एमाले केन्द्रीय कमिटी बैठक
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवम् एमाले कोशीका इञ्चार्ज शेरधन राईलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी टिमको सदस्य मान्नेहरू धेरै थिए ।
एमालेमा राईलाई राजनीतिक रूपले संरक्षण दिने नेतामै पर्थिन् तत्कालीन एमाले उपाध्यक्ष भण्डारी । राष्ट्रपति भइसकेपछि पनि राईलाई भण्डारीको ठूलो आडभरोसा रहेको बताउनेहरू एमालेमा धेरै छन् ।
यसरी लामो समयदेखि भण्डारीको आडभरोसा लिएर अघि बढिरहेका राईले अहिले आएर भण्डारीलाई धोका दिएको आरोप लागेको छ ।
सोमबार काठमाडौंमा केन्द्रीय कमिटी बैठक सुरू हुनुअघि कोशीका इञ्चार्ज राईले यूएन पार्कमा कोशीका केन्द्रीय सदस्यहरूलाई आकस्मिक रूपमा बोलाएका थिए ।
एमालेका एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार त्यहा“ भेला भएका केन्द्रीय सदस्यहरूलाई शेरधनले भनेका थिए ‘केन्द्रीय समिति बैठकमा बोल्दा अध्यक्ष ओली कमरेडको पक्षमा बोल्नुहोला । उहा“को निर्देशन र अपेक्षा यही छ ।’
शेरधनले यसो भनेपछि भेलामा उपस्थित रहेका कोशीकै अर्का नेता जगदिश कुसियैतले आश्चर्य प्रकट गर्दै सोधेका थिए ‘तपाईं त विद्या कमरेडको पक्षमा उभिनुहोला भन्ने लागिरहेको थियो । तर, यतै उभिनुभएको रहेछ ।’
उनको जवाफ सुनेर प्रदेश इञ्चार्ज राई मुसुक्क हाँसेको मात्रै जानकारी नेताहरूले दिएका छन् ।
यसरी पहिल्यै ओलीको पक्षमा र विद्याको विपक्षमा बोल्न भन्दै नेतृत्वले निर्देशन दिए पनि कोशीका केही नेताले भने हिम्मत गरेर ओलीको विपक्षमा र विद्याका पक्षमा बोलेका छन् ।
एमालेको जारी केन्द्रीय समिति बैठकमा बहुसंख्यक केन्द्रीय सदस्यले अध्यक्ष ओलीको विकल्प नै नभएको बताइरहेका बेला पूर्व राष्ट्रपति भण्डारीको पक्षमा पनि कोशीका केही केन्द्रीय सदस्यहरू खुलेका छन् ।
बरू यसअघि ओलीको विरोध गरेर राजनीतिमा स्थापित भएका नेताहरू भीम आचार्य, योगेश भट्टराईहरू मौन रहेका छन् भने मोरङका नेता जीवन घिमिरेले ओलीको विकल्प नै नभएको भन्दै केन्द्रीय बैठकमा बोलेका छन् ।
मोरङबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरू युवराज बास्कोटा, रामलाल साह, धनकुटाकी सिर्जना राई लगायतका नेताहरूले आफूलाई भण्डारीको पक्षमा खुलेरै उभ्याएका छन् ।
केन्द्रीय सदस्य युवराज बास्कोटाले विधानबाट दुई कार्यकाल हटाउने विषयमा प्रश्न उठाउँदै त्यसलाई कायम राख्नुपर्ने, राजनीतिक कामको मात्र दुई कार्यकाल नभई राजकीय जिम्मेवारीको पनि दुई कार्यकाल तोक्नुपर्ने बताएका छन् ।
मंगलबारको बैठकमा बोल्दै उनले अहिले ओली र भण्डारीका नाममा पार्टी तलसम्मै विभाजित बनेको बताएका थिए ।
बैठकमा उनले भने ‘तपाईं दुईजना कमरेड केपी शर्मा ओली र विद्यादेवी भण्डारी आजका दिनसम्म यो पार्टी निर्माणमा एक सिक्काको दुई पाटा हो । तर, तल–तलसम्म पार्टीलाई चिरा पारिएको छ । परस्पर असहयोग छ, मोरङको लेटाङ नगरमा अहिलेसम्म अधिवेशन हुन सकेको छैन ।’
अध्यक्षले सहज नेतृत्व हस्तान्तरण गर्नुपर्ने तर्क अघि सार्दा अध्यक्षविरूद्धको फत्तुर लगाइएको भन्दै उनले असन्तोष प्रकट गरेका छन् ।
पूर्व राष्ट्रपति भण्डारीको पक्षमा प्रष्ट उभिंदै उनले भने ‘एउटा कुनै वडाध्यक्ष पार्टी प्रवेश गर्दा हामीमा अगाध खुशी छाएको हुन्छ । राष्ट्रिय समाचार बन्छ, पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरणको विषय आलोचना, विरोध, निन्दाको शिकार बन्छ । यो संगतियुक्त र युक्तिसंगत भएन ।’
एकले अर्कोलाई निषेध गरेर पार्टी बलियो नहुने भन्दे उनले थपे ‘नेतृत्व कुरौटेको झुण्डबाट बच्नुपर्छ । भूगोलको भूमिकाविहीनले तपाईं नेतालाई कार्यकर्ताबाट टाढा गर्दैछ । कतिपय बेलामा प्रकट हुने शैली र आचरण सुधारमा ध्यान दिनु जरूरी छ ।’
‘विद्यादेवी भण्डारीको विषय यान्त्रिक वा प्राविधिक होइन, सम्पूर्ण रूपले राजनीतिक विषय हो । यसकारण कार्यकर्ताले नेतृत्वको धार खोजेको होइन, राजनीतिक योजनाको सार खोजेको हो’ उनले भने ‘यसतर्फ नेतृत्वको ध्यान जान जरूरी छ । संविधानसभाको अध्यक्ष सुवासचन्द्र नेम्बाङसहितको व्यवस्थापनमा स्थापित नजिरहरू के छन् ?’
अहिले भण्डारीमाथि हिलो छ्याप्ने काम भइरहेको भन्दै उनले आपत्ति पनि जनाए ।
‘भन्दा सेनाको परमाधिपति भन्ने तर व्यवहारमा बाटोबाटै हिलो छ्याप्ने, तेजोबध गर्दै हिड्ने विषय युक्तिसंगत छैन’ उनले भने ‘यसमा नेतृत्वले अविलम्ब ध्यान दिनुपर्छ ।’
मंगलबारको बैठकमा बोलेका मोरङबाटै केन्द्रमा प्रतिनिधित्व गर्ने रामलाल साहले पहिले ओलीका बारेमा पनि अनेक आरोप लगाइएको स्मरण गर्नुपर्ने उल्लेख गरे ।
‘विरामी ओली पार्टीमा आए एमाले सकिन्छ भन्नेहरू अहिले विद्या पार्टीमा आए पार्र्टी सकिन्छ भनिरहेका छन्’ साहले भने ‘पार्र्टी नेतृत्वले मात्रै होइन, नीतिमा सुस्पष्टता भए विद्याले राम्रोसँग चलाउन सक्नुहुन्छ ।’
धनकुटाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य सिर्जना राईले विद्या भण्डारी हिजो पनि एमालेको नेता रहेको र आज पनि नेता नै रहेको भन्दै उनलाई छेक्न नहुने मत प्रकट गरेकी थिइन् ।
नेकपा एमालेको जारी नवौं बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ । मंगलबारको बैठकमा कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने १९ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।
केन्द्रीय सदस्यहरू किशोर अधिकारी, जीवन घिमिरे, राजेन्द्र राई, आशारत्न जवेगू, दीपक कार्र्की, रामलाल साह, युवराज बास्कोटाले मंगलबारको बैठकमा आफ्नो धारणा राखे ।
यस्तै, इन्द्र भण्डारी, नैनकला ओझा, यज्ञराज सुनुवार, तुलसी न्यौपाने, भगवती चौधरी, मञ्जु भण्डारी, राम राना, टंक आङ्वुहाङ र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले आफ्ना धारणा राखे ।
बैठकमा केन्द्रीय सदस्य युवराज बाँस्कोटाले भूगोलको जिम्मेवारी लिएका कतिपय केन्द्रीय सदस्य लामो समय काठमाडांैंमा बिताउने गरेको स्थानीय तहमा जनसम्पर्क कमजोर भएको बताए ।
पार्टीलाई पठाएका जनप्रतिनिधि निजामतीका हाकिम जस्तो चरित्र बोक्न थालेकोले आचरण सुधारमा पार्टीले ठोस नीति लिनुपर्ने बताए ।
एमालेलाई राष्ट्रिय शक्ति बनाउने उद्घोष गरे पनि एकले अर्कोलाई निषेधको संस्कार पार्टीमा मौलाउँदै गएकोले मिसन ०८४ मा समस्या लब्याउने तर्फ नेतृत्वले बेलैमा सचेत हुनुपर्ने बताए ।
अर्का केन्द्रीय सदस्य जीवन घिमिरेले राष्ट्रप्रमुख भइसकेको व्यक्ति राजनीतितिर फर्कनु गल्ती हुने बताए । ‘सम्माननीयले सम्मानित पोजिसन नै लिएर बस्नु उचित हुने सुझाव छ ।’ घिमिरेको धारणा थियो ।
केन्द्रीय सदस्य मञ्जु भण्डारीले हिजोका दिनमा अध्यक्ष र पूर्व राष्ट्रपति एक अर्काको सहयोगी भएरै राजनीति सफल पार्नु भएकोले आज पनि आपसी समझदारीमै विवादलाई टुङ्ग्याउनु पर्ने धारणा राखिन ।
View : 1506
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved