ला अधिवेशन विराटनगरको जैन भवनमा आयोजना गरिएको थियो । अधिवेशनको उद्घाटन १५औं नियमित महाधिवेशन पक्षधरका तयारी समिति संयोजक शशांक कोइरालाले गरेका थिए । अधिवेशनको उद्घाटनपछि बन्द सत्रबाट सहमतिमा नेतृत्व चयन गर्ने तयारी गर्दै सभापतिसहितका पदमा मनोनयन दर्ता गराइएको थियो । तर सभापतिमा तीनजनासहित विभिन्न पदमा धेरैको उम्मेदवारी परेपछि विवाद हुँदा निर्वाचन प्रक्रिया नै अन्यौल हुँदै आएको छ ।

उम्मेदवारहरूबीच सर्वसम्मति कायम गराउने उद्देश्यले आपसी छलफल तथा सहमतिको प्रयास गरिए पनि सहमति हुन नसकेपछि केन्द्रीय निर्वाचन समितिसँग आवश्यक सल्लाह तथा छलफल गरी अर्को सूचना प्रकाशित नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत सिंहले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि मतदानको अर्को मिति निर्धारण गरिने जनाइएको छ ।

यसैबीच, जिल्ला सभापतिका उम्मेदवार खगेन्द्र थापाले निर्वाचन स्थगित भएपछि सहमतिको नाममा आफूहरूमाथि अन्याय भएको आरोप लगाएका छन् । उनले मोरङको जिल्ला अधिवेशन निष्पक्ष हुन नसकेको गुनासो गरेका हुन् ।

मोरङ क्षेत्र नम्बर ६ को संयोजक भएर २० वटै वडामा संगठन निर्माण गर्दै क्षेत्रीय अधिवेशन सम्पन्न गराएको उल्लेख गर्दै थापाले जिल्ला सभापतिमा उम्मेदवारी दिएका थिए । जिल्ला सभापतिका लागि आफूसहित वर्तमान संयोजक सुवास पौडेल र विनायक पन्तले उम्मेदवारी दर्ता गरेका थिए ।

जिल्लामा करिब २ हजार ४ सय प्रतिनिधि रहेको र तीमध्ये १ हजार ५ सयदेखि १ हजार ६ सय मत आफूले प्राप्त गर्ने विश्वास रहेको थापाको दाबी छ । तर उनले उम्मेदवारी दर्ता र अधिवेशन उद्घाटनपछि निर्वाचन प्रक्रिया नै स्थगित गरिएको भन्दै आक्रोश पोखेका हुन् । 

आफूलाई उम्मेदवारी फिर्ता लिन र सुवास पौडेललाई सभापति बनाएर आफूलाई सचिवमा बस्न विभिन्न किसिमबाट दबाब, धम्की तथा प्रलोभन आएको खुलासा गरेका छन् । तर, आफू निर्वाचनबाटै नेतृत्व चयन हुनुपर्ने अडानमा रहेको उनले बताए ।

‘नेपाली कांग्रेस सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो, त्यसैले पार्टीभित्र पनि लोकतान्त्रिक पद्धतिअनुसार निर्वाचन हुनुपर्छ भन्ने मेरो अडान थियो,’ थापाले भने ।

उनले निर्वाचनको विषयलाई लामो समयसम्म अल्झाइएको र सहमतिका नाममा निश्कर्ष ननिस्किने छलफल गराइएको बताए । निर्वाचनको प्रक्रिया अघि बढेपछि क्षेत्रीय सभापतिहरूलाई निर्णय गर्ने अधिकार दिएर आफूहरूले हस्ताक्षरसमेत गरेको उनको भनाइ छ ।

थापाका अनुसार सहमतिका लागि क्षेत्रीय सभापतिहरूले जिल्ला सभापतिमा एक जनालाई चयन गर्ने र बाँकी दुई जनालाई प्रदेश वा केन्द्रमा अन्य जिम्मेवारीमा समेट्ने प्रतिबद्धता जनाएका थिए । तर, लामो छलफलपछि क्षेत्रीय सभापतिहरूले आफूहरूलाई कुनै जानकारी नदिई मोबाइल बन्द गरेर बसेको थापाले आरोप लगाए ।

निर्वाचन अधिकृत रुपेश कोइरालालाई निर्वाचन प्रक्रियाको निर्णयसहितको फाइल बुझाइएको आफूले जानकारी पाएको थापाले बताए । क्षेत्रीय सभापतिहरूसँग सम्पर्क हुँदा भने अधिकांशले आफ्नो नाममा सर्वसम्मत निर्णय गरिएको भन्दै बधाई पनि दिएको उनले बताए । तर, उक्त निर्णयको माइन्युट हेर्न खोज्दा आफूहरूलाई उपलब्ध नगराइएको थापाले बताएका छन् । 

क्षेत्रीय सभापतिहरूले पौडेललाई सभापति बनाउन सहमति दिएको भन्दै आफूहरूलाई उम्मेदवारी छाड्न दबाब दिइएको उनको भनाइ छ ।

‘क्षेत्रीय सभापतिहरूले मलाई सर्वसम्मत गरेको बताएका थिए । तर, रातारात कसरी नाम परिवर्तन भयो ? के सहमति भयो ? हामीले किन निर्णय हेर्न पाएका छैनौँ ?’ थापाले प्रश्न गरे ।

उनले आफू र विनायक पन्तलाई अन्य जिम्मेवारीमा समेट्ने विषयमा कुनै पनि निर्णय नभएको भन्दै त्यसको जानकारी माग गरेका छन् । 

थापाले पार्टीका सभापति शेरबहादुर देउवासहित नेता शशांक कोइराला, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंहलगायत नेताहरूलाई घटनाबारे ध्यानाकर्षण गराइएको बताए ।

उनले मोरङमा युवालाई पार्टी नेतृत्वमा आउन नदिने उद्देश्यले षड्यन्त्र गरिएको आरोप लगाउँदै सहमतिको नाममा आर्थिक चलखेल पनि भएको दाबी गरे । 

उनले निर्वाचन प्रक्रियामा भएको चलखेलको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् ।

View : 70

८ मंसिर २०८३, मङ्गलवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved