Biratnagar, Morang, Nepal
२८ पुष २०८१, आइतवार
+977 21 450305, 515728, 578305
समाज

मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त

उद्‌घोष सम्वाददाता
१ असोज २०८१, मङ्गलवार

चितवन,  १ असोज । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । 

पृथ्वी राजमार्गमा पर्ने नागढुङ्गा–मुग्लिन सडक खण्डलाई दुई भागमा विभाजन गरी स्तरोन्नति थालिएको हो ।

उक्त सडक खण्ड ३९ किलोमिटर छ । नागढुङ्गा–मुग्लिन सडक योजनाको यो पश्चिम खण्ड हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी ई कृष्ण आचार्यका अनुसार नक्साङ्कन परिवर्तन, वर्षात र चाडपर्वका कारण काम लक्ष्यअनुसार हुन नसकेको हो ।

भारतीय परामर्शदाता कम्पनीले तयार गरेको विस्तृत अध्ययन प्रतिवेदनमा तथ्याङ्क गलत भएपछि सुधार गरेर पुनः तयार गर्दा थप छ महिना काम गर्न नपाएको आचार्यको भनाइ छ ।

उनका अनुसार हाल पाँचवटा पुलको जग र पिल्लर निर्माण भएको छ ।

नाली निर्माण, मोड सुधार, टेवा पर्खालको काम, कल्भर्ट विस्तार र सडक चौडा भइरहेको छ ।

यस सडकका आठ पुलमध्ये छ पुल निर्माणका लागि ठेक्का लागेको थियो । तीमध्ये पाँचवटाको काम भइरहेको उनले जानकारी दिए ।

हुग्दी खोलाको पुल क्षतिपूर्तिको प्रक्रिया नटुङ्गिएकाले काम सुरु हुनसकेको छैन । हुग्दीको पुल वर्षातपछि थालिने उनले बताए । 

सडक स्तरोन्नति विश्व बैंकको सहयोगमा थालिएको हो ।

शर्मा–जेडआई सिजी जेभीले चार अर्ब ८० करोडमा ठेक्का सम्झौता गरेको छ ।

यो योजनाअन्तर्गत पृथ्वी राजमार्गमा ‘डेडिकेटेड’ दुई लेनको सडक बनाइँदैछ ।

हाल यो सडकको चौडाई सात मिटर छ ।

अब सडक कम्तीमा नौ मिटर चौडाइको बन्ने आयोजना कार्यालयले जनाएको छ ।

बाक्लो बस्तीका चार ठाउँमा सडक चार लेनको बन्नेछ ।

विशालटार, मझिमटार, कुरिनटार र चुम्लिङटारमा गरेर सात दशमलव १५ किलोमिटर सडक चार लेनको बन्ने छन् ।

चार लेन सडक १४ मिटर फराकिलो हुने जनाइएको छ । 

राजधानी बाहिरिने र प्रवेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुद् काम गर्नुपरेको उनको भनाइ छ ।

वर्षातको समयमा काम गर्न कठिन भएकाले हिँउद लागेपछि कामले तीव्रता पाउने उनले बताए ।   रासस

View : 87

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved