Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
आर्थिक

नेरुडेका कर्मचारीले काम ठप्प पार्ने

उद्घोष सम्वाददाता
२ वैशाख २०८१, आइतवार

विराटनगर । नेरुडे, मिर्मिरे लघुवित्तका कर्मचारीले सम्झौताअनुसार सेवा सुविधा बृद्धि नगरे कामकाज ठप्प पार्ने चेतावनी दिएका छन् । नेरुडे र मिर्मिरे दुई वटा लघुवित्त गाभिएर एक भएपछि बिभेद गरिएको कर्मचारी संगठनले जनाएको छ ।

बैंक तथा वित्तीय क्षेत्र कर्मचारी संगठन नेरुडेले ध्यानाकर्षण गराउँदै बैशाख ३ गतेसम्म सम्झौता कार्यान्वयन नभए संस्थाको सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिने चेतावनी दिएको हो । नेरुडे मिर्मिरेको केन्द्रीय कार्यालय बनेपा काभ्रेका प्रमुख कार्यकारी अधिकृतलाई सम्बोधन गर्दै फागुन ३० मा पठाइएको पत्रमा संस्थाले गर्न लागेको औपचारिक कार्यक्रम पनि बहिस्कार गर्ने जनाइएको छ ।

दुई लघुवित्त मर्जर हुँदा कर्मचारीलाई चार ग्रेड र भत्ता बृद्धि गर्ने दुबै संस्था बीच सहमति भएको थियो । संगठनका अध्यक्ष रामप्रसाद ढुंगानाद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा मिर्मिरेतर्फका कर्मचारीलाई मात्रै सम्झौताअनुसार सेवा दिएको जनाइएको छ । 

नेरुडेतर्फका कर्मचारीलाई दुई ग्रेड मात्रै दिएर हुँदै नभएका पदमा नायव थप गरी कर्मचारीको भावनामा खेलबाड गरी उपेक्षा गरिएको पत्रमा जनाएको छ ।

गत फागुन ७ गतेको चार बुँदे सम्झौताअनुसार फागुन २० गतेसम्ममा ४ ग्रेडको बारेमा संयुक्त मर्जर समितिबाट निर्णय गराउने र नसकेमा चार ग्रेड वा सोको सट्टा अन्य विकल्प कार्यान्वयन गराउने सञ्चालक समितिको प्रतिवद्धता तत्कालीन नेरुडे लघुवित्तीय संस्थाको व्यवस्थापन पक्षले गरेको थियो ।

नेरुडे र मिमिरे मर्जर भई एकीकृत कारोवार हुँदा समान तलब भत्ता लागु हुँदा नेरुडे तलब भत्ता वृद्धि नहुने, कर्मचारीलाई ४ ग्रेड वा सोको सट्टामा अन्य विकल्प कार्यान्वयन गराउने जानकारी गराएको जनाइएको छ ।

View : 477

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved