Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
कोशी

बीमा प्राधिकरण कोशी प्रदेशद्वारा तीन पालिकासँग अन्तरक्रिया

उद्घोष सम्वाददाता
२७ चैत २०८०, मङ्गलवार

विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले ताप्लेजुङ, पाँचथर र तेह्रथुमका एक– एक स्थानीय तहहरूमा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकामा भएको कार्यक्रममा पालिका अध्यक्ष  केशरकुमार सुब्बाले बीमा जोखिम कभर गर्ने महत्वपूर्ण औजार रहेको भन्दै बीमाको महत्व बुझाउँदै धेरै स्थानीय तहले बीमा नीति बनाएर कार्यन्वयन गरिसकेको उदाहरण प्रस्तुत गरेका छन् ।

उनले आफ्नो पालिकाको अघिल्लो बैठकमा समेत विपन्न वर्ग तथा न्यून आय भएका परिवारको पालिका आफैले बीमा गरिदिने बारेमा व्यापक छलफल भइसकेको जानकारी दिए । 

पाँचथरको हिलिहाङ गाउँपालिकामा भएको कार्यक्रमका पालिका अध्यक्ष समर बहादुर अधिकारीले बीमा प्रतिको आफू लगायत सम्पूर्ण जनप्रतिनिधिहरूको बुझाई यस कार्यक्रम पछि केही भिन्नता ल्याउने भन्दै भौगोलिक अवस्थितिको कारणले आफ्नो पालिकाका अधिकांश जनता कृषिमा निर्भर रहेकोले कृषि सम्बन्धी स– सानो क्षेत्रलाई बीमामा समेट्न सकिएमा सामाजिक सुरक्षाका हिसाबले आफ्नो भार कम गर्दै जोखिममा रहेका समुदायलाई समेत आर्थिक सुरक्षा प्रदान गर्न सकिने कुरा व्यक्त गरे । 

पालिकाले कृषि बीमामा स्थानीयस्तरबाट समेत बजेट छुट्याइ अनुदान दिँदै आइरहेको साथै आगामी दिनमा समेत बीमा नीति बनाई आफ्नो क्षेत्रमा बीमाको विकास र विस्तारमा आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्राधिकरणका कोशी प्रदेश प्रमुख पोखरेलले पालिकालाई बीमा सम्बन्धी प्राविधिक सहायता गर्न आफूहरू सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्राधिकरण सहायक निर्देशक पुष्पा खनालले कार्यक्रम कार्यक्रममा प्रस्तुतिकरण गरेका थिए । 

तेह्रथुमको आठराई गाउँपालिकामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत निरज शर्माले बीमाको प्रकारका साथै यसको महत्व र पालिकाले बीमाको विकास र विस्तार पुर्‍याउन सक्ने योगदानको बारेमा जानकारी प्राप्त गर्न सफल रहेको बताए । उनले आगलागी लगायत कृषिबालीमा रहेका विभिन्न किसिमका जोखिम रहेको आफ्नो पालिकामा उक्त जोखिमविरुद्ध आर्थिक सुरक्षा प्रदान गर्न बीमा महत्वपूर्ण रहने जानकारी दिए ।

बीमा प्राधिकरण कोशी प्रदेश प्रमुख विनोदकुमार पोखरेलले कृषि बाली तथा पशुधनको बीमाङ्क रकम र बीमा दाबीको सिफारिस गर्नु अघि अधिकारिकता यकिन गर्न अनुरोध गरे । उनले प्राधिकरण, बीमक, स्थानीय सरकार लगायत सबैको समन्वयमा बीमा साक्षरता कार्यक्रम गरी सबैलाई बीमाको दायरामा ल्याउन सकिएमा बीमक, बिमित लगायत सबै पक्ष फाइदामा रहने बताए ।

नेपाल बीमा प्राधिकरण कोशी प्रदेशले सरोकारवाला निकाय लगायतसँग नियमित रुपमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको जनाइएको छ ।

View : 63

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved