विराटनगर । विराटनगरस्थित सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले १३ औं स्थापना दिवसको अवसरमा चारजना पत्रकारहरूलाई सम्मान र पुरस्कार प्रदान गरेको छ । असार २७ गते स्थापना दिवसको अवसर पारेर सहकारीले सम्मान र पुरस्कार वितरण गर्दै आएको छ ।
५१ हजार रुपैयाँ राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान विराटनगरका अग्रज पत्रकार एवं उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीलाई प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सम्मान पत्र र नगद राशि पत्रकार भण्डारीलाई प्रदान गरेका छन् ।
नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा आयोजित स्थापना दिवस तथा पुरस्कार वितरण कार्यक्रममा ५० हजार रुपैयाँ राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार कान्तिपुर टेलिभिजनकी सम्वाददाता सुशीला पाठकलाई प्रदान गरिएको छ । उक्त पुरस्कारका दाता एवं समाजसेवी दिनबन्धु गोयल समेतको उपस्थितिमा मुख्यमन्त्री कार्कीले प्रदान गरेका हुन् ।
त्यसैगरी २१ हजार रुपैयाँ राशिको मेम्बर चन्द्रलाल– दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार मकालु टेलिभिजनका सम्वाददाता नवीनचन्द्र कर्णलाई प्रदान गरिएको छ ।
१० हजार रुपैयाँ राशिको मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कार झुना भट्टराई (जुनु) लाई प्रदान गरिएको हो ।
पुरस्कार दाता सहितको परामर्श एवं पुरस्कार छनौट समितिको सिफारिसको आधारमा पत्रकारहरू छनौट भएको सहकारीका अध्यक्ष दीपक दाहालले जानकारी दिए ।
कार्यक्रममा प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका प्रमुख हरिबहादुर खत्री, कोशी प्रदेशका मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार बिक्रम लुइँटेल, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाका प्रेस सल्लाहकार मीनकुमार नवोदित, अग्रज पत्रकार यज्ञ शर्मा, नेपाल पत्रकार महासंघ मोरङकी कार्यवाहक अध्यक्ष तारा आचार्य लगायत सञ्चार सहकारीका शेयर सदस्य र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
View : 452
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved