Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

एमाले महानगर विवाद

निर्वाचित कमिटी अपदस्थ, टिका लगाएर छानिए पदाधिकारी

उद्घोष सम्वाददाता
१० असोज २०८१, बिहिवार

विराटनगर । अधिवेशनको वैधानिक बाटोबाट निर्वाचित कमिटीलाई अपदस्थ गरेको नेकपा एमाले मोरङले विराटनगर महानगर कमिटीमा मनोनित गरेर पदाधिकारी चुनेको छ । तत्कालीन अध्यक्ष सागर थापालाई खानेपानी चुनावको बहाना गर्दै कारबाही गरेको जिल्ला कमिटीले विवादास्पद पृष्ठभूमिका रोहित कोइरालालाई बुधबार महानगर अध्यक्षमा मनोनित गरेको छ । उनी थापा नेतृत्वको कमिटीका सचिव हुन् ।  

एमाले मोरङको अहिलेको कमिटी पनि अधिवेशनबाट छानिएको होइन । तत्कालीन अध्यक्ष ऋषिकेश पोखरेलले अध्यक्ष पद त्यागेपछि बाबुराम कार्की मनोनित भएरै जिल्ला संगठन कमिटीको अध्यक्ष बनेका हुन् । उनले पदको सपथसमेत नलिइ जेठ ३१ गते महानगर अध्यक्ष सागर थापासहितका तीन जनालाई कारवाहीको पत्र थमाएका थिए । त्यसपछि थापामाथिको कारवाही प्रदेशले पनि सदर गरेपछि महानगर अध्यक्षको पद रिक्त थियो ।

आफै मनोनित भएर जिम्मेवारी पाएका कार्की नेतृत्वको कमिटीले बुधबार महानगर अध्यक्षमा कोइरालालाई मनोनित गर्दा उपाध्यक्षमा सुनिता श्रेष्ठलाई, सचिवमा  बलराम गिरीलाई र उपसचिवमा गणेश साह र अमताज हुसेनलाई मनोनित गरेको छ । महानगर कमिटी १९९ सदस्यीय गठन भएको एमाले मोरङले जानकारी दिएको छ । एमाले महानगरको इञ्चार्जको जिम्मेवारी यसअघि नै पर्शुराम बस्नेतले पाइसकेका छन् । अध्यक्षमा मनोनित कोइराला बस्नेतका निकट सहयोगी भनेर चिनिएका व्यक्ति हुन् ।

एमाले नेताहरुले महानगर कमिटीलाई पूर्णता दिइएको र यो कमिटीले ६ महिनाभित्र अधिवेशन गर्नुपर्ने दायित्व तोकिएको जानकारी दिएका छन् । मोरङका इञ्चार्ज जीवन घिमिरेले दिएको जानकारी अनुसार महानगर कमिटी पनि ‘संगठन कमिटी’ कै रुपमा रहनेछ । ‘अबको ६ महिनाभित्र अधिवेशन आयोजना गर्ने कार्यादेशसहित महानगर कमिटीलाई पूर्णता दिइएको हो’, नेता घिमिरेले भने । 

मानगढ खानेपानी आयोजना निर्वाचनमा पार्टीको उम्मेद्वार हराउन गतिविधि गरेको अभियोगमा कारवाही गरेका तत्कालीन अध्यक्ष थापा महानगरको अधिवेशनबाट जिम्मेवारीमा पुगेका थिए । गएको स्थानीय निर्वाचनमा उनी मेयरको उम्मेद्वारसमेत बनेका थिए । उनको नेतृत्वको महानगर कमिटीले जेठ ३० मा बैठक आयोजना गरेर असोज १२ र १३ गते महानगरको अधिवेशन गर्ने निर्णय गरेको थियो ।

तर, महानगर कमिटीले अधिवेशनको मिति तोकेको दिन आइपुग्नै लाग्दा एमाले मोरङले टिका लगाएर पदाधिकारी तोकेको छ । यसप्रति एमाले महानगरका सदस्यहरुले आपत्ति जनाएका छन् ।

‘वैधानिक बाटोबाट छानिएको कमिटीका अध्यक्षलाई कारवाहीको नाटक गरेर आफ्ना निकटका ‘यसम्यान’ हरुलाई पदाधिकारी तोक्ने काम आपत्तिजनक छ’, एमाले मोरङ जिल्ला कमिटी सचिवालयका एक सदस्यले भने ‘इञ्चार्जदेखि अध्यक्षसम्मै मनोनित व्यक्तिहरुको विगत र वर्तमान हेर्दा पनि थाहा हुन्छ, यो कमिटी किन र कसरी बनाइयो भन्ने । आफैं टिका लगाएर जिम्मेवारीमा पुगेकाहरुले टिका लगाएरै पदाधिकारी छाने, यो अनौठो भएन ।’

यद्यपि यस्तो शैलीले पार्टीको आन्तरिक लोकतन्त्र कमजोर बनाउने भन्दै ती सदस्यले थपे ‘सर्वत्र अधिवेशनबाट कमिटी छानिदा मोरङमा टिका लगाएर छानियो, अहिले महानगरमा पनि त्यसै गरिएको छ । यस्तो कमिटीले संगठन बचाउन सक्दैन ।’ 

गएको  जेठ १८ गते एमाले मोरङको अध्यक्षमा मनोनित भएका कार्कीसहितका जिल्लाका नेताहरु पूर्वाग्रही बनेर लागिपरेको भन्दै महानगर कमिटीमा मनोनित एक सदस्यले भने ‘यसले पार्टीलाई झनै विग्रहतिर लैजाने निश्चित छ ।’  

कुनै बेला एमाले मोरङका पूर्वअध्यक्ष विनोद ढकालका निकटका भनिएका कार्कीलाई ढकालसँग सम्बन्ध टुटाउने शर्तमा अध्यक्ष मनोनित गरिएको एमाले स्रोतको भनाइ छ । सोही अनुसार ढकालसँग पछिल्लो समय राम्रो सम्बन्ध नभएका रोहित कोइरालालाई महानगरको जिम्मेवारी दिइएको एमालेजनको भनाइ छ ।

‘यतिखेर एमाले मोरङका धेरै निष्ठावान कार्यकर्ताहरू एमालेका उपल्लो तहका नेताहरूले गरेको गतिविधिबाट आजित छौं’, जिल्ला सचिवालयका ती सदस्यले भने ‘केही आपराधिक पृष्ठभूमि भएकाहरूको दानापानी खाएर इमान्दार कार्यकर्ताको कत्लेआम गर्न खोजिएको छ । अब यस्ता नेताहरूविरुद्ध भण्डाफोर अभियान चलाउन जरुरी भइसकेको छ ।’

View : 189

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved