विराटनगर । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट फुटेर अशोक राई नेतृत्वमा बनेको जनता समाजवादी पार्टी (जसपा) को मोरङ अध्यक्षमा मोहम्मद नसरुल चयन भएका छन् । बुधबार विराटनगरमा भएको जिल्ला भेलाबाट मो नसरुलको अध्यक्षतामा ३१ सदस्यीय तदर्थ कार्यसमिति चयन भएको हो ।
उपाध्यक्षमा सत्यप्रकाश लुनिया, सचिवमा विकासकुमार मण्डल, सहसचिवमा खड्ग राई र अर्जुनकुमार साह, कोषाध्यक्षमा जानकी सुवेदी र सह–कोषाध्यक्षमा सलमा खातुन चयन भएका हुन् ।
भेलापछि आयोजित जिल्ला समितिको घोषणा कार्यक्रममा अध्यक्ष नसरुलले उपेन्द्र यादव नेतृत्वको पार्टीबाट विद्रोह गरेर नेतृत्वमा आइपुगेको बताए । उनले जसपा नेपालमा यादववाद हाबी भएको आरोप लगाउँदै पार्टीलाई जातीय रुपमा संचालन गर्न खोजेपछि केन्द्रीय तहबाट विद्रोह भएको बताए ।
आफूलाई पनि विगतमा नगर अध्यक्ष बनाएको ‘माइन्युट’ गरेर यादवले आफ्नै छोरालाई अध्यक्ष घोषणा गरेको बताए ।
कार्यक्रममा अशोक राई नेतृत्वको जसपाकी राजनीतिक समिति सदस्य एवं कोशी प्रदेश सभा सदस्य निर्मला लिम्बूले उपेन्द्र यादवको खराब प्रवृत्ति सुधार नभएपछि नयाँ पार्टी निर्माण भएको बताइन् ।
आफू विगतमा कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्री हुँदा यादवकै पत्नी पार्वती यादवले समेत जथाभावी मान्छे नियुिक्त गर्न दवाव दिएको आरोप लगाइन् ।
‘पार्वती मेडमको दवाव समेत थेगेर बस्नु पर्थ्यो, म मन्त्री हुँदा सचिवालयमा किन आफूले पठाएका मान्छे नियुक्ति नगरेको भन्दै केटाहरुलाई घेरा लगाउनु भनेर भन्थिन्’ लिम्बुले भनिन्, ‘सरुवा र नियुक्तिमा पनि दवाव दिने गर्थिन्, लोकसेवा पास गरेर आएको डाक्टरलाई इनरुवा अस्पतालमा नियुक्ति गर्दा पनि मलाई थर्काइन् ।’
उपेन्द्र यादवको नाममा यादववाद हाबी भएपछि धेरै नेता कार्यकर्ताहरुले विद्रोह गरेर पार्टी निर्माण गरेको उनले बताइन् ।
जसपाकै संघीय परिषद् सदस्य दुर्गा सुवेदीले आफैंले आफैंलाई स्वास्थ्यमन्त्री बन्न सिफारिस गरेर सरकारमा गएको, अशोक राईलाई संसदीय दलको नेता हुनबाट रोक्न पार्टीलाई जातीय भावना फैलाएको, मधेसबाट मात्रै एक लाख ४० हजार सदस्य थपेर पार्टीको घोषित महाधिवेशन कब्जा गर्न खोजेपछि विद्रोह भएको बताए ।
View : 264
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved