Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
अन्तर्राष्ट्रिय

भारतको झुटो दाबीले सीमा क्षेत्रमा तनाव

उद्‌घोष संवाददाता
१३ भदौ २०८२, शुक्रवार

विराटनगर । नेपालसँग साँध जोडिएको भारतीय राज्य बिहारमा तीन जना पाकिस्तानी आतंकवादी प्रवेश गरेको भन्दै भारतीय प्रहरीले बिहारभरी अलर्ट जारी गर्यो । 

भारतीय पक्षको यस्तो दाबीले सीमावर्ती नेपाली सुरक्षा निकायहरुलाई पनि चिन्तित तुल्यायो । तर, भारतले बिहार पसेको भनेर दाबी गरिएका तीन जना भने मलेसिया गएकोे पुष्टि भएको छ ।

कोशी प्रदेश प्रहरीका एक उच्च अधिकारीले त्यस्तो हल्ला आफूहरुले पनि सुनेको बताए । 

‘काठमाडौंबाट मधेश हुँदै बिहार पसेको भनेर भारतीय पक्षले दाबी सार्वजनिक गरेको सुनेका हौं’ ती अधिकारीले भने ‘त्यो भन्दा बढी जानकारी हामीलाई केही छैन ।’ 

तीन आतंककारीको नाम र तस्वीर सार्वजनिक गर्दै भारतको प्रहरी मुख्यालयले भागलपुरलगायत बिहारका सबै जिल्लामा  अलर्ट जारी गरेको थियो । 

बिहारमा घूसपैठ गरेको भनिएका आतंककारीमा पाकिस्तानको बहावलपुरका मोहम्मद उस्मान, उमरकोटका आदिल हुसेन र रावलपिंडीका हसनैन अली अवान रहेको भारतीय सञ्चारमाध्यमले जनाएका थिए ।  

तर, तीनै जना पाकिस्तानी नागरिक मलेसिया गएकोे पुष्टि भएको हो । दुबईबाट एकैसाथ काठमाडौं आएका उनीहरू काठमाडौंबाट छुट्टाछुट्टै मितिमा मलेसिया फर्किएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले पुष्टि गरे । 

‘हाम्रो अध्यागमनको रेकर्डमा उनीहरुको कुनै पनि कैफियत देखिएन । तर, विवरण  सार्वजनिक भएका व्यक्तिहरू नेपाल आएर फर्किइसकेको देखियो’ महानिर्देशक तिवारीले भने, ‘हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान दुबईबाट साउन २३ गते काठमाडौं आइपुगेका थिए ।’ 

तर उनीहरू फर्किंदा भने छुट्टाछुट्टै मितिमा मलेसिया गएको पाइएको छ । 

हसनैन अली बिहीबार मात्रै मलेसियन एयरलाइन्स ९ मालिन्दो एयरमार्फत मलेसिया गएका हुन् । 

आदिल हुसैन भदौ ८ गते र मोहम्मद उस्मान साउन ३० गते  मलेसिया गएको पुष्टि भएको छ । 

उनीहरू आतंकवादी संगठनका सदस्य रहेको भनी अध्यागमनको कालोसूचीमा थिएनन् । 

भारतले नेपाल हुँदै बिहार प्रवेश गरेको दाबी गरेर विवरण सार्वजनिक गरेपछि नेपालको अध्यागमनले चासो दिएर अध्ययन गरेको थियो । 

भारतले विवरण सार्वजनिक गरेकै दिन पाकिस्तानी नागरिकहरू नेपाल आएको र फर्किइसकेको फेला परेको हो । 

उनीहरु पाकिस्तानी आतंकवादी संगठन जैश ए–मोहम्मदसँग आवद्ध रहेको भारतको दाबी छ ।

View : 381

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved